२०७८ पुष १८, आईतवार ०६:२०

राजविराज । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले वडाध्यक्षमाथि अभद्र व्यवहार गरेको भन्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका सबै वडा कार्यालयहरुको कामकाज ठप्प भएको छ ।

अभद्र व्यवहार गर्नेमाथि कारवाहीको माग गर्दै तीन अघि पालिकाको १३ वटै वडा कार्यालय बन्द गरिएको हो । केही दिनअघि हनुमाननगर कंकालिनी–११ मा जनमत पार्टीको कार्यक्रम भइरहँदा कार्यकर्ताले मञ्चबाटै लाउडीस्पीकरमै अध्यक्ष मोही यादवलाई गाली बेइज्जती गर्दै व्यक्तिगत चरित्रमा आघात पुग्ने क्रियाकलाप गरेकोले वडाअध्यक्षहरु संगठित भइ जनमत विरुद्ध आन्दोलनमा उत्रेका हुन् । आफूहरूमाथि जनमतका कार्यकर्ताहरूले बिनाकारण गालीगलौज र अभद्र व्यवहार गर्न थालेको र प्रहरीले कारवाही नगरेकोले बाध्य भइ बुधबारदेखि वडा कार्यालयहरु बन्द गरेको वडाध्यक्षहरुले बताएका छन् । नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख लगायतलाई ज्ञापनपत्र बुझाउँदै कारवाहीको माग तथा काम गर्ने वातावरणका लागि सुरक्षा प्रदान गर्न आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि आफूहरु कार्यालय बन्द गरी आन्दोलनमा उत्रिन बाध्य भएको वडाध्यक्ष सन्तोषकुमार यादवले बताए । वडाध्यक्षहरूले वडा कार्यालयमा तालाबन्दी गर्दे साँचो नगरप्रमुखलाई बुझाएका छन् । भने दोषीमाथि कारवाही नभए नगरपालिका कार्यालयमा समेत तालाबन्दी गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

वडा कार्यालयहरु बन्द हुँदा जन्मदर्ता,मृत्यु दर्ता लगायतका वडाबाट हुने सिफारिश लगायतका कामकाजहरु पूर्ण रुपमा ठप्प भएको छ । कामकाज ठप्प हुँदा सेवाग्राहीहरु समस्यामा परेका छन् । यता सप्तरीका प्रमुख जिल्ला अधिकारी जनाद्र्धन गौतमले वडाध्यक्षहरूले कार्यालय बन्द गरेको बोधार्थ पत्र आफूलाई पनि बुझाएको र जनमत पार्टीका कार्यकर्ताहरू आन्दोलनको क्रममा रहेकाले छलफल गर्न नसकिएको बताए ।

Comment


Related News

Latest News

Trending News