जनकपुरधाम ।प्रदेश २ को नामकरण र राजधानी टुंग्याउन शुक्रवार प्रदेश सभामा छलफल टुंगिएको छ ।
प्रदेशको नाम र राजधानीको विषयमा छलफल टुंगिएकोले आइतवारसम्म संशोधनको प्रस्ताव पेश गर्न समय निर्धारण गरिएको छ । प्रदेश सभाको बैठकमा जनता समाजवादी पार्टी(जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का सभासदहरुले मधेश प्रदेश र जनकपुरधाम राजधानी राख्न तर्कहरु गरे ।‘प्रदेश सभा मधेश आन्दोलनकै उपलब्धि रहेकाले नाम मधेश प्रदेश राख्नु पर्छ’ लोसपाका सभासद प्रहलाद गिरिले भने, नाम र राजधानीमा बहुमत तिर नगइ सर्वसम्मत निर्णय गरौ । सत्तारुढ दल जसपा र प्रमुख प्रतिपक्षी लोसपा मधेश प्रदेश र जनकपुरधाम राजधानीमा सहमत छन् ।सत्तासीन दल नेकपा माओवादी केन्द्रले पनि जसपा–लोसपाको संयुक्त प्रस्ताव मधेश प्रदेश र जनकपुरधाम राजधानीमा सहमति जनाइसकेको छ । तर सरकारमा रहेको नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी(एस) मधेश प्रदेशको विरोधमा छन् ।कांग्रेसले मिथिला– भोजपुरा र एसले जानकी प्रदेश नाम राख्न प्रदेश सभामा प्रस्ताव दर्ता गरिसकेको छ । प्रदेशको नामलाई धार्मिक नामसित नजोड्न उल्लेख गर्दै गिरिले भने, मिथिला– भोजपुराले बज्जिकालाई नछुने भएकाले मधेशलाई नै रोजौ । बोलचाल समेत बन्द रहेको एस र एमालेका सभासदहरु भने प्रदेशको नाममा एकमत देखिएका छन् ।एसले गरेको जानकी प्रदेशको प्रस्तावलाई एमालेले पनि समर्थन जनाएको छ ।प्रदेश सभामा रहेको तत्कालीन नेकपाले जानकी प्रदेशको प्रस्ताव गरेको थियो ।
एमाले विभाजन अघि नै प्रमोद कुमार यादवले ‘जानकी प्रदेश’ र शारदा देवी थापाले ‘जनक प्रदेश’ नाम दर्ता गराएका थिए । प्रदेशसभा सदस्य शारदा देवी थापाले एमालेले पनि जानकी प्रदेशमै समर्थन जनाउने बताइन् । प्रदेश सभामा एसको १३ र एमालेको ८ जना सभासद रहेका छन् ।प्रदेश सरकारमा एस रहे पनि एमाले विपक्षमा रहेको छ । केन्द्रमा माओवादी केन्द्र, एस, जसपा र कांग्रेसबीच सहकार्य गर्ने सहमति भएको छ ।त्यही सहमतिको आधारमा सबै प्रदेशबाट एमालेको सरकार हटेको छ । ४ दलीय गठबन्धनको संघीय सरकार चलिरहेको छ ।प्रदेशको नामकरण र राजधानीमा ४ दलीय गठबन्धन सरकार एकजुट हुने संभावना न्यून छ । प्रदेशको नामकरण र राजधानी टुंग्याउन सरकार र प्रदेश सभा सफल हुन नसके ‘असफलताको भारी’लाई आगामी चुनावमा बिसाउन कठिन हुनेछ ।
‘मधेश प्रदेश नभए जनकपुरधाम राजधानी हुन्न’
जनकपुरधाम ।प्रदेश २ को नाम मधेश प्रदेश राख्न नेपाली कांग्रेस, एकीकृत समाजवादी र एमालेले सहयोग नगरे प्रदेशको राजधानी पनि जनकपुरधाम नहुने सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले चेतावनी दिएका छन् ।
प्रदेश सभामा बोल्दै राज्यमन्त्री यादवले भने, मिथिला–भोजपुराले बज्जिकालाई सम्बोधन गर्दैन् ।देशमा संघीयता ल्याउन सयौं मधेशीले दिएको बलिदानलाई स्मरण गर्न पनि मधेश प्रदेश नामकरण गर्नुपर्नेमा उनले जोड दिए । मधेशलाई समर्थन नगरे जनकपुरधाम राजधानी पनि पारित नहुने उनले जनाए ।‘मधेश प्रदेश नाम नभए जनकपुरधाम राजधानी पनि पारित हुँदैन्’ उनले भने, प्रदेश सभा मधेश आन्दोलनकै बलमा स्थापना भएको यथार्थलाई सबैले बुझ्नै पर्छ ।
https://www.youtube.com/watch?v=vHK8DGXiq10


