२०७८ पुष ८, बिहीबार ०८:००

जनकपुरधाम । मदिरा बिक्री वितरणमा छाडापन बढ्दै गएको प्रति चिन्ता व्यक्त गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको सहयोग तथा उपभोक्ता हित संरक्षण मञ्च नेपालले बुधबार जनकपुरधाममा आयोजना गरेको मदिराका नकारात्मक असरहरु र नियमनको आवश्यकता विषयक छलफल तथा सचेतना कार्यक्रमका वक्ताहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । एक तथ्यांक अनुसार प्रत्येक दिन ४८ लाख नेपालीले मदिरा सेवन गर्ने गरेका छन् भने १९ वर्ष र ७९ वर्षको उमेर सम्मका नेपालीहरुले कुनै न कुनै समयमा मदिरा सेवन अनिवार्य रुपमै गरेको पाइएको छ । मदिरा सेवन कै कारण विश्वभरिमा प्रत्येक वर्ष ३० लाख मानिसको मृत्यु हुने गरेको छ । मधुमेह,ह््रदयरोग ,कलेजो तथा किड्नी लगायतको नसर्ने अधिकांश रोगको मुख्य कारक तत्व मदिराकै सेवन नै रहेको समेत बताइएको छ । त्यस्तै देशमा हुने विभिन्न अपराधिक घटनाको ५० प्रतिशत घटनामा मदिरा सेवन नै कारक देखिएको छ । पान पसलमा समेत मदिरा बिक्री वितरण भइरहेको र यो छाडापन प्रदेश २ मा मात्र नभइ देशभरिमै जारी रहेको उल्लेख गर्दै वक्ताहरु सरकारले कानून बनाउंदैमा परिवर्तन हुने होइन ,समाजले चाहेमा मात्रै परिवर्तन हुन सक्ने बताए । कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कानूनको पालना गराउने प्रहरी प्रशासन संवेदनशील हुनु पर्नेमा जोड दिए ।

उनले सरकारले कानून निर्माण गरेर मात्रै समस्याको समाधान नहुने बताउंदै कानून पालना गराउने प्रहरी प्रशासन निकम्मा बनेको कारण कानून हुंदाहुंदै कार्यान्वयनको अनुभूति सर्वसाधारण गर्न नसकेको टिप्पणी गरे । मञ्चका जनकपुर उपमहानगरपालिका अध्यक्ष बटुकनाथ झाको अध्यक्षता भएको कार्यक्रममा अधिवक्ता दिपक केसीले मदिरा बेच्नै नहुने भन्न नमिल्ने तर मदिराको कारण हुने अपराधिक क्रियाकलाप लगायतका असरहरु न्यूनीकरणको लागि यसको नियमन हुनु जरुरी रहेको बताए । विगतमा मदिरा सेवनकै कारण कतिपय व्यक्तिहरुले अकालमै ज्यान गुमाउनु परेको प्रसंग उल्लेख गर्दै उनले मदिरा मा देखिएको छाडापन नियन्त्रणको लागि प्रदेश र स्थानीय तहमै कानून बनाउनु आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा मञ्चका प्रदेश २ का अध्यक्ष केसी लामिछानेले मदिराकै कारण विभिन्न प्रकारको आपराधिक घट्ना समेत हुने गरेकोले मदिराको छाडापनमा नियन्त्रण गर्न नियमन हुनु पर्ने बताए । प्रदेश २ सरकारले कानून निर्माण गरी मदिराको बिक्री वितरणको विशेष प्रावधान ल्याउनु पर्ने माग उनले अघि सारे । कार्यक्रममा मञ्चकी सुभद्रा आलेले नेपालमा हुने महिला हिंसाको ७५ प्रतिशत भन्दा बढी घटनाको मुख्य कारण मदिरा सेवन नै रहेको बताइन् ।

उनले मदिरालाई पूर्णतः प्रतिबन्ध लगाउन नसकिने भन्दै भनिन,‘ यसलाई नियन्त्रण गर्नै पर्छ र सोको लागि राज्य तथा सामाजिक स्तरबाट व्यापक रुपमा जनचेतना फैलाउन सक्नु पर्छ । ’

Comment


Related News

Latest News

Trending News