सर्लाहीको ईश्वरपुर नगरपालिका बयलवासमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति पछि आन्दोलनका कार्यक्रमहरु फिर्ता भएको छ ।
इलाका प्रहरी कार्यालय लालबन्दीमा बुधबार पीडित पक्ष, सरोकारवाला र सुरक्षा अधिकारीहरुबीच ६ घण्टा लामो चलेको छलफलबाट पीडित परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने सहित ६ बुँदै सहमति भएको छलफलमा सहभागी संघीय सांसद प्रमोद साहले बताए । घटनाको सम्वन्धमा स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न प्रदेश प्रहरीमा अनुरोध गर्ने, मृतक रामकुमार महतोमा आश्रित परिवारका सदस्यलाई रोजगार र शिक्षा तथा स्थानीय तह, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स लगायतका संस्थासंग समन्वय तथा अनुरोध गर्ने, प्रहरी र प्रशर्दनकारी बीच भएको झडपमा आम नागरिक तथा व्यक्तिहरुको सम्पत्तिमा पुग्न गएको क्षतिको विवरण सङ्कलन गरी क्षतिपूर्ति तथा झडपमा घाईते भएकाहरुको उपचारका लागि प्रचलित कानून बमोजिम केन्द्रमा सिफारिस गर्ने सहमति भएको हो । त्यसैगरी, घटनाको विषयलाई लिएर भएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिइ राजनैतिक दल, संघ संस्था, उद्योग व्यवसायी, नागरिक समाजले शान्ति सुरक्षा कायम राख्न पहल गर्ने र मृतकको शव बुझेर परम्परा अनुसार दाहसंस्कार गर्ने सहमति भएको छ । मृतक रामकुमारको शव गएको आइतबार रातीदेखि नै जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।
छलफलमा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य साह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसांई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक चन्दन झा, जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । यता बयलवास बजार क्षेत्रमा मंगलबार दिउँसो ३ बजेदेखि लगाइएको निषेधाज्ञा बुधबार पनि जारी नै रहेको छ । बुधबार साँझ ७ बजे सम्म लगाईएको निषेधाज्ञा पीडित पक्ष सहमतिमा आए पनि आक्रोशित भीड पुनः प्रदर्शनमा उत्रने सक्ने भन्दै बिहीबार बेलुकासम्मका लागि निषेधाज्ञा थप गर्ने तयारी रहेको प्रजिअ गौतमले जानकारी दिए । विरोध प्रदर्शन हुन सक्ने भन्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको थियो यद्यपि बुधबार दिनभरि वर्षा जारी रहेकोले कुनै प्रदर्शन भने भएको छैन ।
https://www.youtube.com/watch?v=vHK8DGXiq10&t=3s


