अपडेट 
२०७८ पुष २५, आईतवार ०८:०३

सामान्य भाषामा नेतृत्वकर्तालाई ‘नेता’ भनिन्छ । नेतामा कस्तो गुण हुनुपर्ने विषय महत्वपूर्ण हो । लोकप्रिय नेताले जनतालाई विचार र व्यवहारबाट प्रभावित पार्छन् । वास्तवमा, नेता त्यो हो, जसले जनताको मनोभावलाई अगाडि राख्छ र उसको भलाइका लागि सदैव तत्पर रहन्छन् । असल एवम् सिद्धान्तवादी नेताले कार्यकर्ता वा पार्टीमाथि लागेका आरोपलाई स्वयं जिम्मेवारी लिने र सफलताको श्रेय सवैलाई दिने गुण हुनुपर्छ । नेपालमा सिद्धान्तवादी नेताको खडेरी परेको देखिन्छ । नेताहरु सत्तासम्म पहुँच बनाउन चुनावी मुद्धा खोज्छन् । निर्वाचनमा जितलाई राजनीतिक सफलता मान्छन् । सवै एकैनासका छन् भन्न मिल्दैन् । तर, लामो समयदेखि मुलुकमा नेताहरुले गरेका प्रतिवद्धता निर्वाचनसम्म मात्रै सीमित भएपछि जनतालाई विश्वास गर्न असजिलो महसुस हुनु स्वभाविक हो ।

मुलुकमा स्थानीय तहको निर्वाचनको तयारी शुरु भइसकेको छ । तीन महिनापछि निर्वाचन हुने लगभग पक्का देखिन्छ । राजनीतिक दलहरुलाई चुनावी मुद्धा चाहिन्छ । चुनाव जित्नका लागि लहरको आवश्यकता पर्छ । अहिले मधेशमा दुईवटा मुद्धाको उठान भएको छ । जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले नागरिकताको विषय र जनमत पार्टीले किसानहरुको जायज मागको मुद्धा अघि सारेका छन् । नेपालमा राजनीतिक विषय आवश्यकताभन्दा बढी फस्टाइसकेका छन र किसानको खेती मृत हुने अवस्थामा पुग्न थालेका छन् । कृषिप्रधान मुलुक भनिए पनि हजारौं विघा जग्गा बाँझौं छ, बर्षेनी सयौं विघा खेतीयोग्य भूमि नदीको भेटी चढिन्छ । रोजगारका लागि युवाहरुका विदेश पलायन जारी छन् । ती युवाहरुले पठाएका रकमको रेमिट्यान्सले सरकार खुश छन् । सर्वसाधारण जनता बेहाल छन् र पेट भर्नका खाद्यान भारतबाट आयात गर्नुपरेको छ । किसानको खेती जति राम्रो भए पनि कहिँले हूरी वतास, कहिँले किराको प्रकोप र कहिँले बाढीले डुवाउँछ कतै पानीको अभावमा बाली सुख्छन् । ठेगान छैन्, कहिँले कुन विपत्तिले समात्ने हो । तापनि, किसान सङ्घर्षरत छन् । अहिले किसानसमक्ष मलखादको अभाव छ । किसानका लागि सवै दल आवाज उठाउने तर, किसानको वास्तविक समस्या समाधानका लागि तत्पर नहुने विडम्बना यथावतनै छन् । मुख्यमन्त्री लालबावु राउतको हात समातेर विन्ति गर्दै सप्तरीमा एक बृद्ध किसानले “सरकार एक बोरा खाद दिनुस” भन्ने मार्मिक दृश्य देखेर कसको मन न पग्लिएको होला । तपाइको मुख्यमन्त्रीको पद कसको लागि ??? के सस्तो लोकप्रियतामा मात्रै रमाउने हो ? भारतबाट एक बोरा मलखाद ल्याउँदा पनि सशस्त्र प्रहरी समात्छन् । सरकारले मलखाद आपूर्ति गर्न नसक्ने र छिमेकी मुलुकबाट ल्याउन नदिने । प्रहरीको नजरमा त्यो तस्करी हो । भारतबाट नाकाबन्दी लगाएको बेला ठूलो परिमाणमा भरियाद्वारा खुलायाम बोराका बोरा खाद्य सामग्रीका साथै पेट्रोल, डिजेल भित्रिन्थ्यो । उतिखेर, त्यो तस्करी नहुने रे । किनकी, त्यसरी, भित्रिएका सामानहरुमध्ये अधिकांश सामान र पेट्रोलियम पदार्थ काठमाडौं पुगिन्थ्यो ।

‘अहिले पनि नेपाल भनेको काठमाडौं, काठमाडौं भनेको नेपाल’ भन्ने भावना कायमैं छ । अहिले पनि, काठमाडौंमा कुनै खाद वस्तुको अभाव भए, जसरी पनि जहाँबाट भए पनि आपूर्तिको लागि कडा कदम उठाइनेछ । किसानहरुलाई महिनौंदेखि रासायनिक मलको अभावको विषयमा सरकार किन सचेत भएनन् । मधेशका नेता एवम् किसानका छोरा महेन्द्र राय, यादव कृषिमन्त्री पदमा आसीन छन् । अर्का, किसानका वैज्ञानिक छोरा डा. सिके राउत किसानको माग राखी सडक तताइरहेका छन् । धानवाली बर्षा र बाढीको चपेटामा परे, अव, गहूँका साथै आलु, दलहन र तेलहन बाली मलखादको अभावमा चौंपट हुने देखिएको छ । जय हो ! ‘देशका नेता एवम् किसानका छोराहरु ।’ सरकार सचेत भएको भए, जनमत पार्टीलाई आन्दोलित हुनु पर्दैन्थ्यो । सो पार्टीले दुई सातादेखि किसानसँग जोडिएका विभिन्न माग माग राखेर राजमार्ग अवरुद्ध गरिरहेका छन् । राजमार्ग केन्द्रित आन्दोलन मूठभेडको रुप अख्तियार गर्नेतर्फ अग्रसर भइरहेको देखिन्छ । जनमत पार्टीका कार्यकर्ता सडक अवरुद्ध गरेपछि सुरक्षाकर्मीले यातायात आवागमन सुचारु गर्न खोज्दा झड्पको घटना ठाउँ ठाउँमा भएका छन् । सो पार्टीका केही दर्जन कार्यकर्ताहरु घाइते हुनुका साथै पक्राउमा पनि परेका छन् । अहिलेसम्म चारवटा मालवाहक गाडीमा आगजनीका घटनाका र केही सवारी साधनमा तोडफोड पनि भएका छन् । जनमत पार्टीले सो आगजनीलगायतका घटनामा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको दावी गरेका छन् । सो पार्टीका कार्यकर्ताद्वारा तीन महिनाअघि जनकपुरका खानेपानी कार्यालयका निमित प्रमुखमाथिको दुव्र्यहारको घटना व्यापक रुपमा चर्चामा आएको थियो । अहिले किसानको मुद्धाले सो पार्टी पुनः चर्चामा आएका छन् ।

सडक आन्दोलन

नेपालमा प्रजातन्त्र स्थापनादेखि लिएर माओवादीको जनयुद्ध र मधेश आन्दोलनमा सडक आन्दोलनको महत्वपूर्ण भूमिका रह्यो । जनयुद्धको समयमा माओवादीहरुले बन्द हड्ताल गर्दा व्यापक रुपमा गाडीहरुमा आगजनी गर्थे । मधेश आन्दोलनमा पनि सो किसिमका आगजनीका घटना भयो । बन्दको अवहेलना गरेको भनेर सवारी साधनमा आगजनी गर्ने कार्यलाई बन्दकर्ताले नैसर्गिक अधिकार क्षेत्रभित्र परेको ठान्छन् । आगजनी र तोडफोडबाट हुने क्षतिको जिम्मेवारी कुनै पक्ष लिदैनन् र सरकारले पनि क्षतिपूर्ति नगर्दा त्यस्ता व्यक्तिको परिवार भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको देखिएको छ । धेरै कम समयमा सिके राउतको लोकप्रियता निश्चित रुपमा बढेको छ । यो लोकप्रियतालाई कायम राख्नका लागि शान्तिपूर्ण ढङ्गले आफ्ना साङ्गठनिक गतिविधि बढाउनु पर्छ । जनतालाई किसानको हितका लागि राखिएका मागप्रति सरकार उदासीन रहेको भनेर जनमत पार्टी सडक आन्दोलनमा उत्रिएको हो । यदि, यो आन्दोलन बढी हिंसक भए, पुनः मधेश आन्दोलित हुने हो वा, सरकारले दमन गरेर यो आन्दोलनलाई निस्तेज गर्नेछ भन्ने विषयको सम्बन्धमा दुवै पक्षको रणनीतिमाथि निर्भर गर्छ । कुनै पनि विवादको समाधान अन्ततः वार्ताद्वारा नै हुने भएकाले सरकारले जनमत पार्टीले राखेका मागको विषयमा वार्ता गरी समाधानको लागि अग्रसर हुनुपर्छ ।

जनमत पार्टीको नीति

२०६८ सालदेखि डा. राउतले आफ्नो संयोजकत्वमा गठित स्वतन्त्र मधेश गठबन्धनमार्फत ‘स्वतन्त्र मधेश’ अर्थात स्वराजको माग जोडतोडका साथ उठाएका थिए । संविधान जारी भएपछि पनि स्वराजको लागि डा. राउतले गोप्य ढङ्गले सङ्गठन विस्तारमा निरन्तर जुटेका थिए । मुलुकमा संविधान जारीपछि सरकारले डा. राउतको गतिविधिमाथि नजर राख्दै कडाइ गर्न थाले । सो समयमा डा. राउतका साथै कार्यकर्ताहरु पक्राउमा पर्ने रिहा हुने घटना पटक पटक भइरहन्थ्यो । स्वराजको मागको समयमा डा. राउतले गान्धीवादी नीति अपनाएका थिए । कार्यकर्ता पनि पूर्ण अनुशासित भएर सो नीतिको पालना गर्दथे । सो अवधिमा सिके राउतको कार्यकर्तामाथि प्रहरी आक्रामक हुँदा पनि प्रतिकार गर्दैन्थ्यो । ढुङ् गा प्रहारको कुरा धेरै टाढाको विषय थियो । यसरी, गतिविधिको सञ्चालनको व्यवस्था देखेर डा. राउत आलोचक पनि मुक्तकण्ठले प्रशंसा गर्थे । पूर्णतः अनुशासित ढङ्गमा आफ्ना नीति जनसमक्ष राख्दा सो गठबन्धनको छवि उचाइ लिएको थियो । अहिले पार्टीले गान्धीबादी व्यवहारमा परिवर्तन गरी आक्रमक शैलीमा पनि देखिन थालिएको विषयमा चर्चा परिचर्चा हुन थालेको छ । अधिकांश स्थानीय तहमा भ्रष्टाचारको व्यापक चर्चा छ । प्रदेश नं–२को सरकारका विभिन्न मन्त्रालयका साथै विकासे कार्यालयहरुमा अनियमितता र भ्रष्टाचारको विषयले व्यापक रुपमा चर्चामा छन् । भ्रष्टाचारको विरुद्धमा उत्रिएको दाबी गर्ने सो पार्टीलाई ठोस प्रमाणका साथ आवाज निरन्तर रुपमा उठाइरहेकामा जनमत पार्टीप्रति जनता आकर्षित हुनेछन् ।

सिके राउत राजनीतिको माहिर खेलाडी

जनमत पार्टीका नेता डा. सिके राउत बौंद्धिकवर्गको व्यक्ति हुनुहुन्छ । उहाँको बोल्ने शैली आकर्षक छ । मधेशको इतिहासको विषयमा राम्रो अध्ययन पनि छ । वैज्ञानिक भए पनि मधेशको विषयमा कुरा उठाउँदा जनताको मन छुइन्छ । उहाँको नेपाल आगमन र अहिलेसम्मको राजनीतिक यात्रालाई विश्लेषण गर्दा कहाँ के विषयको उठान गर्ने र कसरी राजनीतिमा आफ् नो बर्चस्व कायम गर्ने सम्बन्धमा दूरगामी सोच राखेर पूर्ण तयारीका साथ राजनीतिकको मैदानमा उत्रेको देखिन्छ । सन् २०११को अन्त्यतिर अमेरिकाबाट नेपाल फर्केपछि स्वतन्त्र मधेशको लागि सङ्गठन बनाउनतर्फ जुटनु भयो । मधेश आन्दोलनबाट स्थापित नेताहरुको मधेशमा बर्चश्व कायम थियो । संविधान निर्माणको समयमा मधेशमा सङ्घीय प्रदेशको क्षेत्रको सङ्ख्या, क्षेत्र निर्धारण र अधिकारलगायत पार्टीका मागलाई संविधानमा समेटिनुपर्ने भनेर मधेशमा आन्दोलन चरम अवस्थामा पुगेको थियो । उतिखेर, डा. राउतले एक कदम अझैं अगाडि बढ्दै स्वतन्त्र मधेशको माग अघि सारे । त्यो माग विद्युतीय गतिमा प्रवाह भयो । नेपालको राजनीतिमा तरङ्ग ल्यायो । सो मागबाट नेपालमा उहाँ चर्चित हुनुभयो । संविधान जारी भएको करिव तीन बर्षपछि २०७५ साल फागुन २४ सरकारसँग सम्झौंता ग¥यो । तत्कालीन प्रधानमन्त्री केपि ओली र प्रचण्डको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका संयोजक चन्द्रकान्त (सिके) राउतबीच ११ बुँदे सम्झौंता भयो । त्यसपछि, सार्वजनिक रुपमा आफ्नो साङ्गठनिक कार्य गर्दै २०७५ सालको चैत ४ गते सिरहाको लहानमा जनमत पार्टीको घोषणा भयो । २०७६ साल जेठ ६ गते निर्वाचन आयोगद्वारा सो दलको मान्यता प्रदान गरियो ।

प्रभाषचन्द्र झा
(वरिष्ठ पत्रकार)

https://www.youtube.com/watch?v=OlGYOveCUWk&t=39s

Comment


Related News

Latest News

Trending News