२०७८ पुष २०, मंगलवार ०६:२१

गौर । गौर नगरपालिकाले नगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक ठाउंमा सर्व साधारणलाई चिसो छल्न आगो बाल्न दाउरा वितरण गरेको छ । सडक मानवहरुलाई लक्षित गरी मुख्य सडक ,चोक तथा विभिन्न सरकारी कार्यालय लगायतका सार्वजनिक स्थलहरुमा आगो ताप्ने व्यवस्थाको लागि दाउरा वितरण गरिएको नगर प्रमुख अजय कुमार गुप्ताले बताए । उनले भने,‘हुनेखानेलाई चिसो छल्न अनेक सुविधा भएपनि सडक मानवहरुलाई भने विजोग हुने भएकोले दाउरा व्यवस्थापन गरेका छौं र यसलाई निरन्तरता दिइनेछ।’ जिल्ला प्रशासन कार्यालय,मालपोत कार्यालय सहितका सरकारी कार्यालय लगायतको दर्जनौ स्थानमा दाउरा व्यवस्थापन गरिएको र आवश्यकता अनुसार वितरणको कार्य जारी नै रहने प्रमुख गुप्ताले बताए । आगो बाल्ने व्यवस्थापन भएपछि सेवाग्राही तथा सडक मानवहरुको लागि चिसो छल्न सजिलो भएको छ । ज्येष्ठ नागरिकलाई कम्बल वितरण वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले वडा नम्बर १२ मा ज्येष्ठ नागरिकहरुलाई चिसो छल्न कम्बल वितरण गरेको छ । लगातार बढ्दै गएको चिसोबाट ज्येष्ठ नागरिकहरुलाई बचाउनकालागि कम्बल वितरण गर्ने अभियान अन्तर्गत सोमबार दोश्रो दिन वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२का ज्येष्ठ नागरिकहरुलाई कम्बल प्रदान गरिएको छ । महानगरको जनकल्याणकारी योजना अन्तर्गत ३२ वटै वडाका ज्येष्ठ नागरिकहरुलाई प्रति व्यक्ति एक थान कम्बल, एकथान झुल, एकथान छाता र एकथान टर्च वितरण गरिने वीरगञ्जका नगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिए । महानगरका करिब ६ हजार ज्येष्ठ नागरिक, असहाय, गरिब विपन्नहरुलाई कम्बल लगायतका सामग्री वितरण गरिने र सो निरन्तर जारी रहने उनले बताए ।

चिसोले गर्दा पठनपाठन बन्द

वीरगञ्ज । शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउंपालिकाले शैक्षिक संस्था बन्द गर्ने भएको छ । गाउंपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ । चिसोको कारण बालबालिकाहरुमा रुघाखोकी लगायतका स्वास्थ्य समस्या हुन सक्ने सम्भावना रहेकोले विद्यालयमा विदा दिइएको जनाइएको छ ।

न्यानो कपडा वितरण

महोत्तरी । महोत्तरीका अतिविपन्न मुसहर परिवारलाई सैनिक श्रीमती सङ्घले न्यानो कपडा सहित राहत वितरण गरेको छ । बर्दिवासस्थित ९ नम्बर बाहिनीपति सहायक रथी शिशिरचन्द्र केसीले सो सामग्री वितरण गरेका हुन् । मटिहानी नगरपालिका–४का साठी मुसहर परिवारलाई ओढ्ने कम्बल र खाद्यान्न सहितको राहत वितरण गरिएको हो । प्रकौलीस्थित रणभीम गणले जिल्लाकै सुदूरदक्षिण पश्चिमवर्ति सम्सी गाउँपालिका–५ पोखरभिण्डाको मुसहर बस्तीकी ललिता सादालाई घरमै राहत वितरण गरेको छ । गणपति प्रमुख सेनानी शिवहरि केसीले उनलाई राहत सामग्री वितरण गरेका थिए । विसं २०६८ को राष्ट्रिय जनगणनाका अनुसार जिल्लामा २३ हजार ३ सय ६४ मुसहर रहेका छन् ।

Comment


Related News

Latest News

Trending News