२०७८ पुष ७, बुधबार ०७:०१

नेपाली कांग्रेस प्रदेश २ को सभापतिका लागि संस्थापन पक्षबाट रौतहटका कृष्ण यादव र डा.शेखर कोइराला समूहको समर्थनबाट धनुषाका रामसरोज यादवले उम्मेदवारी दर्ता गरेका छन् ।

प्रदेश २ का आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्र र ३२ संघीय निर्वाचन क्षेत्रका प्रतिनिधिहरु मतदाता रहेका छन् ।दुवै पक्षले पदाधिकारीहरुको नाम सहितको समूह सार्वजनिक गरेको छ । सभापति –१, उपसभापति–२, महामन्त्री–२ र एकजना महिला सहित सहमहामन्त्री–३ सहित ७२ जना पदका लागि निर्वाचन भइरहेको छ ।निर्वाचित सदस्यहरु मध्ये कोषाध्यक्ष मनोनयन गरिने वैधानिक प्रावधान छ । सभापतिका उम्मेदवार रामसरोज यादव पक्षबाट उपसभापतिमा धनलाल ठोकर (रौतहट), विनोद खनाल (सर्लाही – कोइराला पक्ष), महामन्त्रीमा नरेश यादव (सिरहा– कोइराला पक्ष), हरेस महतो (सर्लाही), सहमहामन्त्रीमा अरविन्द अमात्य (पर्सा), विनोद यादव (महोत्तरी – कोइराला पक्ष) र निर्मला सुवेदी ( बारा)रहेका छन् । त्यसैगरी संस्थापन पक्षबाट सभापतिका उम्मेदवार कृष्ण यादवको समूहबाट उपसभापति– बीरेन्द्र सिंह प्रदेश मन्त्री( सर्लाही), चन्द्रशेखर यादव (बारा),महामन्त्रीमा पेन्द्र यादव (सिरहा), वृहस्पतिकुमार श्रेष्ठ (पर्सा), सहमहामन्त्रीमा जयनारायण यादव (बारा), परशुराम चौधरी (सप्तरी) र महिला सहमहामन्त्रीमा रीता यादव ( सप्तरी) रहेका छन् । दुवै समूहले सदस्यहरुको नामलाई समूहमा समावेश गरेको छैन् ।सदस्यहरु समूहमा रहेपनि उनीहरुको नाम सभापतिको समूहमा आएको छैन् ।सदस्यहरुको मनोनयन जारी रहेकै बेला पदाधिकारीहरुको समूह सहितको नाम सार्वजनिक भइसकेको थियो । संस्थापन पक्षका धनुषा जिल्लाका मतदाताहरु प्रभावित हुन सक्ने जोखिमलाई न्यून गर्न गृहमन्त्री बालकृष्ण खाँडले निगरानी गरिरहेका छन् ।धनुषा जिल्लामा देउवा समूहको पकड बलियो छ ।तर रामसरोज यादवको गृह जिल्ला भएकाले सो समूहका मतदाताहरु स्थानीयताको नाममा प्रभावित हुन सक्ने संभावना व्यापक छ । देउवा समूहका धनुषाका नेताहरु कृष्ण यादवको पक्षमा अबेर राती सम्म प्रचारप्रसार गरिरहेका थिए ।उनीहरुले कम्तीमा साढे २ सयको मतको फरकले कृष्ण यादव जित्ने दावी गरेका छन् ।

‘बारा, पर्सा, रौतहट र सर्लाहीमा देउवा समूहले ८० प्रतिशत बढी मत पाउने छ’ संस्थापन पक्षबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति कुमरकान्त झाले भने, धनुषामा समेत ६० प्रतिशत मत देउवा समूहले पाउने छ । महोत्तरी, सिरहा र सप्तरीमा कडा प्रतिस्पर्धा रहेपनि आधी मत देउवा पक्षमा आउने झाको दाबी छ ।केन्द्रीय सभापति शेरबहादुर देउवाको समेत प्रतिष्ठाको विषय बनेकाले संस्थापन पक्षका मतदाताहरु इमान्दारीपूर्वक कृष्ण यादवको पक्षमा मतदान गर्ने दाबी गरे । तर रामसरोज यादवलाई सभापतिमा डा.शेखर कोइराला समूहले समर्थन गरेको कारण स्थिति अत्यन्त सुदृढ भएको दाबी गरिएको छ ।धनुषा क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधि रहेका राजकिशोर सिंहले पूर्वी सप्तरी, सिरहा जिल्लामा साठी प्रतिशत बढी मत प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवको पक्षमा पर्ने ठोकुवा गरे । ‘महोत्तरीमा साठी र धनुषामा ८० प्रतिशत मत मन्त्री यादवको पक्षमा पर्नेछ’ उनले भने, पश्चिमको बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा पनि आधी भन्दा बढी मत पर्ने निश्चित रहेको छ ।स्वच्छ छवि भएका मन्त्री यादव प्रति प्रतिनिधिहरुको व्यापक सहानुभूति देखिएको सिंहले बताए । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का महाधिवेशन प्रतिनिधि धीरेन्द्रमोहन झा पनि प्रदेश सभापतिमा रामसरोज यादवको समूह नै जित्ने दाबी गर्छन् ।महाधिवेशनमा सभापति देउवालाई मतदान गरेका धनुषाका कयौं मतदाता रामसरोज यादवको पक्षमा खुलेर लागेका छन् । प्रदेश चुनावमा १ हजार ९ सय २० जना भन्दा बढि मतदाता रहेका छन् । मनोनयन पत्र दर्तामा ढिलाई भएको कारण निर्वाचन समितिले सार्वजनिक गरेको चुनाव तालिका प्रभावित भएको छ ।उम्मेदवारको नामावली प्रकाशन, छानबिन दाबी विरोध, उम्मेदवारी फिर्ता लगायतका कार्यक्रमहरु अबेर राती सम्म हुन सकेन् ।

समितिले बुधवार बिहान ८ बजेदेखि मतदान हुने समय निर्धारण गरेपनि नामांकनमा ढिलाईले मतदान कार्यक्रम समेत प्रभावित हुने बताइएको छ ।मतदान बिहान ११ बजेपछि मात्र सुरु हुन सक्ने अनुमान गरिएको छ ।

Comment


Related News

Latest News

Trending News