निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ताको तयारी गरेका छन् ।
थरूहट क्षेत्रलाई आधारभूमि बनाएर कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार कारागारमा रहेका चौधरीले पुस १८ गते दल दर्ता गर्ने तयारी गरेका हुन् । कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते भएको नरसंहारमा मुख्य आरोपी बनाइएका रेशमलाल चौधरीले मधेसवादी दल परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गर्न लागेको उनी निकटका स्रोतले जनाएको छ । चौधरीले २०१ जनाको केन्द्रीय सदस्य रहने गरी नागरिक प्रजातान्त्रिक समाजवादी पार्टी दर्ता गर्न लागेको बताइएको छ । नयाँ पार्टीको चुनाव चिन्ह ढकिया राख्ने निर्णय गरिएको स्रोतले बताएको छ । खोल्न लागिएको पार्टीको आधार भूमिका रुपमा थरूहट क्षेत्र रहने उल्लेख गरिएको छ । पार्टीमा सक्रिय राजनीतिको उमेर हद ६५ वर्ष कायम गर्ने प्रस्ताव गरिएको छ र २७ जनाको पदाधिकारी रहने उल्लेख छ । पार्टीमा एकजना अध्यक्ष, ७ जना उपाध्यक्ष, तीनजना वरिष्ठ नेता, एक महासचिव, ७ जना सचिव, एक कोषाध्यक्ष र सातजना सह–कोषाध्यक्ष रहने उल्लेख गरिएको छ । त्यस्तै पार्टीको विधानमा व्यवस्था गर्नेगरी केन्द्रीय सदस्य पदमा मुक्त कम्लरीबाट एक, हलिया, हरुवा–चरुवाबाट एक, वादी महिलाबाट एक, पिछडावर्गबाट ३ र सिमान्तकृत समुदायबाट ९ जना केन्द्रीय सदस्य अनिवार्य गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै नयाँ पार्टीको शासकीय स्वरुपमा संघीयता, धर्म निरपेक्षता, जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिने उल्लेख गरिएको छ । दलित जनजाति, थारु, मुस्लिम महिलाका लागि अनिवार्य आरक्षित सिटको व्यवस्था गरिने उल्लेख छ । तत्कालीन राजपाबाट कैलाली क्षेत्र नम्बर १ बाट सांसद पदमा विजयी भएका रेशमलाल चौधरीले ३४ हजार ३ सय ४१ मत प्राप्त गरी विजयी भएका थिए । कैलालीबाट राजपाले समानुपातिक तर्फ ५८ हजारभन्दा बढी मत प्राप्त गरेको थियो ।
https://www.youtube.com/watch?v=vHK8DGXiq10&t=3s

