अपडेट 
२०७८ पुष ९, शुक्रबार ०८:२२

गरुडा । रौतहट प्रहरीले लागु औषध गाँजा सहित तीन जना महिलालाई पक्राउ गरेको छ ।

जिल्लाको गौर चन्द्रनिगाहपुर सडकखण्डबाट १० किलो प्रतिबन्धित लागु औषध गाँजा सहित चितवनका तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा चितवनको कालिका नगरपालिका–११ शक्तिखोरको ३० वर्षीया महिला अस्मिता प्रजा, सोही ठाउँका २६ वर्षीया रेश्मा प्रजा र ३४ वर्षीया मनमती चेपाङ रहेको प्रहरीले जनाएको छ । प्रहरीले यिनीहरुलाई केही दिन अघि नै पक्राउ गरिए पनि विहीबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी टोलीले गरुडा स्थित मेथुरचौधरी चोकमा विभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा चन्द्रनिगाहपुरबाट दक्षिण गौरतर्फ जाँदै गरेको ना १ ह ५७५५ नम्बरको टेम्पुलाई रोकी चेकजाँच गर्दा टेम्पुमा सवार तीनै जनाको साथबाट उक्त गाँजा बरामद भएपछि उनीहरुलाई पक्राउ गरेको हो । टेम्पुको सिटमुनि दुई वटा प्लाष्टिकको झोलामा डोरीले बांधी लुकाइ छिपाइ राखेको अवस्थामा उनीहरुको साथबाट १० किलोग्राम गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक डिएसपी श्रीराम भण्डारीले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई लागु औषध कसूर मुद्दामा जिल्ला अदालत गौरबाट १० दिनको म्याद अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको उनले जनाए ।

त्यसैगरी महोत्तरी प्रहरीले एक युवकलाई लागुऔषध नाइट्राभेट सहित पक्राउ गरेको छ । बुधबार राती बर्दिवास नगरपालिका रामानन्द चोक औरही सडक खण्डमा आउंदै गरेको प्रदेश २–०२०१६ नम्बरको अटो रिक्शामा चेकजाँचको क्रममा १ सय ५० वटा लागुऔषध ट् याब्लेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्लाको कमलामाइ नगरपालिका–७का २५ वर्षीय शम्भु कार्की रहेका छन् । कार्कीलाई लागु औषध नियन्त्रण ऐन अनुसार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको जिप्रका महोत्तरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Please subscribe our youtube channel and support us

https://www.youtube.com/watch?v=vHK8DGXiq10

Comment


Related News

Latest News

Trending News