अपडेट 
२०७८ पुष ७, बुधबार ०७:२०

आजभोलि किसानको फरक छटपटी रहेको देखिन्छ । हुन त यो छटपटी धानको बेलादेखिकै हो । किसानलाई समयमा मल पाइएन भन्ने गुनासो रहेको छ । मलको अभावकै बिचमा किसानले धानको उत्पादन गरेका छन् । किसानले उत्पादन गरेको धानमा सरकारको योगदान त रहेकै छ तर आवश्यक मात्रामा बजारमा मल नपाउँदा धानको उत्पादनमा केही समस्या आएको थियो । अझै पनि किसानहरुले भन्ने गरेका छन् यदि समयमा मल पाएको भए धानको उत्पादन अझ केही बढाउन सकिन्थ्यो । धानको उत्पादन राम्रो भएको छ देशमा । यसमा मौसमको पनि धेरै राम्रो भूमिका रहेको छ । मौसमले साथ दिएपछि धेरै मल र पानीमा किसानले खर्च गर्नु परेन । औषधिमा पनि किसानको धेरै लगानी हुन पाएन । उत्पादन राम्रो भयो, किसानले आम्दान गर्न पाएका छन् ।

अहिले सिजन सुरु भएको छ रबि बालीको । किसानहरु गहुँमा पानी पटाइरहेका छन् । खेतमा मसुरोले अब विस्तार धरतीलाई छोप्दै लगेको छ । तोरीले खेत पहेंलपुर भएको छ । अहिले खेतमा जाँदा किसानको मन हरियो हुन्छ । तर गहुँको खेतमा पानी पटाइरहेका अर्थात् गहुँबालीमा सिंचाइ गरिरहेका किसानले गहुँको उत्पादनलाई अझ राम्रो बनाउन आवश्यक मलखाद पाउन सकेका छैनन् । मलखाद नहुँदा किसान छटपटिरहेका छन् । बजारमा मलको अभाव छ । धेरै किसानले मल नपाएको गुनासो गरिरहेका छन् । मलको अभाव हुँदा किसानले गहुँबाली अपेक्षा गरेको जस्तो नहुने भन्ने चिन्ता व्यक्त गर्न थालेका छन् । हाम्रो मनोविज्ञान यस्तै रहेको छ कि जुन कुराको अभाव हुन्छ सोही कुरा बढी मूल्यवान लाग्न थाल्दछ । अहिले यही भएको छ । यद्यपि हरेक कुराको आफ्नो ठाउँमा मूल्य हुन्छ, महत्व हुन्छ । किसानले मलखाद सम्हालेर राख्न सकिने कुरो होइन नत्र अर्को वर्षको लागि पनि अहिलेदेखि नै व्यवस्था गर्नुपर्ने हुन्छ भन्ने किसिमको विचार गर्ने थिए । मलखाद त जहिले चाहिन्छ तहिले नै किन्ने हो । घरमा भन्डारण गरेर राख्ने हो भने यो बिग्रेर जान्छ । मलखाद खराब भएर जाँदा यसको कुनै काम नै हुँदैन । यस कारण जहिले खेतीको समय हुन्छ तहिले किसानले मलखाद किन्ने प्रयास गर्नु स्वाभाविक हो र अहिले खेतीको सिजन छ । किसानले आफ्नो श्रम, पसिना र आर्जन पनि खेतीमा लगानी गर्न थालेका छन् । कतिपय अवस्थामा हाम्रो खेतीपाती जीवन निर्वाहमुखी रहेको छ तर पनि अब किसानले कति लगानी गर्दा र कसरी लगानी गर्दा आफ्नो लगानी फर्केर आउँछ र त्यसले आम्दानी पनि दिन्छ भन्ने कुरोको गणना वा हिसाब गर्दछन् । यो राम्रो पनि हो । यसले गर्दा समयमा सिंचाइ गर्नु, समयमा मलखाद दिनु, समयमा गोडमेल गर्नु, समयमा आवश्यकता अनुसारको कीटनाशक औषधि दिनुलाई स्वाभाविक र सरल प्रक्रिया मान्नु पर्दछ ।

किसानले गर्ने स्वाभाविक गतिविधि मान्नु पर्दछ । खेतीको समयमा मलखादको समस्या हुनुलाई किसानको दृष्टिकोणले ठूलो समस्या हो । यस समस्याको बारेमा निरन्तर चर्चा हुने गरेको छ । यो समस्या आजदेखिको समस्या होइन । पहिले पनि यस किसिमको समस्या आउने गरेको थियो । समाधानको लागि पहल नभएको पनि होइन । खाद ल्याउने काम अन्यत्रबाट पनि भएको हो । तर हरेक वर्ष जब समस्या आउँछ तब त्यत्ति बेला खूब चर्चामा हुन्छ र समाधान भएपछि फेरि बिर्सने गर्दछौँ । समस्याको स्थायी समाधानको उपाय गर्नतिर हामीले खासै ध्यान दिन सकेका छैनौँ । कहिले आयातमा समस्या त कहिले मलखाद नपाएर समस्या त कहिले अन्य कारणले समस्या हुँदा अन्ततः समस्या पर्ने किसान नै हुन्छन् र फेरि पनि उत्पादन नै प्रभावित हुने समस्या देखा पर्दछ । रासायनिक मलको कारखाना सानोतिनो लगानीको उद्योग होइन । अर्को यसको पक्ष यो पनि हो कि रासायनिक मलको उद्योग स्थापना गरेर यदि मलखाद उत्पादन गर्ने हो भने यसका लागि आवश्यक पर्ने कच्चा पदार्थ हामीकहाँ छ कि छैन ? कच्चा पदार्थ सजिलै उपलब्ध हुने अवस्था रहेको छ कि छैन । यदि कच्चा पदार्थ पर्याप्त मात्रामा पाइन्छ र यसको उत्पादन सजिलो गरी हुन्छ भने पनि फेरि कत्तिको महँगो पर्ने हुन्छ । अहिले यदि युरिया एक हजार रुपैयामा पचास किलोको बोरा पाइरहेको छ र यदि उद्योग खोलेर उत्पादन गर्ने हो भने एक बोरा युरियाको उत्पादन लागत दुई तीन हजार रुपैया पर्न आउँछ भने झन् प्रत्युत्पादक हुन सक्ला । यदि देशमा उत्पादन हुन सक्दैन भने के सधैँ किसानको अगाडि मलखादको समस्या यत्तिकै रहनु उचित हुन्छ त ? समाधानको वैकल्पिक उपाय केही छ कि ? सजिलो र वैकल्पिक उपाय भनेकै किसानले आफ्नो क्षमताको उपयोग गर्नु हो । किसानले हाम्रो देशलाई धेरै कुरामा आत्मनिर्भर बनाउँदै लगेका छन् ।

उदाहरणको लागि दूध, कुखुराको मासु, कुखुराको अन्डा आदि । अन्य कुरामा पनि आत्मनिर्भरताको बाटोमा हुन सक्छौँ वा यहाँ भनिएका कुरामा समेत अहिले पनि पूर्ण आत्मनिर्भर हुन सकेका छैनौँ तर हामीले केही वर्ष पहिलेसम्म जुन बिजुलीको चरम अभाव बेहोरिरहेका थियौँ त्यो समस्याबाट अहिले धेरै हदसम्म मुक्त भएका छौँ । यदि यसै गरी नेपाली किसानले चाहने हो भने धेरै हदसम्म मलखादको समस्याबाट पनि हामी पार पाउन सक्नेछौँ । मलखादको समस्या किसानको हो र किसानहरुले नै आफ्नो समस्या समाधानका लागि उचित पहल गर्नु आवश्यक हुन्छ । भन्नुको तात्पर्य यो हो कि मलखादको आवश्यकता जसलाई छ, तिनीहरुले नै मलखाद उत्पादन गर्न सक्छन् । सबै स्रोत र क्षमता किसानहरुमै रहेको छ । यस स्रोत र क्षमताको उपयोग गर्नु आवश्यक छ । किसानहरुको ध्यान यतातिर जानु जरुरी छ र यसका लागि अन्य निकायले पनि सहजीकरण गरिदिनु पनि आवश्यक रहेको देखिन्छ । किसानलाई आफ्नो क्षमतासित परिचित गराइदिएर किसानको क्षमता किसानले नै उपयोग गरेर समस्याको समाधान गर्नेतिरको बाटो देखाइदिन आवश्यक छ । अब कुखुरा पालन, भैंसी पालन तथा माछा पालन व्यावसायिक रुपमा धेरै ठाउँमा सुरु भएको छ । गाउँघरमा अझै पनि परम्परागत तरिकाले गाई, भैँसी, गोरु, बाख्रा आदि पाल्नेहरु किसानहरु नै हुन् । पहिलेको जस्तो अब सबै गोबरको गोरहा, चिपरी, गोइठी बनाउने अवस्था पनि छैन । गाउँघरमा पनि एलपि ग्याँसको प्रयोग धेरै हुन थालेको छ । अहिले अब गोबरको गोइँठा बनाएर दाउरा बाल्नुभन्दा बिजुलीको उपयोग गरेर खाना पकाउनु राम्रो हो भन्ने कुरो आइरहेको छ । बिजुली हाम्रो देशमा पर्याप्त उत्पादन हुन थालेको छ ।

बिजुलीले खाना पकाउँदा अब गोइँठाभन्दा पनि सस्तो पर्ने व्यवस्था सरकारले गर्न सक्नु पर्दछ र यतातिर किसानहरुले पनि सोच्नु पर्दछ कि बिजुलीले खाना पकाउनु निकै स्वस्थ्यकर छ । गुइँठा बनाउन श्रम खर्च हुन्छ, समय खर्च हुन्छ । गुइँठा बनाउँदा गोबरको गन्धले हानि गर्छ, गुइँठा बाल्दा त्यसको धुँवाले पनि स्वास्थ्य र वातावरण दुवैमा असर पार्छ । यसको तुलनामा बिजुली चुल्होमा खाना पकाउँदा समयको बचत हुन्छ, स्वास्थ्यको दृष्टिकोणले पनि फाइदा हुन्छ । तर बिजुलीको उपयोग गर्दा किसानको हातबाट नगद जाने हुन्छ । यहाँनेर अलिकति यही कुरामा विचार पु¥याउनु आवश्यक हुन्छ कि रासायनिक मलखाद किन्दा जति धेरै रकम खर्च हुन्छ, त्यस रकम बराबर यदि बिजुली किन्न खर्च गर्ने हो र गोबरलाई मल बनाउन उपयोग गर्ने हो भने हिसाबकिताब बराबर हुन्छ कि हुँदैन । यदि किसानले राम्ररी विचार गरेर हिसाबकिताब बराबर जस्तै हुने अवस्था हुन्छ भने बिजुलीको उपयोग भान्छामा गर्नु तथा जुन जुन सामग्रीको उपयोग भान्छामा गरेर दाउरा बाल्ने गरिन्छ, ती सामग्रीलाई मलखादमा परिणत गर्ने हो भने बाली उत्पादनको लागि किसानलाई अहिले जति धेरै हाहाकार झेल्नु पर्दछ, सम्भवतः यति धेरै हाहाकार बेहोर्नु पर्दैन होला । हो, सबै किसानलाई आफैंले उत्पादन गरेको गोबर मल वा जैविक मलले पुग्ने अवस्था हुँदैन तर जंगलका छेउका किसानहरुदेखि लिएर व्यावसायिक कुखुरा पालन, भैंसी पालन गरेका किसान वा व्यावसायीकहाँबाट धेरै हदसम्म मलखादको आपूर्ति हुन सक्छ र यति हुँदा पनि कम हुन्छ भने बल्ल रासायनिक मलतिर ध्यान दिनुपर्ने हुन्छ । यस सम्बन्धमा यदि स्थानीय, प्रदेश तथा संघ सरकारले ध्यान दिने हो भने प्रांगारिक मलको उत्पादन तथा व्यवस्थापनमा नयाँ क्रान्ति आउने सम्भावना पनि रहन्छ ।

धानको पराल, गहुँको भुस तथा यस्तै बालीनालीबाट निस्कने खेर जाने पदार्थ आदिलाई पनि मलको रुपमा प्रयोग गर्न सकिने सम्भावनालाई अध्ययन गर्नु पर्दछ । यदि यतातिर ध्यान दिने हो भने यस प्रकारका धेरै विकल्पहरु भेटिन सक्छन् । हाम्रो संस्कृतिमा एउटा भनाइ छ कि जहाँ चाह त्यहाँ राह अर्थात् आवश्यकता नै आविष्यकारको जननी हो । अबको समयमा हामीले आफ्नै क्षमताको खोजी गर्नु परेको छ र त्यही क्षमताको उपयोग गरेर बालीको उत्पादनमा वृद्धि गर्नु परेको छ । गत धानको उत्पादनको समयमा अभाव झेलेका किसानले अबको धानको उत्पादन गर्ने बेलासम्म के कस्ता उपाय अपनाउँदा धानको उत्पादनमा वृद्धि हुन सक्छ भन्ने कुरातिर ध्यान दिएर हाम्रो खेत, बारी, बगैँचा, खोलाको किनार, झाडी, जंगल आदि धेरैतिरका खेर जाने धेरै वस्तु तथा वनस्पतिलाई प्रांगारिक मलको दृष्टिले हेरेर व्यवस्थापन गर्नतिर विचार पु¥याउनु राम्रो हुने देखिन्छ र यसको सम्भावना पनि धेरै राम्रो रहेको देखिन्छ ।

Comment


Related News

Latest News

Trending News