कलैया । प्रदेश २ को पर्सा राष्ट्रिय निकुञ्जलाई आकर्षणमूखी बनाउने कार्यको थालनी गरिएको छ ।
पर्यटन प्रवद्र्धनको पर्याप्त सम्भावना भए पनि प्रचारप्रसार र राज्यबाट उपेक्षित एवम् ओझेलमा रहेको अवस्थालाई दृष्टिगत गरी निकुञ्जलाई आकर्षणमूखी बनाउने जमर्को गरिएको हो । ३४ वर्ष अघि स्थापना भएको पर्सा वन्य जन्तु आरक्षलाई सरकारले २०७४सालमा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरेको थियो । वि.स. १९८४ मा जंगली हात्तीको वासस्थान संरक्षण गर्ने हेतुले आरक्षको रुपमा यसको स्थापना गरिएको थियो । निकुञ्जका प्रमुख संक्षण अधिकृत मनोजकुमार साहकाअनुसार पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले निकुञ्जका संरचनाहरू व्यवस्थित गर्न लागिएको छ । यस क्रममा निकुञ्जले प्रवेशद्वारमै आगन्तुकहरूकालागि सूचना केन्द्र, प्रतिक्षालय, व्यवस्थित पार्किङ, शौचालय, पानीपोखरी, मचान, आन्तरिक सडक पूर्वाधार दुरुस्त राख्न कामलाई तीव्र बनाइएको छ । बजेटको अभावमा सोंचे जति काम गर्न नसकेको बाध्यता बताउँदे अधिकृत साहले गुनासो पोखे।‘पर्यटन मैत्री बाटा घाटा , पुल पुलेसालाई केन्द्रित आकर्षणमूखी काम अगाडि बढाइए पनि हामीसंग प्रशस्त बजेट छैन ।’ पटक–पटक प्रदेश २ को वन मन्त्रालयमा प्रस्तावना दिएका छौं,त्यहाँबाट पनि तत्कालका लागि डेढ करोड रकम दिइने भन्ने भनिए पनि अहिले सम्म कुनै सहयोग प्राप्त नभएकोले भौत्तिक संरचनाहरु निर्माण हुन नसकेको अधिकृत साहले बताए । निकुञ्जमा पर्यटकलाई आकृष्ट गर्न नसकेको स्वीकार गर्दै उनले भने,‘यो प्राकृतिक सम्पदा हो, कुनै पनि एउटा संस्थाको होइन अनि यसको गल्ती पनि संस्थाले मात्रै स्वीकार गरेर हुंदैन ,हामी सबै मिलेर यसको संरक्षण सम्बद्र्धन र प्रवद्र्धन गर्न सक्नु पर्छ ।’
उद्योग,पर्यटन तथा वन मन्त्रालयको योजना अन्तर्गत रातो पुस्तिकामा निकुञ्जको प्रवद्र्धृन गर्ने उल्लेख भए पनि परिवर्तित मन्त्रीले पूर्व मन्त्रीका निर्णय तथा योजनाहरुमा परिवर्तन गर्ने अग्रसर भएका कारण रातोपुस्तिकामा उल्लेख भइ पारित भएका योजनाहरु पनि अन्योलमा परेको मन्त्रालयको स्रोतले जनाए पनि छ मन्त्री शत्रुधन महतोले निकुञ्जको लागि पारित भएको बजेट निकासा भइसक्नु पर्ने हो तर सचिव,डिएफओहरुको सरुवाको कारण ढिलाइ भएको हुन सक्ने बताए । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्सा राष्ट्रिय निकुञ्ज चितवन जिल्लाको पूर्वी भाग, मकवानपुर जिल्लाको दक्षिणी भाग, पर्सा र बारा जिल्लाका उत्तरी भागहरूमा गरी ६ सय २७ वर्ग किलोमिटरमा फैलिएको छ । ७ सय ५० मिटर देखि ९ सय ५० मिटर सम्मको चुरे पहाडले क्षेत्र ओगटेको निकुञ्ज क्षेत्रको हावापानी उष्ण प्रदेशीय रहेको छ । चुरे पहाडको माथिल्लो भागमा सल्ला र होंचो भागमा खयर, सिसौ, तथा सालका घना जंगल छन् । चुरे पहाडको दक्षिणपट्टिको भेकमा घाँसे मैदान छ । हात्ती, बाघ, चितुवा, भालु, गौर, नीलगाई, चित्तल, मृग, लंगुर बाँदर, हुँडार, वन बिरालो सहितका जंगली जनावरहरू पाइन्छन्। यसका साथै करीब ३ सय प्रजातिका चराहरू समेत वसोवास गरेको पाइन्छ । ती मध्ये मयुर, धनेश, मैना आदि चराहरुले जो सुकैलाई पनि आकर्षण गर्ने गरेको निकुञ्जका कर्मचारीहरु बताउंछन् । यति मात्र होइन गहुंमन , करैत, अजिंगर लगायतका घस्रने जनावरहरू पनि प्रशस्तै देखिने गरेकोले विश्वकै वन्यजन्तुमा अध्ययन गर्ने विद्यार्थीहरुको लागि महत्वपूर्ण थलोको रुपमा विकास गर्न सकिने सम्भावना समेत रहेको अधिकृत साहको धारणा छ । निकुञ्ज भित्रको रमौली प्रतापपुर , रामभोरी भाठा लगायत क्षेत्रमा बाघ , एक सिंङ्गे गैंडा , गौरी गाई लगायत वन्य जन्तु अवलोकन गर्न सकिने भएकोले पर्यटकहरुको आकर्षणको केन्द्र नै बन्ने सम्भावना भएपनि यथोचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको अधिकृत साह स्वीकार गर्छन ।
विगत ३४वर्ष देखि प्रजाती संरक्षण वाहेक पर्यटन प्रवद्र्धन प्रायः शून्य रहेको भए पनि गत आर्थिक वर्षदेखि आक्कल झुक्कल पर्यटकहरु भने आउने गरेकोले सुखद प्रारम्भ भने भइसकेको साह बताउंछन् । अंग्रेजी क्यालेण्डर अनुसार नयाँ वर्षमा शनिबार मात्रै सयौं भारतीय पर्यटकहरु निकुञ्जमा आउनुले निकुञ्जको भविष्य उज्जवल रहेको सम्भावना बढेर गएको छ, भने निकुञ्जका कर्मचारीहरु समेत उत्साहित भएका छन् । विश्व मै दुर्लभ पाटे बाघ , एक सिंङ्गे गैंडा , गौरी गाई , घोड गधाहरुले विश्वभरिकै पर्यटकहरुको आँखा तान्न सक्ने क्षमता रहको निकुञ्जलाई आकर्षणमूखी बनाउने काम सुरु भएपछि सो क्षेत्रका वासिन्दाहरु उत्साहित भएका छन् । निकुञ्जभित्र जंगल सफारी, हात्ती सफारीको व्यवस्था रहेको छ । तथा जलबिहार लगायतका पर्यटकीय आकर्षक भौत्तिक संरचना निर्माण गर्ने प्रशस्त सम्भावनाहरुले यो निकुञज भरिभराउ रहेको छ । निकुञ्जको स्थानीय तह र प्रदेश सरकारको कुनै सहयोग र लगानी भएको छैन । हामीले पटक पटक सहयोगको लागि भौतिक संरचना निर्माण लगायतका निकुञ्जमा पर्यटन पूर्वाधारको अभाव रहेकोले सोको पूर्ति गर्न पहल गरिए पनि कतैबाट त्यस्तो सहयोग नपाउँदा सोंचे अनुसारको पर्यटक भित्रियाउन नसकेको गुनासो साहले गरे ।


