राजविराज । भारतीय बजारबाट किनेर चोर बाटो हुंदै लागु औषध ओसार–पोसार गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउंपालिका–४का २३ वर्षीय श्यामकुमार यादव र तिलाठी कोइलाडी गाउंपालिका–८का २० वर्षीय परमानन्द महतो रहेका छन् । विहीबार सांझ पक्राउ परेकाहरुलाई प्रहरीले शुक्रबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ । सांझको समयमा भारतीय सीमासँग जोडिएको बनिनिया क्षेत्र हुंदै लुकिछिपी साइकलमा आउँदै गरेका उनीहरुलाई गस्ती टोलीले चेकजांच गर्दा लागुऔषध सहित पक्राउ गरिएको जिप्रका सप्तरीका सूचना अधिकारी माधवप्रसाद काफ्लेले जानकारी दिए । पक्राउ परेकाहरुको साथबाट प्रतिबन्धित एसपिएम प्रोक्सिभन ४ सय ८ र नाइट्राभेट १० चार थान ट् याब्लेट बरामद गरिएको छ । यस्तै डाइलेक्स डिसी सय एमएलको चार बोतल पनि बरामद गरिएको डिएसपी काफ्लेले जानकारी दिए । पक्राउ परेकाहरुलाई शुक्रबार लागुऔषध मुद्दा शीर्षक अन्तरगत सप्तरी जिल्ला अदालतबाट म्याद थप गराइ आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
महोत्तरी
महोत्तरी प्रहरीले एक युवकलाई लागु औषध सहित पक्राउ गरेको छ । जिल्लाको औरही नगरपालिका–४ कठुधारको माईस्थान सम्सि सडक खण्डमा बर्दिवास नपा– १३ बिजलपूराका २० वर्षीय रोशन कुमार चौधरीलाई लागु औषध सहित पक्राउ गरिएको हो ।
अस्थायी प्रहरी पोष्ट कठुधारबाट गस्तीमा खटेको प्रहरी टोलीले सम्सिबाट गौशाला तर्फ जाँदै गरेको ज. १ ह ३८९८ नं. को अटोलाई चेकजाँच गर्ने क्रममा सोही अटोमा सवार चौधरीलाई प्रहरीले नाइट्रोभेट १० लेखिएको ३७ पिस ट्याब्लेट सहित प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश विष्टले जनाए । पक्राउ परेका चौधरीलाई आवश्यक कारवाहीको लागि महोत्तरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ६ दिनको म्याद थप गरी ईलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भइ रहेको जनाइएको छ ।


