जनकपुरधाम ।प्रदेश २ नामको सम्बन्धमा मंगलवार भएको छलफलमा सहमति हुन सकेन् ।प्रदेश सभाको विशेष समितिका संयोजक सभामुख सरोज कुमार यादवको अध्यक्षतामा बसेको बैठकमा दलहरुबीच नाममा सहमति जुट्न नसके पनि कांग्रेसले अडान भने छाडेको छ ।
नेपाली कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला–भोजपुरा प्रदेश’लाई छाड्न सहमत भएको छ ।तर मधेश प्रदेश राखिए त्यसमा जानकी, मिथिला, जनक केही जोडिनुपर्ने बैठकमा नयाँ प्रस्ताव कांग्रेसले गरेको छ ।बैठकका एकजना सहभागीले भने, कांग्रेसको अडान ‘मधेश प्रदेश’ मात्र नरहोस् भने हो । पर्सा जिल्लाका कांग्रेसकै सभासद राजेश्वर प्रसाद साहले प्रदेशको नाम ‘मध्य–मधेश प्रदेश’प्रस्ताव गरेका छन् ।उनको प्रस्तावलाई पनि कांग्रेसले स्वीकार्ने पक्षमा छैन् ।बैठकमा कांग्रेस एक्लिएको देखिएको थियो । एमालेले प्रदेशको नाम‘जनक’ भनेर प्रस्ताव दर्ता गराए पनि नेकपा एकीकृत समाजवादी(एस)ले दर्ता गरेको ‘जानकी प्रदेश’मा सहमति जनाएको छ ।एमालेका नेताहरुले एसलाई समर्थन गरे पनि संख्या २१ मात्र पुग्ने भएको छ । प्रदेश सभामा नाममा सहमति जुटाउन सकस भइरहेको सभामुख यादवले बताए ।‘राजनीति अडान दलहरुले नाममा लिएकाले सकस भएको छ ’उनले भने, प्रदेश २ ले सर्वसम्मतिबाट प्रदेशको नाम राखेर देशमा सकारात्मक सन्देश दिनु आवश्यक छ । मधेश प्रदेशप्रति कतिपय सभासदहरु लचिलो भएका छन् ।
जनता समाजवादी पार्टी( जसपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र माओवादी केन्द्रबीच मधेश प्रदेशमा सहमति भइसकेकाले अन्य दलका मधेशी मानसिकता भएका सभासदहरुले समर्थन जनाउन लचिलो भएका छन् । मधेश आन्दोलनकै बलमा प्रदेश स्थापित भएको र त्यसको पहिलो सभासदको गौरव प्राप्त गरेकाले मधेश प्रदेश नामकरण गर्न कुनै अप्ठ्यारो नहुने कांग्रेसका एकजना सभासदले जनाए ।उनका अनुसार कांग्रेसले मिथिला–भोजपुराको नाममा अडान लिए पनि त्यसबाट कुनै राजनीतिक फाइदा हुने छैन् । कांग्रेस, एमाले, माओवादी केन्द्र र एसमा मधेशीहरुको थोरबहुत आरक्षण पनि मधेशी दलहरुकै कारण प्राप्त भएको उनले बताए ।‘हालै सम्पन्न ठूलो दलको महाधिवेशनबाट मधेशीहरु नेतृत्वतहमा पुग्न सकेका छैनन्’ उनले भने, ठूला नेताहरु मधेशी कोटाबाट केन्द्रीय समितिमा पुगेका छन् । प्रदेशको नाम मधेश प्रदेश राख्ने पक्षमा ६३ जना सभासद रहेका छन् ।दुई तिहाईका लागि ७० जना सभासद चाहिन्छ । तर प्रदेशको राजधानी जनकपुरधामलाई तोक्नेमा पाँच दलबीच सहमति भइसकेकाले त्यो दुई तिहाई बहुमतबाट पारित हुने निश्चित जस्तै छ ।
विगतमा जस्तो यस पटक राजधानीको प्रस्ताव विफल हुने संभावना न्यून रहेको देखिन्छ । नामको विषयमा बुधवार पनि छलफल हुने बताइएको छ ।विहीबार प्रदेश सभाको बैठक बोलाइएको छ ।दलहरुबीच सहमति नभए नामको सबै प्रस्ताव छलफलका लागि प्रदेश सभामा प्रवेश पाउनेछ ।
https://www.youtube.com/watch?v=R7LsVtWys04


