अपडेट 
२०७८ पुष २२, बिहीबार ०७:१९

जनकपुरधाम । धनुषा जिल्लामा यस वर्ष धान उत्पादनमा बृद्धि भएको छ ।

कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष भन्दा चालु आर्थिक वर्षमा ११ हजार ४ सय ७० मेट्रिक टन बढी धान उत्पादन भएको छ । चालु आर्थिक वर्षमा ५९ हजार हेक्टर जग्गामा धान खेती गरिएकोमा १ लाख ८८ हजार ८ सय मेट्रिक टन धान उत्पादन भएको छ भने गत आव ०७७/०७८मा ५९ हेक्टर जग्गामा १ लाख ७७ हजार ३ सय ३० मेट्रिक टन धान उत्पादन भएको थियो । प्रदेशभरि मै धनुषा जिल्लामा सबै भन्दा बढी धान उत्पादन भएको केन्द्रका वागबानी अधिकृत प्रदीप कुमार यादवले जनाए । धान उत्पादनका लागि उत्तम स्थानको रुपमा रहेको धनुषा जिल्लामा धान काट्ने बेलामा आएको हावाहुरी तथा बाढीले पनि कम क्षति गरेको कारण धान उत्पादनमा खासै प्रभाव नपरेको बताइएको छ । तथ्यांक अनुसार गत आवमा धनुषामा प्रति हेक्टर ४ मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष प्रति हेक्टर ४ भन्दा थोरै भए पनि बढी धान उत्पादन भएको छ । गतवर्ष चैते र असारे गरी जिल्लामा ५९ हजार हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो । यस वर्ष पनि सोही अनुपातको जग्गामा धान खेती गरिएको छ । केही दिन पूर्व आएको हावाहुरी तथा लगातारको वर्षाले प्रदेश २ मात्र नभइ देशभरिकै धानबालीमा क्षति पु¥याएको थियो र धनुषामा पनि धान उत्पादनमा ह्रास आउने अनुमान गरिए पनि जिल्लामा भएको धान उत्पादनले अनुमानलाई गलत साबित गर्दै प्रदेश २ भरिमै अब्बल स्थानमा आएको छ ।

‘प्रदेशको अन्य जिल्लाको तुलनामा धनुषामा सिँचाइको उपलब्धता तुलनात्मक रुपमा बढी भएकोले धान उत्पादन बढी हुने गर्छ । यस जिल्लामा धान खेतीका लागि उर्वर भूमि पनि छ’ अधिकृत यादवले भने ,‘सीमा नाकासँग जोडिएकाले जिल्लामा मल अभाव हुने बित्तिकै लुकिछिपी भए पनि किसानले भारतबाट ल्याएर समयमै मल छर्छन ।’ कमला, नक्टाझिज र सिर्सिया गरी तीन वटा सिँचाइ आयोजना सञ्चालनमा रहेको छ । ‘समय समयमा पानी परेकोले किराको प्रकोप पनि देखिएन त्यसैले पनि धान उत्पादनमा बृद्धि भएको हो’,अधिकृत यादवले स्पष्ट पारे । हावाहुरी तथा तीन दिन सम्म परेको लगातारको वर्षाले अन्य ठाउँमा के क्षति ग¥यो गरेन थाहा भएन तर हामीलाई यसले पानीले फाइदा नै गरेको जिल्लाको बलहा कठालका किसान राजेश्वर यादव बताउंछन् । उनी भन्छन्,‘समय–समयमा पानी परेको छ ,पानी प्रशस्त भयो भने धान उत्पादनमा बढी हुन्छ नै ,गत वर्ष कठ्ठाको दुइ मन उत्पादन गर्न धौधौ परेको थियो भने यस वर्ष कठ्ठामा पाँच मन सम्म धान उत्पादन भएको छ।’ कृषि तथा पशुपन्छी विकास मन्त्रालय सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षमा उत्पादन भएको धानको परिमाण पाँच वर्ष यताकै सबै भन्दा कम हो । तर कृषि ज्ञान केन्द्र धनुषाको तथ्यांकले भने धानको उत्पादनमा कुनै कमी नभएको देखाउंछ । चालु आवमा ५१ लाख ३० हजार मेट्रिकटन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

गत वर्ष ५६ लाख २१ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । धनुषामा यस वर्ष पचहत्तर प्रतिशत भन्दा माथि सोना मंसुली धान उत्पादन गरिएको छ भने बासमती तथा स्वर्णसब –१ र कतरनी सहितका धान उत्पादन गरिएको छ ।

Comment


Related News

Latest News

Trending News