जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उपाध्यक्ष धर्मनाथ साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन तहस नहस हुन लागेको आरोप लगाए ।
जनकपुरधाममा शुक्रबार आयोजित पार्टीको प्रदेश २ कमिटीको सपथ ग्रहण समारोहमा उनले यस्तो आरोप लगाए । हाम्रै मिहिनेतको बलमा अध्यक्ष बनेका ओलीले कार्यकर्ताहरुको संवेदनासंग खेलबाड गरेको बताउंदै उनले भने,‘ओलीकै तानाशाही प्रवृतिको विद्रोह स्वरुप नै एकीकृत समाजवादीको गठन गरेका छौं’। मुलुक संघीय गणतन्त्रमा पुगिसकेको अवस्थामा ओलीले गर्न खोजेको तानाशाहीलाई अन्त्य गर्दै एकीकृतले नै देशभरिकै कम्युनिष्टको आन्दोलन हाँक्ने दाबी समेत उनले गरे । आगामी निर्वाचनमा कम्युनिष्टको सिद्धान्त विपरीत गएका ओलीलाई जनताले तह लगाउनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै उनले पार्टी सुदृढिकरण गर्न कार्यकर्ताहरुले अहोरात्र खट्नु पर्ने आवश्यकता औंल्याए । हामीले मिहिनेत गरेर निर्माण गरेको जनकपुरधाम उप–महानगरपालिका–४ स्थित आठ कठ्ठामा रहेको पार्टी कार्यालयमाथि ओलीले कब्जा गरेको प्रति आक्रोश पोख्दै उनले केही दिन भित्रै हामीले १० कठ्ठा जग्गामा पार्टी कार्यालयको स्थापना गर्ने दाबी गरे । कार्यक्रममा प्रदेश २ का उद्योग,पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले हाल मन्त्रालयमा कुनै पनि बजेट नरहेकोले कुनै योजना ल्याउन नसकिएको बताए ।
अर्थमन्त्रालय एवम् मुख्यमन्त्रीको कार्यालयसंग बजेट निकासाको लागि छलफल भइरहेको जानकारी दिँदै उनले भने,‘पूर्वमन्त्रीहरुले सम्पूर्ण बजेट समाप्त पारिसकेका छन,अहिले वन मन्त्रालय पंगु बनेकोछ।’ कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष रामचन्द्र राय यादव सहित १ सय ४९ जना पदाधिकारीहरुले सपथ ग्रहण गरेका थिए । कार्यक्रममा श्रीप्रसाद साह,शीतल झा लगायतका नेताहरुले आ– आप्mनो धारणा राखेका थिए ।


