अपडेट 
२०७८ पुष १९, सोमबार ०६:५९

एमबिबिएस पहिलो वर्षको कक्षा सुरू भएको दुई हप्ता बित्दा पनि विराटनगरस्थित नोबेल मेडिकल कलेजका ८० भन्दा बढी विद्यार्थी कक्षा प्रवेश गर्न पाएका छैनन् । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा चार लाखभन्दा बढी रकम विद्यार्थीबाट असुल्ने ध्येयमा रहेको नोबेलले आइतबार पनि ११ जना विद्यार्थीलाई मात्रै कक्षामा सहभागी गराएको छ ।

‘आइतवार पनि सधैँ कक्षा हुने ठाउँभन्दा अलग्गै लगेर ११ जनालाई पढाइएको छ,’ अतिरिक्त शुल्क बुझाउन अस्वीकार गरेका विद्यार्थीहरूले भने, ‘बुधबारदेखि कक्षा सुरू भएको हो। यो विवाद साम्य नभएसम्म कक्षा नचलाउन गरेको आग्रह कलेजले मानेन। हाम्रो पढाइ छुटिरहेको छ ।’ बुधबार गेटमै सुरक्षा गार्ड र अन्य व्यक्ति खटाएर विद्यार्थी रोकेको नोबेल प्रशासनले बिहीबार पनि रोकेको थियो । कलेजले रोकेपछि शुक्रबार विद्यार्थी गएनन्। आइतबार फेरि पढ्न गएका विद्यार्थीलाई प्रवेश नै नदिइएपछि विद्यार्थीहरूले कलेज परिसरमै प्रदर्शन गरेका थिए । ‘अरू ११ जना भित्र पढिरहँदा हामी ८० जना हाराहारी विद्यार्थीले आज प्रदर्शन गर्यौं,’ ती विद्यार्थीले भने, ‘कलेजले हामीलाई अन्याय गरिरहेको छ ।’ नोवेल डा. सुनिल शर्माको स्वामित्वमा रहेको स्वास्थ्य प्रतिष्ठान हो। नेपाली काँग्रेसका नेतासमेत रहेका नोवेलका सञ्चालक डा. शर्माले आफूहरूबाट अनावश्यक शुल्क असुल्न खोजेको विद्यार्थी र अभिभावकको भनाइ छ ।

यसअघि प्रशासनकै रोहबरमा भएको छलफलमा कलेज व्यवस्थापनले शुल्क नलिने भनेपछि विद्यार्थी र अभिभावक ढुक्क बनेका थिए। तर बुधबारदेखि सुरू भएको कक्षा प्रवेश गर्नु अघि शुल्क अनिवार्य बुझाउन कलेजले विद्यार्थीलाई ताकेता गरिरहेको छ । विद्यार्थीका अनुसार यसपटक नोवेलमा एमबिबिएस पहिलो वर्षमा १ सय विद्यार्थी भर्ना भएका छन्। तीमध्ये १० जना छात्रवृत्ति अन्तर्गतका, नौ जना भारतीय छन्। केही विद्यार्थीले अतिरिक्त शुल्क बुझाएका छन् । विद्यार्थी र अभिभावकहरू भने चिकित्सा शिक्षा आयोगले तोकेको बाहेकका कुनै पनि शुल्क नबुझाउने अडानमा छन् । नोबेलले एमबिबिएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसिप बापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार र होस्टल शुल्क १ लाख ४४ हजार लगायतका अन्य धेरै शुल्क बुझाउन विद्यार्थीलाई दबाव दिँदै आएको विद्यार्थीले बताएका छन्। चिकित्सा शिक्षा आयोगले तोकेभन्दा नोवेलले हरेक विद्यार्थीसँग ४ लाख ८२ हजार रुपैयाँ अतिरक्त शुल्क असुल्न खोजिरहेको छ । चिकित्सा शिक्षा आयोगले एमबिबिएसका लागि तोकेको जम्मा शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ हो। पाँच वर्षे कोर्सको प्रथम वर्ष बापतको १४ लाख ८५ हजार रुपैयाँ विद्यार्थीले काठमाडौं विश्वविद्यालयलाई बुझाइसकेका छन्। नोवेलले विश्वविद्यालयबाट लिइसकेको छ । यस्तै नोबेल मेडिकल कलेजमा भइरहेको विद्यार्थी सताउने कदमका बारे गृहमन्त्रालायले चासो लिएको छ ।

नोबेल मेडिकल कलेजसहितले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दै धेरै शुल्क लिएको विषयमा गृह मन्त्रालयले ठगी मुद्दामा कारबाही चलाउन प्रशासनलाई निर्देशन दिएको छ । गृहको निर्देशनपछि अतिरिक्त शुल्क लिएको प्रमाणसहित आए ठगी मुद्दाअन्तर्गत कारबाही गर्ने तयारी प्रशासनले गरेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अतिरिक्त शुल्क लिएको प्रमाणसहित सम्बन्धित व्यक्ति उपस्थित भए ठगी मुद्धाअन्तर्गत कारबाही गरिने बताए। गृह मन्त्रालयले अतिरिक्त शुल्क सन्दर्भमा पत्राचार गरेको जानकारी दिँदै उनले कानुनविपरीत शुल्क लिन नपाइने स्पष्ट पारे । गृहको निर्देशनपछि प्रशासनले मेडिकल कलेजलाई अतिरिक्त शुल्क नलिन निर्देशनसहितको पत्राचार गर्ने तयारी गरेको छ। नोबेलले अतिरिक्त शुल्क नबुझाएको भन्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको छ । मेडिकल कलेजहरूले अतिरिक्त शुल्क लिएको विषय बाहिर आएपछि गृह मन्त्रालयले मेडिकल कलेज भएका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै कानुनी कारबाही गर्न निर्देशन दिएको हो ।

Comment


Related News

Latest News

Trending News