२०७८ पुष १७, शनिबार ०६:४०

सिरहाको औहरी गाउँपालिकाबाट सुरु भएको किसान विद्रोह अचेल धनुषा,महोत्तरी,सर्लाहीहुंदै प्रदेश २को आठ वटै जिल्लामा फैलिई सकेको छ । विद्रोहको घनत्व अन्य जिल्लामा मध्यम देखिएपनि सिरहामा अलि बढी छ । दिन दिनको चक्काजाम, बन्द–हडताल तथा आन्दोलनकारी र सुरक्षाकर्मीबीचको मुठभेडले जनजीवनलाई नराम्ररी प्रवाहित गरेको छ । मुठभेडको स्वरुप हेर्दा मानवीय क्षति नहोला भन्न सकिन्न । आन्दोलनकारी र सुरक्षाकर्मी बीचको मुठभेडलाई उग्र बनाउन एकथरि तत्व सकृय छन् । आन्दोलनलाई नेतृत्व गर्ने दल वा समूहको उद्येश्य आन्दोलनलाई भडकाएर मानविय क्षति होस भन्नेसम्म हुन सक्छ । आन्दोलनमा मानविय क्षति गराएर सोझा नागरिकको छोरा छोरीलाई शहीद बनाउने अनि लाशमाथि राजनीति गर्ने वैश्विक परम्परा रहदै आएको छ । यस कलामा हाम्रा नेताहरु अझ अधिक खप्पीस छन् । हाम नाङो आँखाले देख्दै छौं – मधेस आन्दोलनका पहिलो शहिद रमेश ठाकुर र दोश्रो आन्दोलनका शहिद निक्कु यादवका परिवार विलौना गर्दै छन अनि उनिहरुको लाशमाथि आन्दोलन गरेर उपेन्द्र यादव,राजेन्द्र महतो र महन्थ ठाकुरहरु कहाँ पुगी सकेका छन् ।

मैले यसो भनि रहदा बिकृति,विसंगति वा विभेदको विरुद्ध आन्दोलन गर्नु हुन्न भन्ने होईन । आन्दोलनमा भौतिक किंवा मानविय क्षति हुदैन भने पनि होईन । आन्दोलनबाट प्राप्त हुने उपलब्धि शहिदहरुको आलो रगतबाटै साटिएको अनेकौ इतिहास हाम्रा सामु छन् । फेरी आन्दोलनको सिद्धान्त नै छ –आन्दोलनको स्वरुप शासकको वाणी वेहोरा र चरित्रबाट निर्धारित हुन्छ । शासक अलोकतान्त्रिक , दम्भी, हठी र शोसक भए आन्दोलनको स्वरुप उग्र बन्छ । यस्तो आन्दोलनमा भौतिक र मानविय क्षति अधिक हुन्छ । सिरहाका किसान आन्दोलनकारीहरुले राखेका मांगहरु वार्ताबाट समाधान भएको भए , बन्द हडताल नपनि हुन सक्थे । भौतिक क्षति हुने थिएन । पुस ६ गते औरहीका किसानहरुले गाउँपालिकाको गोदाममा राखिएको गहुँको विउसंगै पालिका कार्यालयमा रहेको कम्युटर र कागजपत्रपनि लूटेको आरोप पालिका प्रमुखको छ । प्रमुखको आरोप सत्य वा असत्य ? आधिकारिक अनुसंधान विना भन्न सक्ने अवस्था छैन । पालिकाको उजुरीको आधारमा केही जनामाथि मुद्दा चलान्छ । केहीलाई नियन्त्रणमा पनि लिईन्छ । किसानलाई नेतृत्व गरी रहेको जनमत पार्टीका नेताहरुले नियन्त्रणमा लिइएका किसानहरुलाई छाड्नु पर्ने मांग गर्छ तर स्थानीय प्रशासन यिनीहरुलाई छाड्न इंकार गर्छ । अनि किसानहरुको आक्रोश आन्दोलनमा परिणत हुन्छ । जो अहिले हाम्रो सामु छ । गहुँ छर्न ढिलो भई रहेको वेला पटक पटक गोदामसम्म पुग्दा पनि बिउ नपाएपछि ‘ गोदामबाट बिउ लूट्नु र भोको मानिस कसैको भान्छाबाट रोटी चोरेर खानु’ किन हो कुन्नी मलाई एक जस्तै लाग्छ । मलाई सोध्न मन लागेको छ – गहुँको बिउ कस्को लागी खरीद गरिएको थियो ? गहुँ छर्ने समय कुन हो ? कुन आयवर्गका कति जना किसानलाई बिउ बाड्ने योजना थियो ? पालिकासंग किसानहरुको कृषियोग्य जग्गासहितको तथ्यांक छ कि छैन ? यी र यस्ता प्रश्नहरुको जवाफ पालिकाका प्रमुखसंग छन कि छैनन ? यदि छन भन्ने पालिका प्रमुखलाई थाहा छ कि छैन – बेमौसमी वर्षाको कारण यस वर्ष गहुँ बाली लगाउन ढिला भई सकेको छ ।

सरकारले मल खाद दिन सकेको छैन । गहुँ बाउ गर्ने ( छर्ने ) उपयुक्त समय मंसिर दोश्रोदेखि पुस पहिलो सातासम्म उपयुक्त समय हुन्छ । अनि गहुँको बिउ बाड्न किन ढिलो गरियो ? आफ्ना आसेपासे र आफू निकट दलका नेता र कार्यकर्ताको सूचि बनाउन त विलम्ब भएन ? पालिकाले बिउ वितरणको लागी स्पष्ट कार्यनिती बनाएको भए , कार्यनिती अनुसार समयमै बिउ बाडन सकिन्थ्यिो । अनि गोदामबाट बिउ लूटिने घटना पनि हुने थिएन । किसान मुलुकका अन्नदाता हुन । अझैपनि मुलुकका आधा भन्दा अधिक नागरिकको मुख्य पेसा कृषि नै हो । मुलुकको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको हिस्सेदारी अन्य कुनै क्षेत्रभन्दा अधिक छ । सरकारका मन्त्री र पालिका प्रमुखहरुले चढने सुकिला मुकिला गाडी अनि आकर्षक तलव भत्तामा किसानहरुको मेहिनत पसिना मिसिएको हुन्छ । यिनै किसानका छोरा छोरीले पसिनासंग साटेको रेमिटेन्सबाट यी मन्त्री जन्त्रीको प्रतिपाल हुन्छ । र पनि किसानले धानको मौसममा मल आभाव भोग्नु पर्ने ? गहुँको मौसममा मल खादसंगै बिउको पनि आभाव झेल्ने ? बेमौसमी वर्षाको मार यिनै किसानले भोग्नु पर्ने ? अतिवृष्टि,अनावृष्टिको सिकार पनि यिनै किसानलाई हुनु पर्ने । सालवसाल गाडी फेर्ने हाम्रा मन्त्रीजीहरुसंग मेरो जिज्ञासा ल भन्नोस त – ‘ विगत एक दशकमा कति हेक्टर जग्गामा सिंचाइ गर्न मिल्ने नहर बनाउनु भयो ? कतिवटा मल कारखाना खोल्नु भयो ? किसानहरुको उत्पादनलाई सुरक्षित राख्न कतिवटा हरितगृह निर्माण गर्नु भयो ? किसान मल खादको लागी वेहाल हुने , सरकारी गोदामबाट गहुँको बिउ लुट्न विवस हुनु पर्ने अनि तीनै तहका जनप्रतिनिधी सधैं मौन धारण गरी बस्ने ? कृषिमन्त्री सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको बैठकमा रिबन काट्दै भत्ता थाप्दै हिड्ने ? अनि यस्ता बेथिती विरुद्ध आक्रोश सृजना नभए के हुन्छ ? सरकारसंग समयमा मल खाद , बिउ र सिचाईको सुविधा माग्नु किसानको नैसर्गिक अधिकार हो । र यिनीहरुको मांग विलम्ब नगरी पूरा गर्नु सरकारको दायित्व ।

तर दशकौं देखि किसान यी समस्याहरु जुझ्दै छन र यिनै किसानको भोट पाएर राजनीतिक दलका नेताहरु शासन गर्दै छन् । कल्पना गर्नोस् मुलुकका आधा भन्दा अधिक जनसंख्या भएको किसानको भोंटविनाको तपाईको पार्टी ? मुलुकका सबभन्दा पुराना भनिएका नेपाली कांग्रेस होसकि आफूलाई कम्युनिष्ट भन्न रुचाउने नेकपा एमाले र संघीय समाजवादी पार्टी वा यिनै किसानको बुई चढेर जनयुद्ध लडेका एकिकृत माओवादी अथवा अन्नको भण्डार भनिने तराई मधेसका मतदाताहरुको मतमा रजाई गर्ने जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी । तमाम पार्टीका किसान संगठन छन् । किसानले समयमा बिउ र मलखाद नपाउदा यी पार्टीका नेताहरु के हेरेर बसेका थिए ? पछिल्लो समय जनमत पार्टीले किसानको आक्रोशलाई स्वर दिने प्रयास गरेको छ । किसान आन्दोलन पछाडिको जनमत पार्टीका मुखियाको लक्षित उद्येश्य के हो ? भन्न सकिने अवस्था छैन । तर जनमतको यस आन्दोलनबाट केही राजनीतिक दल भने दवावमा परेका छन् । किसान आन्दोलनको नाममा हुने जुनसुकै अराजक गतिविधिको विरोध गर्नु पर्दछ तर नेपालको राजनीतिक इतिहासमा धेरै पछाडि सुरु भएको किसान आन्दोलनलाई पञ्चायती शैलीमा प्रतिकार गर्नु किम्मार्थ उचित होईन । जसपाका नेता कार्यकर्ताहरुले सप्तरीमा निकालेको प्रतिकार जुलुस यसको उदाहरण हो । स्मरण रहोस् , फूसको आगो भनिएपनि आन्दोलनको स्वरुप र जनभावना देख्दा यो गुंइठाको आगो जस्तै विस्तारै विस्तारित हुदैछ । अन्तमा सप्तरीका किसानले मुख्यमन्त्री लालबाबू राउतसंग गरेको अनुनय विनयबाट विषयको समापन गर्न चाहन्छु – कृषि विश्वविद्यालय बन्दै गर्छ अहिले एक बोडा मल दिनोस श्रीमान् …

Comment


Related News

Latest News

Trending News