अपडेट 
२०७८ पुष २७, मंगलवार ०६:४८

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विचाराधीन प्रदेश सहकारी विधेयक छिट्टै पारित हुने विश्वास व्यक्त गरेका छन् ।

जनकपुरधाममा सोमबार आयोजित राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभाको उदघाटन गर्दै मुख्यमन्त्री राउतले सहकारी ऐन बनाउने विधेयक प्रदेशसभाभित्र पारित हुने अन्तिम चरणमा रहेको उल्लेख गरे । सहकारी ऐन छिटो भन्दा छिटो पारित गर्ने विषयमा छलफल भइरहेको बताउंदै उनले भने,‘हामीलाई विधेयक ल्याउन विलम्ब भएको छ, त्यसमा मलाई पनि दुःख लागेको छ तर अब छिट्टै पारित हुन्छ ।’ सहकारी विधेयक ऐनमा समेट्नुपर्ने विषयवस्तु र सुधारका कार्यक्रमबारे सहकारीका विज्ञहरूसँग सरसल्लाह गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । सहकारी विधेयक पारित भएपछि सहकारी ऐनका रूपमा त्यसलाई मूर्त रूप दिने र सामाजिक विकासका लागि प्रदेश सरकारले आगामी दिनमा सहकारी संस्थासंग सहकार्य गर्ने समेत उनले जानकारी दिए । प्रदेश सरकारले ल्याउन लागेको सहकारी ऐन प्रदेशका सहकारी संस्थाहरूको सुधारका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले सहकारीहरूलाई सबल बनाउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सरकार र स्थानीय तह समेतले केही पूँजीहरू सहकारीहरूसँग समन्वय र सहकार्य गरी अगाडि बढाउन सकिए थुप्रै जनतालाई लाभान्वित गर्न सकिने विश्वास पनि उनले व्यक्त गरे । सो अवसरमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले विगत केही वर्षदेखि महामारीका रूपमा फैलिएको कोरोना संक्रमणका कारण सहकारी संस्थाहरू धराशयी बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । प्रदेशस्तरीय उत्कृष्ट सहकारी पुरस्कारबाट राजविराजस्थित आइडिएल सहकारी संस्था र सर्लाहीको हरिवन स्थित हाम्रो कृषि सहकारी संस्थालाई पुरस्कृत गरिएको छ ।

Comment


Related News

Latest News

Trending News