जनकपुरधाम । केही दिन देखि बढेको चिसोका कारण कष्टकर बनेको तराई मधेशमा वुधवार घाम लागेपछि चहल पहल बढेको छ ।
जनकपुरधाम लगायत तराई मधेशमा कुहिरो र चिसो हावा तथा हिमाली क्षेत्रहरुमा परेको हिमपातको कारण जनजीवन कष्टकर बन्दै गएको थियो । घाम लागेपछि जनकपुरधाम लगायतका क्षेत्रमा आम सर्वसाधारणको भीडभाड तथा बजारमा सामान खरिद गर्नेहरुको संख्यामा उल्लेख्य उपस्थिति देखिएको छ । केही दिन यतादेखि जुत्ता मात्रै किन्ने तथा अन्य सामग्रीको बिक्रीमा व्यापक ह्रास आएको थियो । बुधवार घाम लागेपछि अन्य वस्तुभाउको किनमेल गर्नेहरुको चलहपहल बढेको छ । चिसोका कारण बेलुका हुने वित्तिक्कै बजार बन्द हुने गरेको थियो भने दिनभरि अस्तव्यस्त रहने जनकपुरधामका सडकहरुमा भने फाटफुट सवारी साधन मात्रै देखिएको थियो । अंग्रेजी नयाँ वर्ष शुभारम्भका दिन यहाँ भारतीय तथा स्वदेशी पर्यटकहरुको घुंइचो देखिए पनि त्यस पछि तराइ मधेशका बजारहरु सुनसान बनेको थियो । जनकपुरधामको पेठिया बजारमा समेत हरियो तरकारी व्यापारीहरु चिसोकै कारण मुख ताकेर बस्न बाध्य बनेका थिए । पेठिया बजारका व्यपारीमन अनुसार चिसाले गर्दा चोक– चोकमा रहेको तरकारी पसलबाट आम उपभोक्ता तरकारी खरिद गर्ने गरेका थिए, बजारमा भने त्यस्तो उपस्थिति नदेखिएका कारण व्यापारीहरुलाई समस्या भएको थियो । तर, बुधबार भने पेठिया बजारका व्यापारीहरुले खुशी व्यक्त गरेका थिए । उनीहरुले अन्य दिनको तुलनामा आजको बजार अलिक फरक रहेको बताए ।
अन्य दिन दुइ हजारको पनि बिक्री हुन नसकेको उनीहरुको गुनासो थियो । घामले जनजीवन फेरिए पनि जल तथा मौसम विज्ञान विभागले भने देशभरि सामान्य बदली रहने जानकारी दिएको छ । सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना र ती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । विहीबार राती देशभरि सामान्य बदली रहने अनुमान गरिएको छ । सुदूर पश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना र ती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । जल तथा मौसम विज्ञान बिभागका अनुसार शुक्रबार दिउँसो देशभरि आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू– भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । शुक्रवार राती देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका पहाडी भू–भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू– भागमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागले जनाएको अनुसार मंगलबार जनकपुरधामको अधिकत्म तापक्रम १५.५ डिग्रि सेल्सियस थियो न्युनतम तापक्रम १०.४ डिग्रि सेल्सियस थियो त्यसै गरी बुधबारको तापक्रम ९.२ डिग्रि सेल्सियस र २ सय पारदर्शिता मापन गरिएको थियो । त्यस्तै सिमरा केन्द्रका अनुसार मंगलबार अधिकत्म तापक्रम १४.५ डिग्रि सेल्सियस तथा न्यूनतम तापक्रम १० डिग्रि सेल्सियस तथा बुधबारको तापक्रम ११ डिग्रि सेल्सियस र पारदर्शिता ५ सय मापन गरिएको छ ।


