गौर । रौतहट जिल्लाको इशनाथ नगरपालिका–२ औरैयाको नेपाल भारत सीमानामा रहेको मनमोहन द्वार नजिकबाट सशस्त्र प्रहरीको टोलीले साढे १४ लाख नेपाली रुपैयां सहित एक जना भारतीय नागरिकलाइ पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहट र २ नम्बर बाहिनीबाट खटेको टोलीले भारतबाट नेपालमा अवैध रुपमा लुकाएर ल्याउंदै गरेको स्रोत नखुलेको रकम सहित उनलाई पक्राउ गरिएको हो । बी आर ०५ एजी ८०५६ नम्बरको अपाची मोटर साइकलको गाडी तथा शरीरमा लुकाएर ल्याउंदै गरेको अवस्थामा भारत बिहार पूर्वी चम्पारण जिल्लाको तेल्हारा कला– ७ का ३९ वर्षीय संजय कुमार जयसवाललाई १४ लाख ५० हजार नेपाली नोट सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल ११ नम्बर गण रौतहटले जनाएको छ । पक्राउ परेको रकम , व्यक्ति तथा मोटर साइकललाई कानुनी कारवाहीको लागि जिल्ला भन्सार कार्यालयमा पठाईएको छ । रौतहटको इशनाथ नगरपालिका अन्तर्गतको महुलिया , बन्जरहा , मठिया , औरैया नाका नक्कली नोट , हुण्डी कारोवारको केन्द्र बन्दै गएको छ । सो नाकाबाट महिने पिच्छे रकम सहित भारतीय नागरिकहरु पक्राउ पर्दै आएका छन् । यस अघि पुस १ गते नेपाल प्रहरीले परोहा नगरपालिकाको नरकटियाबाट ६९ हजार ५ सय नक्कली नेपाली नोट सहित भारत बिहारको मोतिहारी जिल्ला कबैयाका २६ वर्षीय विकास जयसवाल , ३२ वर्षीय अजय जयसवाल र पुस २ गते स्रोत नखुलेको ४ लाख ५० हजार रुपैयां सहित भारत बिहार बैरगनियाका १९ वर्षीय विकास कुमार जयसवाललाई पक्राउ गरेको थियो ।
https://www.youtube.com/watch?v=OlGYOveCUWk&t=11s


