अपडेट 
२०७८ पुष १६, शुक्रबार ०६:५३

ध्रुबकुमार झा |

नेपाल राष्ट्र बैंक जनकपुरधामले परिस्थितिजन्य बाहेक भारतीय मुद्रा साट्न करिब-करिब बन्द गरेको छ ।

भित्र परिस्थितिजन्य बाहेक भारतीय मुद्रा साट्ने बन्दको अवस्था देखिए पनि जनकपुरधाम आसपासका क्षेत्रमा भारतीय रुपिया पर्याप्त रहेको छ । दैनिक लाखौं भारतीय मुद्रा बिक्री गर्ने बैंकले आकस्मिक स्वास्थ्य उपचारको लागि जानेलाई विशेष परिस्थिति बाहेक भारतीय रुपियाँ दिन रोक नै लगाएको अवस्था छ । राष्ट्र बैंक जनकपुरधामका निर्देशक निरा ताल्चा भडेलले बैंकले न त दिन नै छाडेको छ न त केन्द्रीय कार्यालयबाट पर्याप्त भारतीय रुपिया नै पठाइएको छ । अर्थात बिशेष आकस्मिक स्वास्थोपचार बाहेक भारतीय रुपियाको वितरण बन्द सरह नै रहेको उनी बताउंछिन । कोभिड–१९को समयमा एकातिर सीमा बन्द गर्ने अर्कोतिर भारतीय रुपिया बिक्री गर्ने आफैमा विवादास्पद रहेको धारणा राख्दै उनले भनिन्,‘हामीले भारु दिन बन्दै गरेको पनि होइन तर पर्याप्त मात्रामा नहुंदा विक्री पनि गर्न सकेका छैनौं.’। विराटनगरमा रहेको राष्ट्रबैंक शाखाबाट केही दिन अघि नै काउण्टर समेत बन्द भइसकेको चर्चा गर्दै निर्देशक भडेलले जनकपुरधामबारे अहिले त्यस्तो कुनै आदेश नआएपनि पर्याप्त मात्रामा भारु नरहेकोले सहज रुपमा बिक्री वितरण गर्न नसकेको स्पष्ट गरिन । सो बैंकले एकदमै समस्या परेकाहरुलाई १५ हजार भारु सम्म उपलब्ध गराउने गरिएको तर सोको लागि मेडिकल कागजपत्र अनिवार्य रुपमा बुझाउनु पर्ने व्यवस्था रहेको छ । नेपाल भारत सीमासंग नजिक रहेकोले जनकपुरधाम स्थित बैंकमा भारु साट्न भनेर प्रत्येक दिन सयौं व्यक्ति पुग्ने गरेपनि रित्तै फर्किने गरेका छन् ।

विगत तीन वर्ष पूर्वसम्म जनकपुरधाम बैंक शाखा अन्तर्गत ६३ वटा सटही काउण्टरलाई अधिकृत रुपमै भारु विक्री वितरणको इजाजत दिइएको थियो । तर अहिले ६३ मध्ये १० वटा काउण्टर पनि सञ्चालनमा छैन । बैंकसंग किनेर १५ पैसा बढी लिएर पाइने भारतीय रुपिया अहिले बैंकले दिन छाडेपछि पाँच रुपिया बढी दरमा बिक्री वितरण भइरहेको छ । यद्यपि जनकपुरधाम सहित आसपासका क्षेत्रमा भारु रकमको भने कुनै अभाव नरहेको देखिएको छैन । नेपालको सीमा क्षेत्रमा भारुको खासै अभाव नहुनुको मुख्य कारण सुनको अनाधिकृत निकासी नै हो । नेपालमा भन्दा भारतमा सुन प्रति १० ग्राम करिब १ हजार रुपैयाँले महँगो छ । नेपालबाट १ किलो सुनको ढिक्का खरिद गरेर भारत पु¥याउने हो भने १ लाख रुपैयाँको हाराहारीमा फाइदा हुने देखिन्छ । यही फाइदाको मौका उठाउँदै जनकपुरधामबाट सुन र सुनका अर्ध तयारी गहना भारतीय बजारमा तस्करी गरेर पठाउँदै आएका छन् । स्रोतका अनुसार जनकपुरधाम मात्र नभइ महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा र पूर्वको विराटनगरको जोगबनी नाका लगायतको स्थानबाट प्रत्येक दिन सुन तस्करी हुने गरेको छ । संगठित तर अनाधिकृत रूपमा सुन भारत जाने गरिए पनि स्थानीय प्रशासन भने मौन देखिएको छ । यहाँ सञ्चालनमा रहेको सटही काउन्टरमा हिजो आज भारुको सटही दर ५ रुपैयाँ छ । अर्थात् १ सय भारु खरिद गर्न नेरु १ सय ६५ रुपैयाँ पर्छ । सटही काउण्टरमा भारुको मूल्य ५ रुपैयाँ भएको करिब चार वर्ष बितिसकेको छ । बैंकले सहज रुपमा उपलब्ध गराउंँदै आएकोबेला १४ पैसाकै दरले बिक्री हुने भारतीय रुपियाँ सयको पाँच रुपिया दर पुगेको छ । र प्रशस्त रुपमा भारु पैसाको किनबेच यस क्षेत्रमा जारी रहेको छ । सुनको अवैध कारोबार मौलाएसँगै सीमा क्षेत्रको बजारमा भारुको मूल्य घट्ने र कारोबार घटेपछि मूल्य बढ्ने गरेको छ ।

एकातिर भारततर्फ सुनको अनाधिकृत निकासी भइरहेको छ भने अर्कातिर यहाँका गहना व्यवसायीहरू आफूले भनेजति सुन नपाएको गुनासो गरिरहेका छन्। कोभिड–१९ को कारण भएको बन्दाबन्दीको बेलादेखि भारू अभावले सामान्य व्यक्तिहरु समेत प्रभावित थिए । भारतमा उपचार गराउन जानेको राष्ट्र बैंकमा लामो लाइन लागेको हुन्थ्यो तर अहिले अवस्था परिवर्तन भएको छ । बजारमा सुन पसल लगायतका संचालनमा रहेको काउण्टरबाट पाँच रुपियाँको दरले बिक्री वितरण हुँदा प्रशस्त भारु पाउने गरिएको छ तर दर रेट भने महंगो छ । स्रोतले जनाए अनुसार नेपालको सुन भारत लगेर बेच्ने र सोबाट आएको भारु बेचेर अधिक पैसा कमाउने कालो बजारिया व्यवसायीहरुको संख्या दिनानुदिन बृद्धि भएर गएको छ । ‘पहिले झोलामा आउँथ्यो भारू,’ जनकपुरधामका एक सटही काउण्टरका सञ्चालकले भने, ‘हिजो आज बोरामा आउन थालेको छ । आपूर्ति धेरै भएपछि बजारमा यसको भाउ पनि घटेको छ ।’ कुनै बेला सटही काउन्टरले सर्वसाधारण सित भारू सय खरिद गर्दा नेरू एक सय ६२ देखि ६४ सम्म दिने गर्थे । यसरी खरिद गरेको भारू सटही काउन्टरले एक सय ६३ देखि ६५ सम्म बिक्री गर्थे । तर हिजोआज भारू सय खरिद गर्दा विक्रेतालाई एक सय ६० रूपैयाँ ५० पैसा मात्र दिने गरेका छन् भने एक सय ६२ नेरूमा भारू एक सय बिक्री गरिरहेका छन् । अलि दलाली ग¥यो भने एक सय ६१ रूपैंयाँमै समेत उपलब्ध हुने गरेको छ । जनकपुरधामका एक सटही काउण्टर सञ्चालकले नाम नखुलाउने सर्तमा भने,‘ बैंकमा गएर भारुको लागि गुनासो पोख्दा बैंकबाट कि त आफैले बन्दोवस्त गरी बेच्नुस कि त निवेदन ल्याउनुस काउण्टर बन्द गर्नुस,हामीले त्यसमा सहयोग गर्छौ ।’ भन्ने गरेको गुनासो पोखे । काउण्टर सञ्चालकहरुले सर्वसाधारणहरुसंगै भारु किन्ने र बेच्ने गरेको देखिएका छन् । सेवा दिनु पर्छ भन्ने भावनाका साथ अनाधिकृत भएपनि हामीले काउण्टरलाई धानेका छौं नत्र भने भारतीय रुपियाको किनबेच एकदमै ठूलो समस्याको रुपमा रहेको छ ।

नेपाल सरकारले भारतीय रुपिया बिक्री वितरण बन्द गरेकोले अवैध कारोबारीहरु प्रोत्साहित भएको र यसको प्रत्यक्ष घाटा सरकारले नै व्यहोर्नु परेको धारणा लेखापरीक्षक अमरनाथ साहको छ । नेपालमा दिन प्रति दिन व्यापार घाटा बढिरहेको चर्चा गर्दै उनले भने,‘ भारतीय रुपिायको बिक्री वितरणलाई व्यवस्थित गर्न सक्नु पर्छ,र सरकारको ध्यानाकर्षण हुनै पर्छ ।’ केही दिन यता आएर समुद्रपारका मुलुकबाट आयात भएर अधिक मात्रामा केराउ र छोकडा भारत तस्करी भएर जान थालेपछि यस क्षेत्रको बजारमा भारतीय मुद्राको जारी रहेको अभाव हटेर गएको हो । अमेरिकी डलर तिरेर आयात गरिएका केराउ, छोकडा र मरिच लगायतका सामानहरु भारतीय मुद्रामा अवैध निकासी गरिएका कारण भारूको यस क्षेत्रमा अभाव हटेको हो । भारतले आफ्ना किसानलाई संरक्षण गर्न केराउको पैठारीमा रोक लगाएको छ । यसको फाइदा नेपालमा ‘यताको माल उता’ गर्ने व्यवसायीले उठाउँदै आएका छन् । नेपाल राष्ट्र बैंकसँग सञ्चित रहेको भारतीय रुपैयाँ कम हुँदै गएपछि सर्वसाधरणले अत्यावश्यक अवस्थामा समेत सटही सुविधा पाउन छाडेका छन् । राष्ट्र बैंकले सर्वसाधरणको सहज पहुँचका लागि वाणिज्य बैंकहरूलाई हरेक साता पाँच लाख भारु दिँदै आएकोमा अहिले त्यसको परिमाण एकदमै घटेर गएको छ भने राष्ट्र बैंकका कर्मचारीहरुले पनि यो राष्ट्रव्यापी समस्या हो भन्दै यसबारे खुलेर बोल्नै छाडेका छन् । नेपालले साढे दुई सय अर्ब भारतीय रुपैयाँको सञ्चय गरी यसैको आधारमा साढे तीन वर्ष धान्ने भएकोले बंैकबाट भारतीय रुपियाको बिक्री वितरणमा कमी आएको हुन सक्ने अनुमान अर्थ विज्ञहरुको रहेको छ । कार्डको प्रयोगमार्फत भारतमा भुक्तानी गर्न सकिने भए पनि तीर्थयात्री, विद्यार्थी, उपचार तथा अन्य विविध प्रयोजनले भारत जानेले सानो परिमाणमा भए पनि नगद सटही माग गर्ने गरेका छन् ।

कहिलेकाहीं कार्डले काम गरेन भने अलपत्र नपरियोस् भनेर भारत जानेले केही नगद बोकेर जाने गरेका छन् । यसका अतिरिक्त नेपालमा न्यून तलबको काम गर्ने भारतीय नागरिकले समेत भारतीय रुपैयाँ सटही माग गर्ने गरेका छन् । राष्ट्र बैंकले उपचारका लागि भारत जानेलाई बढीमा १५ हजार भारुसम्मको सटही सुविधा दिँदै आएको छ । तर तीर्थ यात्री अर्थात पर्यटकीय प्रयोजनले जानेहरुको लागि भारु दिन पूर्णतः बन्द गरिएको निर्देशक भडेल बताउंछिन । भारतले नेपाललाई ठूला दरका भारतीय रुपैयाँ चलाउन आग्रह गरे पनि नेपालले ठूला दरका भारतीय रुपैयाँ नेपालभित्र प्रयोगमा नल्याउने भएको र अत्यावश्यक मानिने पेट्रोलियम पदार्थ भारतबाटै आयात गर्ने भएकोले भारतीय रुपियाको पहिलो प्रयोग सोही काममा हुने गरेकोले सर्वसाधारणको लागि भारुको अभाव भएको हो ।

Comment


Related News

Latest News

Trending News