जनकपुरधाम । इस्वी संवतको नयाँ वर्ष २०२२ विभिन्न कार्यक्रम गरी जनकपुरधाम सहित आसपासको क्षेत्रमा हर्षोल्लासपूर्वक मनाइएको छ ।
सोही क्रममा नयां वर्षको स्वागत गर्न जनकपुरधाममा आन्तारिक तथा बाह्य पर्यटकहरुको घुंइचो नै लागेको थियो । नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरुको घुइचो थियो । भगवानको दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस भन्ने आस्थाका साथ जनकपुरधाम आएका पर्यटकहरुका कारण जनकपुर क्षेत्रमा निकै चहलपहल देखिएको थियो । शनिबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर , राममन्दिर लगायतका धार्मिक मठमन्दिरहरुमा पर्यटकहरुको भिड लागेको थियो । भने नगर क्षेत्रभरि नै भारतीय गाडीहरुको चाप देखिएको थियो । नेपालका साथै छिमेकी मुलुक भारतका दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश , उत्तराखण्ड लगायतका राज्यबाट हजारौंको संख्यामा पर्यटक नयाँ वर्ष २०२२ मनाउन जनकपुरधाम आइपुगेका छन् । कोरोना संक्रमण र बन्दाबन्दीले गर्दा अन्य वर्ष जानकी मन्दिर क्षेत्र सुनसान देखिए पनि यस वर्ष भरिभराउ देखिएको छ ।
त्यस्तै यहाँका होटलहरु भरिभराउ छन् भने रेष्टुरेण्टहरुमा समेत भीड देखिएको छ । पर्यटकहरुको आगमनले यहाँका व्यापारीहरुमा उत्साह थपिएको छ । नयाँ वर्षको अवसरमा जनकपुरधाममा रहेको मनिपाल कलेजको चउर,विमानस्थलको चउर ,मत्स्य पालन केन्द्र लगायतको स्थानमा हजारौ व्यक्तिहरुले वनभोजको आयोजना गरेका थिए । यता बिहारमा मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको कारण मदिरा सेवनका लागि पनि बिहारका सयौं पर्यटकहरु जनकपुरधाम आइपुगेको चर्चा समेत सुनिएको छ ।


