राजविराज । शीतलहर तथा बाक्लो हुस्सुको कारण बढेको चिसोले सप्तरी जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ ।
सोही क्रममा मंगलबार जिल्लामा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ । महदेवा गाउंपालिका–४का ६५ वर्षीय देवनारायण ठाकुरको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो । ‘ओछ्यानबाट बिहान उठेर ढोका बाहिर निस्किए लगत्तै मण्डल कठयांग्रिएर बेहोश भएका थिए,गाउंपालिकाकी उपाध्यक्ष ममता यादवले भनिन्, आफन्तले समात्न नपाउंदै उनको मृत्यु भइसकेको थियो ।’ केही दिन अघिको वर्षा संगै एक्कासी बढेको चिसोले यहाँको जनजीवन प्रभावित भएको हो । जिल्लाका निजी क्लिनिक तथा अस्पतालमा चिसोका हुने समस्याका रोगीहरुको चाप बढेको छ । चिसोका कारण निमोनिया, कोल्डडायरिया, दम,रुघा खोकी र श्वास–प्रश्वास सम्बन्धी समस्या लिएर आउने विरामीहरुको चाप बढेको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका चिकित्सकहरुले बताए । विशेष गरी ग्रामीण क्षेत्रको विपन्न वस्तीमा चिसोले बढी प्रभाव पारेको देखिएको छ । टोल टोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ ।
यसैबीच मंगलबार नै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको पहलमा बसेको सर्वपक्षीय र सर्व दलीय बैठकले सर्वसाधारणलाई शीतलहरको प्रकोपबाट जोगाउन पूर्व तयारी कार्यलाई अघि बढाउने निर्णय गरेको छ । जिल्लाको सबै १८ वटै पालिकामा विपद ब्यवस्थापन समिति मार्फत शीतलहरबाट जोगाउन सचेतना र दाउराको व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको हो । त्यस्तै सम्बन्धित गाउं र नगरपालिकाले अति विपन्न परिवारको पहिचान गरी न्यानो कपडा र कम्बल वितरण गर्ने तथा कोरोनाको जोखिम न्यूनीकरण र शान्ति सुरक्षालाई अझ सुदृढ बनाउन विविध निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले जनाए ।


