गौर । रौतहट जिल्लामा सडक दुर्घटनामा मृत्यु भएका ६ जनाको सामूहिक अन्तिम संस्कार गरिएको छ ।
बुधबार साँझ मुस्लिम परम्परा अनुसार उनीहरूको सामूहिक अन्तिम संस्कार गरिएको हो । गौर चन्द्रनिगाहपुर सडकखण्डको गरुडा नगरपालिका–१ जयनगरमा भारतीय नम्बर बिआर ०५ पिए ६९५३ नम्बरको जीप दुर्घटना हुँदा एउटै टोलका ६ जनाको मृत्यु भएको थियो । गाँउकै छिमेकी शलाउदिनको छोरा शेख इमरानको बिहेमा जन्ती हिँडेका मध्ये १६ वर्षीय शेख नौसाद, २२ वर्षीय शेख शैनुल्लाह, २५ वर्षीय शेख छोटु, १५ वर्षीय शेख अजिबुल्लाह, ५५ वर्षीय मुसाफिर अन्सारी र ४५ वर्षीय शेख अबुलेसको दुर्घटनामा परी मृत्यु भएको थियो । नगरकटियाबाट गम्हरीयाकोलागि जन्ती हिँडेको जिपमा ९ जना सवार रहेका थिए । गाडी अनियन्त्रित भएर सडक भन्दा तल खाल्डोमा खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जनाको उपचारको क्रममा मृत्यु भएको थियो । अन्य ३ जना अहिले पनि उपचाररत् छन् । तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भइ सडकभन्दा केही पर रहेको बिजुलीको पोलमा ठोक्किएर खाल्डोमा खसेको थियो । नमाज पढेपछि ६ जनाकै शवलाई मस्जिदबाट झण्डै २ सय मिटर पश्चिमतर्फ रहेको कब्रिस्तानमा लगिएको थियो ।
अन्तिम संस्कारमा सहभागी लिन ठूलो संख्यामा जिल्लाका मुस्लिम समुदायका अगुवा तथा जनप्रतिनिधिहरू पुगेका थिए । ६ जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका बारेमा प्रहरीले अनुसन्धान गर्नुपर्ने र दोषीलाई तत्काल कारवाही गरे मात्रै पीडित परिवारले न्याय पाउने स्थानीय शेख दाउदले बताए । दुर्घटनामा ३ जना घाइते भएका मध्ये शेख अलफाजको वीरगञ्जमा उपचार भइरहेको छ भने शेख अमानत र शेख करि मुल्लाहको गरुडामा उपचार जारी रहेको इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले बताए । फरार रहेका चालकको खोजी भइरहेको उनको कथन छ । गढीमाई नगरपालिका–३ गम्हरीयाका एउटै बस्तीका ६ जनाको दुर्घटनामा मृत्यु भएपछि सम्पूर्ण गाउं नै शोकमा डुबेको छ । बिहेमा जन्ती हिँडेकाहरू घर फिर्ता नआएपछि गाउं नै स्तब्ध बनेको छ ।
https://www.youtube.com/watch?v=vHK8DGXiq10


