२०७८ पुष २७, मंगलवार ०७:०६

राजविराज । मुलुकमा ऐतिहासिक परिवर्तन आएपनि संचारकर्मीहरुको अवस्था दयनीय नै रहेको भन्दै सोमबार राजविराजमा आयोजित एक कार्यक्रमका सहभागीहरुले गुनासो पोखेका छन् ।

स्व. पत्रकार लोकेन्द्र कुमार बुढाथोकीको स्मृतिमा नेपाल पत्रकार महासंघ सप्तरीद्वारा आयोजित २८ औं लोकेन्द्र स्मृति दिवस कार्यक्रमका वक्ताहरुले सो गुनासो पोखे । कार्यक्रममा प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले मुलुकमा अधिकार प्राप्तिकालागि भएको विभिन्न आन्दोलनमा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउँदै अहिले पनि प्रेसको अवस्था दयनीय नै रहेको भन्दै चिन्ता व्यक्त गरे । पत्रकारहरुले आर्थिक समस्या भोग्दै आए पनि जनतालाई सूचना सम्प्रेषण गर्ने कामलाई भने निरन्तरता दिएको भन्दै उनले प्रेस जगतको समस्या समाधानमा आफू सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । संचारक्षेत्रको उत्थानका लागि प्रदेश २ को मिडिया काउन्सिल र आम संचार प्राधिकरणका अध्यक्षलाई योजना बनाएर ल्याउन आग्रह गर्दै प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका मन्त्री साहले योजनामा बजेटको कमी हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे । महासंघ सप्तरीद्वारा स्थापित पुरस्कारको राशीको रकम वृद्धिका लागि पाँच÷छ लाख सम्मको अक्षयकोषको स्थापनामा आफूले सहयोग गर्ने बताए । आगामी माघ ५ गते प्रदेश सरकारद्वारा यस पटक सप्तरीमा मनाइने बलिदानी दिवसमा मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका परिवारजनलाई तीन लाखका दरले आर्थिक सहयोग गरिने जानकारी उनले दिए । उनले घाइते भएकाहरुलाई समेत अवस्था र आवश्यकता अनुसार २५ हजारदेखि १ लाख ५० हजारसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको जनाए । सोही कार्यक्रममा प्रदेश २ मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई र आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले संचारकर्मीहरुको समस्या समाधानका लागि केही दिनभित्रै कार्यक्रम ल्याउने जानकारी दिँदै पत्रकारहरुलाई प्रदेशबाटै परिचयपत्र उपलब्ध गराइ सोही आधारमा स्वास्थ्य बीमा समेतको व्यवस्था गर्न लागिएको बताए ।

कार्यक्रममा वातावरण पत्रिकाका सम्पादक बैद्यनाथ झाद्वारा स्थापित वातावरण पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार महेन्द्र सदालाई सम्मानित गरिएको थियो । पत्रकार महासंघ सप्तरीका सभापति श्रवण देवको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, प्रेस काउन्सिलका पूर्व सदस्य अनिल कुमार अनल, प्रदेश २ पत्रकार महासंघका सचिव भोला पासवान, महासंघका पूर्व सभापति मुरलीप्रसाद यादव, विष्णु मण्डल, धीरेन्द्र प्रसाद साह लगायतले आ– आफ्नो धारणा राखेका थिए । सो कार्यक्रममा बोल्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लाका सरकारी कार्यालयहरुमा कर्मचारीको पदपूर्ति नहुँदा काम गर्न समस्या भएको गुनासो पोखे । उनले जिल्लाका अधिकांश सरकारी कार्यालयहरुमा कर्मचारीको चरम अभाव रहेको बताए । कार्यक्रममा उपस्थित प्रदेश २ का अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई आफूहरुको समस्या समाधानकालागि पहल गरिदिन आग्रह गर्दै उनले संचारकर्मीहरुले पनि प्रमुखताका साथ सम्प्रेषण र प्रशारण गरिदिन गौतमले आग्रह गरे । “एकातिर सरकारी कार्यालयमा काम नभएको भनी गुनासो आउने गर्दछ, उनले भने, कर्मचारी नै नभएपछि सेवाग्राहीको काम समयमै कसरी सम्भव होला र ।” सेवाग्राहीको गुनासो आएपछि आफूहरुले विभिन्न सरकारी कार्यालयमा छड्के गर्दा कर्मचारीको पदपूर्ति नभएका कारण कार्यालय नै समस्यामा रहेको अवस्था ज्ञात भएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News