स्वर्गीय राजा बीरेन्द्र शाहको ७७ औ जयन्ती एवं श्रद्धाञ्जली मनाइएको छ ।
राष्ट्रिय सरोकार मञ्च नेपालले बुधबार वीरगञ्जमा एक समारोहको आयोजना गरी पूर्व राजा बीरेन्द्र साहको जयन्ती मनाएको हो । कार्यक्रममा.पूर्व राजा बीरेन्द्रको तस्वीरमा माल्यार्पण गरिएको थियो । समारोहमा सहभागीहरुले अहिलेको राजनीतिका कारण देशमा महंगी, हत्या, हिंसा बढेको र भ्रष्टाचार मौलाउंदै गएको जिकिर गरे । देशमा जडो गाड्दै गएको भ्रष्टाचार अन्त्य गर्न सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकजुट हुनु पर्ने आवश्यकता समेत वक्ताहरुले औंल्याए । वक्ताहरुले अहिलेको राजनीतिमा विदेशीको चलखेल बढी भएका कारण सम्पूर्ण जनताले यसको विरोध गर्न आग्रह गरे । बुवा महेन्द्र तथा आमा ईन्द्र राज्यलक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म वि.सं.२००२ साल पुस १४ गते भएको थियो । तत्कालीन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ ।
शाहवंशका दशौं राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते शुक्रबारका दिन नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो । तत्कालीन राजा वीरेन्द्रसहित तत्कालीन रानी ऐश्वर्य युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराज कुमारी श्रुति लगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय नै बनेको छ ।


