नेपाली कांग्रेसको बाँकी रहेका १६ वटा जिल्ला अधिवेशन पुस २७ गते गर्ने तिथि घोषणा भएको छ ।
केन्द्रीय निर्वाचन समितिको बैठकले पुस २७ गते बाँकी रहेका सबै जिल्लामा एकै दिन अधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय निर्वाचन समितिले सोमबार जारी गरेको विज्ञप्तिमा १६ जिल्लामा २७ गते अधिवेशन गर्ने उल्लेख छ । कांग्रेसको महाधिवेशनअघि ६१ जिल्लामा अधिवेशन भएको थियो ।विभिन्न विवादका कारण १६ जिल्लामा निर्वाचन हुन सकेको थिएन् । महाधिवेशन अघि प्रदेश २ को अधिवेशन पनि हुन सकेको थिएन् ।प्रदेश २ को नेतृत्वका लागि भएको चुनावको परिणाम घोषणा भइसकेको छ । परिणाम घोषणा भए लगतै केन्द्रीय निर्वाचन समितिले बाँकी रहेका जिल्लाहरुको अधिवेशनको तिथि घोषणा गरेको छ । प्रदेश २ को ८ जिल्ला र वीरगञ्ज महानगरपालिकाको अधिवेशन हुन बाँकी छ । प्रदेश २ को निर्वाचन परिणामले देखाएको संकेत अनुसार सभापति शेरबहादुर देउवा पक्षकै वर्चस्व जिल्लामा पनि हुने देखिन्छ । प्रदेशमा दुई समूह भएर मात्र चुनावमा गए पनि जिल्लामा भने फरक समीकरण हुने देखिन्छ ।
धनुषामा समूहगत रुपमा हाल सम्म उम्मेदवार घोषणा नभए पनि सभापतिमा राजकिसोर सिंह, योगेन्द्र पजियार, सन्तोष यादव लगायतले दाबी गरिरहेका छन् । प्रदेश २ का ८ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा, बागमती प्रदेशको चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोकमा अधिवेशन हुन सकेको थिएन् । त्यसैगरी गण्डकी प्रदेशको नवलपरासी पूर्वको जिल्ला अधिवेशन हुन बाँकी छ । लुम्बिनी प्रदेशको बाँकेमा जिल्ला अधिवेशन २७ गते हुनेछ । यस्तै सुदूरपश्चिम प्रदेशका कैलाली र अछाममा पनि जिल्ला अधिवेशन हुन सकेको छैन् ।

