२०७८ पुष २०, मंगलवार ०६:२५

वीरगञ्ज । ‘कोभिड– १९ विरुद्धको खोप, हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौँ’ भन्ने नाराका साथ पर्सा जिल्लामा सोमबारदेखि पुनः ‘ कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।

यसअघि सञ्चालन गरिएको अभियानमा पहिलो मात्रा लिइसकेकालाई दोस्रो मात्रा वा छुटेका १८ वर्ष उमेर माथिका सबै व्यक्तिलाई पहिलो मात्रा खोप लगाउने उद्देश्यले जिल्लाभरि यस महिनाको पाँच÷पाँच दिन दुइ चरणमा खोप अभियान सञ्चालन गरिएको हो । स्थानीय तहसंगको सहकार्यमा जिल्लाको सबै स्वास्थ्य संस्था तथा आवश्यकताका आधारमा तत्कालै खोप केन्द्र थप हुने गरी खोप अभियान सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति जयमोद ठाकुरले जानकारी दिए । जिल्ला खोप समन्वय समितिको निर्णयअनुसार सोमबारदेखि पुस २३ गतेसम्म पर्सागढी, पोखरिया नगरपालिका, सखुवाप्रसौनी, जिराभवानी, ठोरी, जगरनाथपुर र पटेर्वा सुगौली गाउंपालिकामा तथा २३ देखि २७ गतेसम्म वीरगञ्ज महानगरपालिका, बहादुरमाई नगरपालिका, विन्ध्वासिनी, धोविनी, छिपहरमाई, कालिकामाई र पकहामैनपुर गाउंपालिकामा खोप अभियान सञ्चालन हुने जनाइएको छ । अभियानलाई अझ प्रभावकारी बनाउन वीरगञ्जका तीन वटै निजी अस्पताल, नारायणी अस्पताल र पोखरिया अस्पतालबाट समेत तोकिएको दिन खोप लगाउन पाउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, आदर्शनगर चोक, भन्सार र ड्राइपोर्ट चोकमा समेत गरी ३७ वटा खोप केन्द्र स्थापना गरिएको छ । वीरगञ्जको विर्तास्थित नारायणी सेन्ट्रल अस्पतालमा आइतबार, गण्डकस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा मङ्गलबार र घण्टाघर लिङ्करोडको भवानी अस्पतालमा बिहीबार खोप लगाउन सकिन्छ भने नारायणी अस्पतालमा सोमबार र बुधबार दुई दिन, पोखरिया अस्पतालमा शुक्रबार खोप लगाउन सकिने व्यवस्था मिलाइएको छ । जिल्ला खोप समन्वय समितिले २०७८ पुस मसान्तभित्र दुई तिहाइ नागरिक अर्थात् ६६ प्रतिशतले खोप लगाइसक्ने लक्ष्य लिएको छ । जिल्लामा हालसम्म ३८ दशमलव २ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् भने ६० दशमलव ५७ प्रतिशतले एक मात्रा खोप लगाइसकेको अवस्था छ । एक लाख ६९ हजार ३१५ जनाले कोभिसिल्ड, भेरोसेल, जनसन र एस्ट्राजेनिकाको दुवै मात्रा खोप लगाइसकेका र दुई लाख ६९ हजार ७ सय ५४ जनाले यी खोपको पहिलो मात्रा लिएको अवस्था छ । जिल्लामा १८ वर्षभन्दा माथिका लक्षित समुदायको सङ्ख्या चार लाख ४५ हजार ३ सय ६८ छ ।

Comment


Related News

Latest News

Trending News