गरुडा । टिपरको ठक्करबाट एक जना स्थानीय नेताको मृत्यु भएको विषयलाई लिएर रौतहटको इलाका प्रहरी कार्यालय फतुवा विजयपुरमाथि ढुङ्गामुढा प्रहार गरिएको छ ।
प्रहरीले दोषीलाई जोगाउन खोजेको भन्दै स्थानीयवासीहरुले विजयपुरमा रहेको कार्यालयमाथि ढुङामुढा प्रहार गरेका हुन् । आइतबार राती जिल्लाको फतुवा विजयपुर नगरपालिका–११ हिमालीवासमा टिपरको ठक्करबाट मोटरसाइकल चालक नेकपा एमालेका नेता खेदु चौधरीको मृत्यु भएको थियो । नेता चौधरीलाई ठक्कर दिने टिपर चालक एवम् सवारी धनीलाई कारवाही गर्नुको सट्टा इलाका प्रहरी कार्यालय विजयपुरका प्रहरी निरीक्षक विष्णु विश्वकर्माले दोषीलाई जोगाउन खोजेको आरोप लगाउँदै पीडित परवारजन तथा स्थानीयवासीहरु आक्रोशित हुंदै कार्यालयमाथि तोडफोड गर्नुका साथै ढुंगामुढा प्रहार गरेका छन् । ढुङ्गा प्रहारबाट २ जना प्रहरी घाइते भएका छन् भने प्रहरीले गरेको लाठी प्रहारबाट एकजना स्थानीय मुक्ति पटेल घाइते भएका छन् । स्थानीयहरुले प्रहरी कार्यालयमाथि ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले रोक्न खोज्दा प्रहरी र स्थानीयबीच केहीबेर झडप समेत भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड अश्रुग्यास प्रहार गरेको विजयपुरका प्रहरी निरीक्षक विष्णु विश्वकर्माले बताए । दोषीलाई पीडित परिवारको रोहवरमा सर्जमिन मुचुल्का गरी शव परीक्षणको लागि पठाउनु पर्नेमा सो नगरी प्रहरी निरीक्षक विश्वकर्माले मनपरी गरेको आरोप लगाइएको छ ।
प्रहरी निरीक्षक विश्वकर्माले सन्तपुर फतुवा विजयपुर सडकखण्डमा टिपरहरु तीव्रगतिमा कुदाउने गरेको र त्यसको कुनै निकायले पनि ध्यान नदिँदा यस्तो दुर्घटना हुने गरेको प्रदर्शनकारीहरुको गुनासो छ । रौतहटका प्रहरी उपरीक्षक बिनोद घिमिरेले नेता चौधरीलाई ठक्कर दिने टिपरको चालक पक्राउ परिसकेकाले कानूनबमोजिम कारवाही गरिने जनाए । प्रहरी र प्रदर्शनकारी बीच भएको झडपका कारण विजयपुर बजारको अवस्था तनावग्रस्त बनेको थियो । आइतबार राती साढे ८ बजेको समयमा बाराको कोल्हवीबाट रौतहटको जंगलसहिया तिर जांदै गुगल निर्माण सेवाको ना ८ ख ४२०२ नम्बरको टिपरले बा ३० प ८११५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरले कुल्चिएर मोटरसाइकल चालक चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटना लगत्तै फरार भएका टिपर चालकलाई प्रहरीले सोमवार पक्राउ गरेको छ ।


