राजविराज । सप्तरी जिल्लाको एउटा इटाभठ्ठामा इटाको चांग लगाउने क्रममा भत्केको पर्खालले च्यापिएर एक महिला कामदारको मृत्यु भएको छ भने दुइ जना गंभीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सोमबार रुपनी गाउंपालिका–६ तेरहौतामा रहेको बिशाल इटा उद्योगमा इटाको चांग लगाउने क्रममा सो दुर्घटना भएको हो । दुर्घटनामा परी सोही ठाउँकी ५० वर्षीया जतरीदेवी सरदारको मृत्यु भएको छ । गंभीर घाइते भएकी सरदारलाई उपचारका लागि राजविराजको छिन्नमस्ता अस्पतालमा पु¥याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उक्त घटनामा सोही इटा भठ्ठामा कामदार रहेका सप्तरीको अग्निसाईर कृष्णासवरण गाउंपालिका–४ का ५० वर्षीय मंगल सदा र भारत उत्तरप्रदेश रायबरेलीका ४० वर्षीय रमेश कुमार लाउदी गंभीर घाइते भएका छन् । दुबै जनाको छिन्नमस्ता अस्पतालमै उपचार भइरहेको तथा घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


