जनकपुरधाम । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले कृषि क्षेत्रको विकासको लागि सरकारले अनुदान दिने विशेष योजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विहीबार जनकपुरधाममा आयोजित साना किसान सम्मेलनमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । नेपाल सरकारले कृषि तथा पशुपंक्षी विकास कार्यक्रमको लागि ल्याएको २० वर्षे योजनाले साना किसानहरुलाई सहयोग पुगेको बताउंदै उनले दीर्घकालमा किसानलाई अनुदानका लागि विशेष योजनाहरु ल्याउन गृहकार्य भइरहेको उनले जानकारी दिए । देशमा समृद्धिको यात्रालाई किसानै किसानले भरिएको देश नेपालमा कृषि क्षेत्रबाटै हुनु पर्ने आवश्यकता औंल्याउंदै मन्त्री यादवले भने,‘थोरै जग्गामा पनि नयां प्रविधिकासाथ खेती गर्न सके आत्मनिर्भर बन्न सकिन्छ, ,यहाँका एक एक किसान आत्मनिर्भर नबनेसम्म देश समृद्धिको मार्गमा जान सक्दैन। ’ सरकारले लागु गरेको अनुदानको रकम साना किसानहरुले अझै पनि सहज रुपमा पाउन नसकिरहेको बेथितीबारे चर्चा गर्दै उनले भने ,‘समस्याहरु छन् तर सरकारले कृषि क्षेत्रलाई गंभीरताका साथ लिएकोले अल्पकालीन र दीर्घकालीन योजनाहरुको लागि गृहकार्य भइरहेकोछ,छिट्टै नै थुप्रै योजनाहरु कार्यान्वयन हुनेछन्।’ विभिन्न दलको भातृ संगठनको रुपमा विभक्त रहेका किसानहरुले एउटा सिंगो महासंघ निर्माण गर्नु पर्ने अहिलेको आवश्यकता रहेको उनले बताए । किसानहरु एकजुट नहुंदा विभिन्न समस्या भोग्दै आए पनि आवाज उठाउने कोही नहुंदाको अवस्थाबारे भन्नु पर्ने कुनै आवश्यकता नरहेकोले किसानहरु एक जुट हुनु पर्नेमा उनले जोड दिए ।
सम्मेलनमा सिरहा जिल्लाको भगवानपुरमा रहेको दलित महिला कृषक समूहले थोरै जग्गामा कृषिमा उत्कृष्ट काम गरेकाले सम्मान गरिएको छ । समूहका अध्यक्ष लडुमति सदायलाई दोसल्ला ओढाई कदरपत्र प्रदान गरी सम्मान गरिएको हो । त्यस्तै ओखलढुंगाको सुनकोशी गापा,सिरहाको सखुवाननकारकट्टी गापा,तथा उदयपुरको एक पालिका सहितकालाई साना किसानहरुको लागि उल्लेखनीय काम गर्दै आएकोले कदर पत्र सहित सम्मान गरिएको छ । सम्मेलनमा ६३ जिल्लाका साना किसानहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।


