प्रदेश २ बाट राष्ट्रिय सभाको २ सदस्यका लागि मंगलवार भएको मनोनयन पत्र दाखिलामा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धनबाट प्रदेश २ को खुल्ला तर्फ जनता समाजवादी पार्टी( जसपा)का प्रदेश नं २ मा राष्ट्रियसभा सदस्य पदका लागि सिरहाका खालिद सिद्धिकीले उम्मेदवारी दिएका छन् ।सो गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्यालले पनि मनोनयन पत्र दर्ता गराएकी छन् । प्रदेशमा दुई सिटका लागि हुने निर्वाचनका लागि जनकपुर स्थित प्रदेश निर्वाचन कार्यालयमा ५ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारीमा सत्तारुढ दलहरुबीच सहमति भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षी दल लोसपाबीच तालमेल हुन नसक्दा अलग–अलग उम्मेदवारी दिएका छन् ।तर दुबै दलमा उम्मेदवारीको विषयमा किचलो देखिएको थियो । एमालेले अन्तिम समयमा असर्फी भिनवारको नाम हटाएर पर्सा जिल्लाका उसमान अन्सारीलाई उम्मेदवार बनाए ।तर रौतहटकी नेतृ विना साह महिला कोटामा रहेकी छन् । काठमाण्डुमा एमाले प्रदेश २ का नेताहरुले चर्को विरोध गरेपछि भिनवारको नाम हटाएर अन्सारीलाई टिकट दिएको हो ।भिनवार एमाले सचिव रघुवीर महासेठकोनिकट मानिन्छ ।जसपाले उम्मेदवार उठाएकै जातीबाट उम्मदेवारी दिलाएकाले केही मत असन्तुलित हुन सक्ने आशंका गरिएको छ । लोसपाबाट उम्मेदवारी दिन तयार भएर राजविराजाट गएराती नै जनकपुरधाम आईपुगेका श्याम सुन्दर सरकारले अन्तिम समयमा उम्मेदवारी दर्ता गराउन पाएनन् ।उनी प्रदेश सरकारले गठन गरेको दलित विकास समितिका सदस्य हुन् ।निर्वाचन सम्बन्धी ऐनमा लाभको पद धारण गरेकाले सरकार उम्मेदवारी दिनबाट बञ्चित भए ।
सत्तासीन गठबन्धनका उम्मेदवारको जित निश्चित जस्तै छ ।जसपा र माओवादी केन्द्रका संयुक्त उम्मेदवार बनेका सिद्दिकी र उर्मिला अर्यालयको पक्षमा प्रदेश सभाका अत्यधिक सभासद रहेकाले उनीहरुको जित निश्चित नै मानिएको छ । एमाले र लोसपाबीच तालमेल हुन नसक्दा दुबै दलले उम्मेदवारी दिएका छन् ।तर लोसपाका एकजना उम्मेदवार लाभको पद धारण गरेकाले उम्मेदवारी दर्ता गर्न नसकेपछि अर्को उम्मेदवार उठाएको छैन् ।लोसपाले महोत्तरी जिल्लाकी नेतृ रुपा यादवलाई उम्मेदवार बनाएको छ ।यादव तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी( तमलोपा)का स्वर्गिय नेता अरुण कुमार यादवकी विधवा हुन् । एमालेले महिला कोटामा रौतहटकी विना साहलाई उम्मेदवार बनाएकोछ ।विगतमा एमालेसित तालमेल गरी राष्ट्रिय सभामा उम्मेदवारी दिएको लोसपाले यसपटक तालमेलगर्दा पनि प्रभावकारी नहुने भएकाले अलगै उम्मदेवार उठाएको हो । प्रदेशसभामा सत्तारूढ जसपाका ३९ सदस्य छन् । यस्तै नेपाली कांग्रेसको १९, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६ र नेकपा एकीकृत समाजवादीका १३ सदस्य रहेका छन् । त्यसैगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ८/८ सदस्य तथा नेपाल सङ्घीय समाजवादी पार्टीका १ जना सदस्य छन् । राष्ट्रियसभा सदस्यको १९ रिक्त पदका लागि ९ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ ।आगामी माघ १२ गते हुने निर्वाचनका लागि ४२ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माले बताए ।
आयोगले पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ । आगामी फागुन २० गते नेकपा (एमाले) का ८, नेकपा (एकीकृत समाजवादी) का ४, नेकपा (माओवादी केन्द्र) का ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । ५९ सदस्सीय राष्ट्रियसभाका १ तिहाइ सदस्यको प्रत्येक २ वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी २ हजार २५ मतदाता रहेका छन् ।निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।


