राजविराज । सप्तरी जिल्लाको छिन्नमस्ता गाउंपालिकामा एक महिलाको हत्या भएको छ ।
गाउंपालिका–१ बरही बिरपुरकी ५० वर्षिया भुटनी देवी यादवको हत्या भएको हो । हत्या भएको यादवको शव सोमबार बिहान घरदेखि करिब पांच सय मिटर टाढा रहेको आफ्नै खेत नजिकको खोल्सामा फेला परेको छ । शवको प्रकृति र घटनास्थलमा भेटिएका प्रमाणको आधारमा यादवको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । डिएसपी माधवप्रसाद काफ्लेले यादवको टाउकोमा बियरको बोतलले प्रहार गरी हत्या गरिएको देखिएको बताए । मृतकको टाउकोमा बियरको बोतल प्रहार गरी हत्या गरिएको र घटना स्थलमा २ वटा फुटेको र एउटा नफुटेको बियरको बोतल बरामद गरिएको उनले जानकारी दिए । उनको हत्या आइतबार सांझ ६ बजेदेखि १० बजेसम्मको बीचको समयमा भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । हत्यामा गाउंकै परिचित व्यक्तिको संलग्नता हुन सक्ने अनुमान समेत गरिएको छ । मृतकका श्रीमान् जवाहिर यादवका अनुसार आइतबार सांझ ५ बजेतिर भुटनी देवी हसिया र खरानी लिएर खेततर्फ लागेकी थिइन् । आफ्नो गहुं खेतमा किरा मार्न प्रयोग गरिने खरानी छर्ने र आउंदा केही सागसब्जी काटेर ल्याउने भन्दै निस्केकी श्रीमती राती अबेरसम्म घर नफर्केपछि आफूहरु राती १० बजेतिर टर्च बोकेर खेततर्फ खोज्न गएको तर कतै फेला नपरेको उनले बताए ।
तर बिहान पख फेरि खोज्न जांदा खेतभन्दा करिब ५ सय मिटर टाढा रहेको खोल्सामा उनको मृत शरीर फेला परेको उनले जनाए । खेत र शव बरामद भएको स्थानसम्म रगतका टाटा देखिएकाले अपराधीले खेतबाटै घम्सा–घम्सी र आक्रमण सुरु गरेको अनुमान गरिएको छ । घटनाको प्रकृति हेर्दा गलत नियतले नै हत्या गरिएको देखिएको छ, एक प्रहरी अधिकारीले भने, ‘तर बलात्कार भए नभएको कुरा पोष्टमार्टम रिपोर्टपछि मात्र पुष्टि हुन्छ ।’ मृतकको शव पोष्टमार्टमकालागि सोमबार नै गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइएको छ । डिएसपी काफ्लेले हत्यामा संलग्नको खोजी कार्य तीव्र बनाइएको बताए । यस क्रममा सोमबार नै घटनास्थलमा डग स्क्वाड (तालिम प्राप्त कुकुर) को प्रयोग समेत गरिएको छ । त्यसबाट पनि केही संकेत फेला परेको र चाडै अपराधी पक्राउ पर्ने प्रहरीको दाबी छ । गत मंसिर ३ गते सोही गाउंपालिकाका ८० वर्षीय मिश्रिलाल मण्डलको घाँटी रेटी हत्या भएको थियो । उक्त घटनामा संलग्न रहेका अपराधी पत्तो नलाग्दै भएको अर्को हत्या घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ ।
https://www.youtube.com/watch?v=vHK8DGXiq10&t=1s


