जनकपुरधाम ।वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र अधिकतम् लाभदायी बनाउने उद्देश्यले सुरक्षित आप्रवासन परियोजना (सामी) धनुषाले वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारजनसंग जनकपुरधाम उप–महानगरपालिका–२५ का महिलासंग सामूहिक छलफल गरेको छ ।
मित्र धनुषाको आयोजनामा शुक्रबार बभनगामामा भएको छलफलमा वैदेशिक रोजगारीमा गएका व्यक्ति कै परिवारका २५ जना महिलाको सहभागिता रहेको थियो । नेपाल र स्वीस सरकार बीच भएको द्विपक्षीय सम्झौता सामी हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित परियोजना अन्तर्गत वैदेशिक रोजगारीबारे सुसूचित गर्ने,न्यायमा पहुँच ,विदेश जानेहरुको लागि सीप÷दक्षता,वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श सम्बन्धी क्षेत्रमा काम गर्दै आएको छ । धनुषा जिल्लाको जउनपा, शहीद नपा,गणेशमान चारनाथ नपा तथा धनौजी गाउंपालिका गरी चारवटा पालिकामा परियोजनाको कार्यक्रम संचालनामा रहेको छ । छलफलमा रेमिट्यान्सबाट आउने पैसाको उचित व्यवस्थापन ,बचत,सहितका विषयमा जानकारी दिइएको वित्तीय साक्षरता सहजकर्ता शंकर सहनीले बताए । विदेशबाट आउने पैसा कसरी जोगाउने र फेरि फेरि श्रीमानलाई विदेश जानबाट रोक्न सकिने वातावरण कसरी निर्माण गर्नेबारे वृहत् रुपमा छलफल गरिएको छ । कार्यक्रममा ‘विपन्नताबाट सम्पन्नता’ तर्फ कसरी उन्मुख हुन सक्ने विषयमा समेत केन्द्रित भइ छलफल गरिएको छ भने आगामी ६ महिनासम्म विभिन्न १८ वटा विषयमा छलफल गरिने जनाइएको छ ।
चालु आर्थिक वर्ष २०७८ र ०७९ को साउनदेखि मंसिर सम्ममा सामीले चार वटै पालिकामा गरी विभिन्न सात वटा समूह मार्फत वैदेशिक रोजागारीमा रहेका परिवारका ३ सय ५१ जना महिलाहरुलाई निरन्तर रुपमा साक्षरता परामर्श दिँदै आएको छ भने १ सय १ जनालाई अन्तिम सर्वेक्षणमा रहेको र ३२ जना महिला आधार सर्वेक्षणमामा गरी चार सय भन्दा बढी महिलाहरुले विभिन्न समूहले वैदेशिक रेमिट् यान्सलाई सहकारी लगायतको उत्पादनमूलक काममा लगाउंँदै आएका छन् । सामीले रिटर्नी स्वयम् सेवकहरु मार्फत धनुषा जिल्लाभरिका ७ हजार ७ सय १२ जनालाई वैदेशिक रोजगारमा जानु अघि परामर्श सेवा उपलब्ध गराएको परियोजनाका धनुषा संयोजक अनिरुद्ध मुखियाले बताए । उनले दिएको जानकारी अनुसार न्यायमा पहुँच क्षेत्रको चालु आर्थिक वर्षमा मात्रै १ सय २२ वटा समस्याहरु संस्थामा दर्ता भएको र सो मध्ये ५२ वटा समस्या पूर्ण रुपमा समाधान गरिएको छ भने परियोजनाको पहलमा विदेशमा अलपत्र परेको १० वटा शव नेपाल झिकाउन सफलता मिलेको छ । त्यसै गरी संस्थाले वैदेशिक रोजगारीको क्रममा हुने समस्यामा पीडितहरुलाई सहयोग समेत गर्दै आएको छ ।


