२०७८ पुष ९, शुक्रबार १८:४९

वीरगन्जको मध्य भाग भएर बग्ने सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि फेरि वीरगन्जवासी सक्रिय भएका छन् ।

श्रीसिया नदी एवं वीरगञ्ज प्रदूषणमुक्त अभियानमा आबद्ध वीरगन्जवासीले आज घण्टाघरमा खुला अन्तरक्रिया कार्यक्रम मार्फत पुनः दबाबमूलक अभियान सुरु गरेका छन् । विगतमा विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएको अभियान कोरोना सङ्क्रमणको कारण रोकिएको थियो ।

अभियानमार्फत हस्ताक्षर सङ्कलन, सरोकारवालालाई सिर्सिया नदीको पानी हस्तान्तरण, ज्ञापन पत्र बुझाउने, प्रदूषण गर्ने उद्योगहरू विरुद्ध मुद्दा दर्ता गर्ने, चक्काजाम, अन्तरक्रिया लगायतका गतिविधि भएका थिए ।

नदी प्रदूषण कायम रहेकोले पुनः अभियानमार्फत दबाबमूलक कार्यक्रम गर्न लागिएको सिर्सियालाई प्रदूषणमुक्त बनाएरै छाडने प्रतिबद्धताका साथ आफूहरू लागि परेको अभियानका संयोजक अधिवक्ता सुरेन्द्र कुर्मीले बताउनुभयो ।

बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेका उद्योगबाट निस्कने छालाको टुक्रा, छाला धोएको केमिकलयुक्त पानी, छायी तथा महानगरपालिकाबाट निस्कने फोहोर मैला समेत सिर्सिया नदीमा मिसाउने गरिएको छ । अहिले औद्योगिक कच्चा पदार्थको कारण नदी प्रदूषित भई गन्हाउने र लेदो सहित कालो पानी बग्ने गरेको छ ।

एकातिर जलचर प्राणीको वासस्थान नष्ट भएको छ भने अर्कोतिर नदी आसपासका बासिन्दाहरूमा छालाको विभिन्न संक्रमण, मुटु तथा क्यान्सर रोगको जोखिममा छन् ।

वीरगन्जका आम नागरिकलाई स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्ने अधिकार सम्बोधन गराउन पुनः दबाबमूलक अभियान आवश्यक देखिएको अभियानका संयोजक अधिवक्ता सुरेन्द्र कुर्मीले बताउनुभयो ।

नदी र सहरलाई प्रदूषणमुक्त बनाउन निरन्तर दबाब र खबरदारी आवश्यक रहेको कुरामा कुर्मीले जोड दिनुभयो ।

अभियानअन्तर्गत आज वीरगन्जको घण्टाघरमा वृहत् खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ

Comment


Related News

Latest News

Trending News