२०७८ पुष २१, बुधबार ०६:१९

राजविराज । नेपाली कांग्रेसको जिल्ला अधिवेशन नजिंिकदै जाँदा सभापतिको लागि आधा दर्जन भन्दा बढी आकाँक्षीहरु देखिएका छन् ।

आगामी पुस २७ गते जिल्ला अधिवेशन गर्ने तिथी तय भएको छ । सभापति पदका लागि देउवा पक्षबाट निर्मला यादव, भगवती प्रसाद यादव, रामप्रसाद मण्डल र शत्रुधन यादवले दाबेदारी दिएका छन् । संस्थापन इतर पक्षका रामदेव साह, राम कुमार यादव र रामु यादवले पनि सभापति पदमा दाबेदारी दिने बताएका छन् । सभापति पदकालागि आकांक्षीको संख्या धेरै देखिएपछि सहमति र सर्वसम्मतिबाट नयां नेतृत्व चयनको प्रयास समेत थालिएको नेकाँ सप्तरीका प्रवक्ता प्रभात कुमार ललनले जानकारी दिए । यसैक्रममा केन्द्रीय सदस्य दिनेश कुमार यादवको संयोजकत्वमा मंगलबार चार सदस्यीय कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा फत्तेह मोहम्मद, डा.सुबोध पोखरेल र भागवत यादव सदस्य रहेका छन् । उक्त कार्यदलले सहमतिबाट नयां नेतृत्वको चयन गर्ने प्रयास मंगलबार देखि नै सुरु गरेको छ । कार्यदलका संयोजक समेत रहेका केन्द्रीय सदस्य यादवले सभापतिकालागि धेरै आकांक्षी देखिएपछि सर्वसम्मतिले नाम टुंग्याउन कार्यदल मार्फत काम सुरु गरिसकेको जनाए ।

सभापतिमा दाबेदारमा योग्यता संगै अनुभव र सबैलाई साथ लिएर अघि बढ्ने कौशल हुनु पर्छ भन्दै उनले भने, “यसैकालागि काम थालेका छौं ।”प्रयास सफल नभए निर्वाचनबाटै सक्षम र योग्यलाई चयन गरिने उनले स्पष्ट पारे । कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत जिल्लामा वडा,गाउं, नगर, प्रदेश र केन्द्रका प्रतिनिधिका लागि भएको निर्वाचनमा अधिकांश देउवा पक्षका निर्वाचित भएका छन् । चार जना क्षेत्रीय सभापति मध्ये पनि एक जनामात्र संस्थापन इतर पक्षका विजयी भएका छन् । हाल सम्मको निर्वाचन परिणामले देखाएको संकेत अनुसार देउवा पक्ष बलियो हुने अनुमान गरिएको छ । यद्यपि उक्त पक्षबाट उम्मेदवार को हुने हो भन्ने आधारमा पनि परिणाम हेरफेर हुन सक्ने सम्भावना उत्तिकै रहेको कांग्रेसी नेता कार्यकर्ताहरुको भनाई छ । प्रदेश २ का ८ जिल्ला सहित १६ जिल्लामा विवादका कारण जिल्ला अधिवेशन हुन सकेको थिएन । केन्द्रीय निर्वाचन समितिले ती सबै जिल्लामा पुस २७ गते एकै दिन अधिवेशन गर्ने निर्णय गरेको पार्टीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News