अपडेट 
२०७८ पुष २१, बुधबार ०६:३०

आवासीय अंग्रेजी विद्यालयका एक जना सम्मानित शिक्षक आफ्नो पेसाको बदलिँदो रुपप्रति गुनासो गर्दै यस्तो अभिव्यक्ति दिए : एक जना परीक्षार्थीले थप कपी माग्यो । मैले भर्खर प्रश्नपत्र बाँडेको थिएँ । प्रश्नपत्र बाँडेको दुई मिनट नहुँदै थप कापी माग्दा मलाई अचम्म लाग्यो । उसले कपीमा केही लेखेकै थिएन आफ्नो नाम, कक्षा र रोल नम्बरबाहेक । मैले यही कुरा उसलाई भनें कि तिमीले थप कापी माग्नु वा लिनुअघि आफ्नो मूल कापीमा भरी लेखेपछि मात्र पाउँछौँ । उसले सोझै भन्यो, मैले पैसा तिरेको छु । तपाईँसित सित्तैमा मागेको होइन । कसलाई थप कापी दिने र कसलाई थप कापी नदिने तपाईँको व्यक्तिगत कुरो होइन । तपाईँ आफ् नो घरबाट दिने होइन । खुरुक्क मलाई थप कापी दिनुस्, थप कापी माग्ने अधिकार हो मेरो र मैले पाउनु पर्ने अधिकार हो ।

परीक्षामा परीक्षार्थीले थप कापी मागेपछि गार्डको काम हो दिने । कतिखेर दिने वा कसलाई दिने भन्ने विवाद नगर्नुस् । परीक्षार्थीको बोली र हाउभाउ दुवैमा चरम उद्दण्डता थियो । मैले केही बोल्न सकिनँ । मनमनै अपमान अनुभव गरें । उसलाई थप कापी दिएँ । परीक्षा भर्खर संचालन हुँदै थियो । मैले तत्काल केही बोल्नु पनि उचित लागेन । तत्काल परीक्षाको प्रमुखलाई जानकारी दिन सकिने अवस्था पनि थिएन किनभने परीक्षा सुरु भइसकेको थियो र म गार्डको रुपमा थिएँ एउटा कोठामा । परीक्षा संचालन गर्ने कक्ष अलिक टाढा थियो र तत्काल परीक्षा समिति वा विद्यालय प्रशासनका मानिस कोही थिएनन् । यसले गर्दा मलाई केही समय पर्खिर्नुपर्ने बाध्यता थियो । करिब दुई घन्टाको परीक्षाको समयमा उसले पाँचचोटि भन्दा बढी थप कापी माग्यो । मैले दिँदै गएँ । वास्तवमा उसले कापीमा खासै केही लेखेको थिएन । यति अवश्य थियो कि ऊ कुनै पनि हालतमा पास गर्न सकिने गरी केही लेखेको थिएन । हरेक पानाको एकापट्टि लेखेको थियो र हरेक पृष्ठमा दुई चार लाइनभन्दा बढी लेखेको थिएन । जब त्यस दिनको परीक्षा सम्पन्न भयो र कापी बुझाएँ, त्यसपछि अलिक शान्त भएर परीक्षा समितिमा यो कुरा राखें । परीक्षा समितिको सोझो प्रतिक्रिया आयो ः तत्काल जसरी समाधान गर्नुभयो, त्यो धेरै राम्रो थियो । विद्यार्थीसित मुखमुखै लाग्नु अहिले राम्रो होइन । केही दिन पहिले एक जना शिक्षकलाई विद्यार्थीले हातपात ग¥यो । हातपात गर्ने विद्यार्थी विद्यालय व्यवस्थापन समितिको सदस्यको छोरो थियो । विद्यालय व्यवस्थापन समिति, समाज र सम्बन्धित निकायले सम्भव भएसम्म शिक्षकको गल्ती खोज्ने प्रयास ग¥यो । शिक्षकलाई कक्षामै जिस्क्याउने गथ्र्यो ऊ, पढाइको समयमा जथाभावी जनावरको बोलीसमेत कस्तो कस्तो आवाज निकालेर बोल्थ्यो । शिक्षकलाई कहिल्यै सम्मान गर्दैनथ्यो । बरु शिक्षक नै उसलाई हेरेर बाटो पन्छाउने अवस्था रहन्थ्यो । परीक्षा चोर्न नदिएपछि परीक्षामै शिक्षकमाथि हातपात गर्दा शिक्षकले केही गर्न सक्ने अवस्था रहेन ।

शिक्षकमाथि मानव अधिकारबादीले घरमै पुगेर कुरो सल्टाउने दबाब दिए, अनेकतिरबाट दबाब र सुझाव आउँदै रह्यो । लगातार दुई वर्ष कुनै पनि तहको परीक्षा राम्ररी हुन पाएन । परीक्षा भयो त केवल औपचारिक । त्रिभुवन विश्वविद्यालयले स्तानक तहको परीक्षाको केन्द्र आफ्नो क्याम्पसमा नराखेको भन्दै सर्लाहीका केही परीक्षार्थीले सडकमा आएर आन्दोलन गरे । परीक्षा केन्द्र आफ्नो अनुकूल हुनुपर्ने परीक्षार्थीको माग थियो । परीक्षार्थीले किन परीक्षा केन्द्र आफ् नो अनुकूल मागेका हुन् भन्ने कुराको रहस्य बुझ्न कुनै गाह्रो छैन । सोझै लगातार दुई वर्ष कोरोनाको कारण जसलाई जहाँ सजिलो देखिएको थियो, त्यही परीक्षा लिने व्यवस्था मिलाइएको थियो । यसले गर्दा शिक्षाको क्षेत्रमा एउटा ठूलो ग्याप हुन गएको छ । त्यो ग्याप के हो भने परीक्षाको नाम सुन्नासाथ परीक्षार्थीले यो बुझ्ने गरेका छन् आफू पास हुनु अधिकारको कुरो हो । परीक्षामा मैले चाहे जस्तो गर्न पाउनु पर्छ । मलाई परीक्षा दिनबाट कसैले कुनै पनि हालतमा रोक्न सक्ने अवस्था छैन । परीक्षाको अर्थ मैले कापीमा लेख्ने हो, मलाई जहाँबाट जसरी मन लाग्छ, त्यहाँबाट त्यसरी लेख्न पाउनुपर्छ । मैले कसरी राम्रो लेख्छु भन्ने कुराको तारतम्य मिलाउनु शिक्षकको काम हो । विद्यालयको काम हो । आफूलाई धेरै राम्रो नम्बर ल्याएर पास गर्नु छ । बाँकी कुरा थाहा छैन । हैनभने मैले जानेको छु । विद्यालयको सबै कक्षामा वा स्नातक तहसम्म परीक्षार्थीले दिनुपर्ने प्रयोगात्मक परीक्षाको अवस्था हेर्दा झन् विचित्रको छ । प्रदेश दुईमा कुनै पनि विद्यालय वा क्याम्पस नहोला जसले सबै विषयमा लिनुपर्ने प्रयोगात्मक परीक्षा सही अर्थमा राम्ररी वा नियमानुसार लिएको होओस् । अधिकांश विषयमा पच्चीस प्रतिशत प्रयोगात्मक रहेको छ । सायदै कुनै विद्यालयमा प्रयोगात्मक हुँदो हो र प्रयोगात्मक वापत परीक्षार्थीले एकाध नम्बर कम मात्र पाउँछन् । विद्यालय प्रयोगात्मक परीक्षा लिने चलन चलाएन । प्रयोगात्मक परीक्षाको मर्म बुझ्न सकेन । विद्यालयले प्रयोगात्मक गराउन नसक्दा विद्यार्थीलाई सोझै अधिकतम नम्बर दिन सुरु ग¥यो । अर्कोतिर उदार कक्षोन्नति पनि छ ।

उदार कक्षोन्नतिले परीक्षार्थीलाई वा विद्यार्थीलाई सम्भव भएसम्म कुनै पनि कक्षामा रोक्न हुँदैन भन्ने ज्ञान दियो । यही कुरा अभिभावक र विद्यार्थीले पनि बुझेका छन् । मैले नपढे पनि पास भइहाल्छु, मैले नलेखे पनि मलाई कसैले फेल गर्दैन । यसर्थ कक्षाकोठादेखि परीक्षासम्म निरन्तर उद्दण्ता बढिरहेको छ । अनुशासनहीनता बढेको छ । पहिले शिक्षकलाई देखेर विद्यार्थी डराउँथे । यसलाई भयको वातावरण भनियो र भयरहित शिक्षा हुनुलाई धेरै राम्रो मानियो । विद्यार्थीलाई अब कुनै डर छैन । कतैबाट कुनै किसिमको डर छैन । यसले गर्दा अहिले विद्यालयमा अनुशासनको कमी भइसकेको छ । अब अनुशासनमा विद्यार्थीलाई राख्न कदापि सम्भव छैन भनिन थालिएको छ । जब विद्यार्थी अनुशासनमा राख्न शिक्षकलाई कठिन भइसकेको छ, यसको अर्थ यो पनि हो कि अब शिक्षकहरु विद्यार्थीलाई देखेर डराइरहेका छन् । यसको प्रतिफल यो स्पष्ट भइरहेको छ कि शिक्षाको स्तर दिनानुदिन खस्कँदै गइरहेको छ । विद्यालयमा अनुशासन नहुने, विद्यार्थीले परीक्षामा जे लेखे पनि पास हुनुपर्ने, प्रयोगात्मक परीक्षाको जो अंक हुन्छ, त्यसमा परीक्षार्थीले केही नगरे पनि झन्डै पूरा नम्बर पाउनुपर्ने परिपाटीले वास्तवमा शिक्षा ध्वस्त हुँदैछ । विद्यार्थीहरु साँच्चै उद्दण्ड हुँदै छन् । अर्को पनि एउटा उदाहरण यहाँ प्रस्तुत छ । एउटा विद्यार्थीले कक्षामा मोबाइल चलाइरहेको गुनासो आयो । गुनासो एक छात्राले गरेकी थिइन् कि फोहोर कुरो मोबाइलमा हेरिरहेको छ । विद्यालय तहमा कक्षाकोठामा मोबाइल लैजानु हुँदैन भन्ने कुरो लगभग सबैले बुझेका छन् ।

छात्राको गुनासोपछि विद्यार्थीबाट मोबाइल लियो प्रशासनले । अश्लील भिडियो नै हेरिरहेको थियो उसले र चार पाँच जनालाई देखाइरहेको थियो । विद्यालय प्रशासनले यही भन्यो कि अभिभावक आएपछि मोबाइल पाउँछौँ । अभिभावक पनि आए तर विद्यार्थीको अगाडि डराएको अवस्थामा । अभिभावकले अबदेखि मोबाइल ल्याउन दिन्न भनेर पनि बताउन सकेनन् । उनको भनाइ थियो कि तपाईँहरु सम्झाउनु भयो भने मान्लान् कि म चाहिँ सम्झाउन बुझाउन सक्दिन । भन्नुको तात्पर्य अभिभावक (बुबा)भन्दा विद्यार्थी घरमै पनि बलियो देखिएको थियो ।

माथिका दृष्टान्तहरु कुनै काल्पनिक होइनन् । अलग अलग सत्य दृष्टान्त हुन् ।

सबै विद्यालयमा यस्तै हुन्छ भन्ने होइन । सबै विद्यार्थी उद्दण्ड नै हुन् भन्ने पनि होइन । सारा परीक्षार्थी बदमासी नै गर्न चाहन्छन् भन्ने होइन तर अब उद्दण्डताको पारो निरन्तर चढिरहेको छ । अब नियन्त्रण गर्ने उपायको खोजी आवश्यक भइसकेको छ । दण्डरहित र भयरहित शिक्षाको पक्षमा वकालत गर्नु राम्रो कुरो हो तर शिक्षक यदि भयमा पढाउन बाध्य छन् भने भयरहित वातावरण हुन सकेन । अनुशासनको कुरो पनि नसिक्ने हो भने भोलिको समाज कस्तो होला ? विद्यालयमा अनुशासन कायम कसरी हुन सक्ला ? यो सोचिदिने कसले ? विद्यालयमा अनुशासनको पक्षमा विचार गरिदिने कुन निकाय छ ? हरेक निकाय त केवल शिक्षकलाई दोष दिनमा व्यस्त हुन्छन् भने अब शिक्षण पेसातिरबाट धेरैको मन मर्न थालेको छ । राम्रो विद्यार्थी अब शिक्षक बन्न कदापि खोजिरहेको अवस्था छैन । अहिलेको विद्यार्थीलाई हेरेर केही शिक्षकहरुले आफूलाई अब जेनतेन आफ् नो पेन्सन पाकिहाले हुन्थ्यो भन्ने परिसकेको छ ।

धेरैले शिक्षक हुनुभन्दा अन्य कुनै पेसामा जानु राम्रो भनेर सल्लाह दिन थालेका छन् । शिक्षण पेसामा पनि मर्यादा र सम्मान पाइएन भने पैसा कमाउने अन्य पेसा वा जागिर खोज्नु राम्रो हुन्छ । यसै कारण कतिपयले भनिरहेका छन् कि अहिले शिक्षक सेवा आयोगले जुन विज्ञापन निकालेको छ, यसमा आयोगले अपेक्षा गरेअनुसार धेरै शिक्षक उत्तीर्ण हुँदैनन्, संख्यामा त उत्तीर्ण होलान् तर गुणात्मकता अन्य समयको परीक्षाको तुलनामा यसपटक प्रतिशतमा धेरै कम हुन्छ किनभने अहिले उत्साह नै देखिएको छ । हुन त अझै समय छ । परीक्षा आउन समय बाँकी छ । परीक्षाको लागि आवेदन फाराम भर्ने काम भइरहेको छ तर पनि अहिले जस्तो उत्साह देखिनु पर्ने हो त्यस्तो देखिन सकेको छैन । उत्साह नदेखिँदा उत्साहजनक परिणाम आउला भन्ने कुरा तत्कालको लागि वर्तमानको आधारमा गर्न सकिने अवस्था छैन । अहिले बढ्दै गएको उद्दण्डताको पारोले भोलिको दिनमा समाजमा अझ छाडापन बढ्ने चिन्ता बुद्धिजीवीहरुमा हुन थालेको छ । समयमै विद्यालयमा अनुशासन कायम हुने र परीक्षालाई व्यवस्थित हुने वातावरण बनोस् । शिक्षालाई समाजले अति सम्वदेनशील मान्नु आवश्यक छ । हुने खाने तथा सक्ने र बुझ्नेले चुरेभन्दा उत्तरतिरको विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउनु राम्रो मानिरहेका छन् । यसरी मान्नु पनि यहाँको शिक्षाप्रति अविश्वास हो । शिक्षाप्रति अविश्वास हुने वातावरण कहिलेसम्म ?

यसलाई सम्बन्धित निकाय तथा समुदायले पनि बुझ्नु आवश्यक छ । समाजले पनि बुझ्नु जरुरी छ । अहिले सबैतिर अधिकारको कुरो आइरहँदा यस अधिकारमा पिनिँदै छ अनुशासन । अनुशासन कम हुँदै जाँदा नैतिकता पनि कमजोर बन्दैछ । अनुशासन र नैतिकता दुवैमा कमजोर भएपछि समाज कहाँ जान्छ ? र, समाजलाई सुधार्नको लागि शिक्षा राम्रो हुनुपर्छ । शिक्षालाई व्यवस्थित बनाउनको लागि सबैतिरबाट सकारात्मक सहयोग हुनु आवश्यक छ । सबैतिरबाट प्रश्न मात्र गर्ने होइन कि सबैतिरबाट समाधानको उपायसहित आफ्नो सकारात्मक भूमिकाको खोजी पनि गर्नु परेको छ ।

Comment


Related News

Latest News

Trending News