अपडेट 
२०७८ पुष २९, बिहीबार ०५:४६

ध्रुबकुमार झा

जनकपुरधाम । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको कार्यालयमा धान बेच्ने किसानहरुको भीड लाग्न थालेको छ ।

सरकाररले धानको खरिद मूल्य निर्धारण गरी मंगलबारदेखि धान किन्न टोकन वितरण गर्ने भएपछि धान बेच्ने किसानहरुको भीड बढेर गएको हो । कार्यालय प्रमुख उपेन्द्र लिम्बुका अनुसार चालु आर्थिक वर्ष २०७८÷०७९मा कम्पनीले १५ हजार क्वीन्टल धान मात्रै किन्ने भएको छ । गत आर्थिक वर्ष २०७७÷०७८ मा १६ हजार क्वीन्टल धान किनेको थियो । निजी स्तरको उद्योगमा धान बेच्दा प्रति क्वीन्टल बाइस सयदेखि चौबीस सयको हाराहारीमा धानको मूल्य पाउने धान कम्पनीले दुइ हजार नौ सय प्रति क्वीन्टलको दरले मूल्य निर्धारण गरेको छ । कम्पनी र निजी धानको मूल्यमा धेरै नै फरक पर्ने भएकोले र कम्पनीले सीमित धान मात्रै किन्ने जानकारी भएपछि टोकन लिने किसानहरुबीच तछाड मछाड भएको छ । कम्पनीले यस वर्षप्रति किसानको बढीमा ४० क्वीन्टलको दरले किन्ने भएपछि धनुषाको तीन सय ५० जना किसानले मात्रै कम्पनीलाई धान बेच्न सक्ने भएकोले टोकन लिनका किसानहरुको भीड बढ्दै गएको छ । भीड नियन्त्रण गर्न कार्यालय व्यवस्थापनलाई हम्मे हम्मे परेको प्रमुख लिम्बुले बताए ।कार्यालयले प्रहरी कार्यालयसंग सुरक्षाको लागि आग्रह गर्दा प्रहरी पठाउन ढिलो भएकोले करिब एक घण्टासम्म कार्यालय परिसर अस्त व्यस्त बनेको थियो ।

कोरोना संक्रमणमा पालना गर्नु पर्ने सामान्य नियमहरुलाई समेत ताकमा राखेर किसानहरुले छिटो भन्दा छिटो टोकन लिने प्रयासमा भीड अनियन्त्रित भइ होहल्ला समेत भएको थियो । यसरी निजीस्तरका उद्योगी, व्यापारीभन्दा बढी मूल्यमा कम्पनीले धान खरिद गर्न थाले पनि थोरै धान किन्ने भएको हुँदा किसानहरु बीच धान बेच्न असामान्य स्थिति आएको हो । बुधबारसम्ममा जिल्लाका दुइ सय किसानहरुले टोकन लिइ सकेको कार्यालय प्रमुख लिम्बुले बताए । यस पटक सरकारले किसानबाट धान खरिद गर्ने मूल्यमा निजी स्तरका उद्योगी व्यापारीभन्दा बढी राखेकोले किसानले केही भए पनि राहत पाएको लक्ष्मीनियाँका किसान लक्ष्मेश्वर यादवले बताए । व्यापारीको धानमा मिसावट हुने गरेको तथा किसानको धानमा मिसावट नभएको पाइएकाले कार्यालयले किसानको धान मात्र प्रत्येक वर्ष खरिद गर्दै आएको छ । तीन सय ५० बाहेकका किसानहरुको लागि यस वर्ष पनि कुनै व्यवस्था गर्न नसकिने कार्यालयले जनाएको छ । गोदामको अभाव ,व्यवस्थापन गर्न नसकिने भएकोले कार्यालयले लक्ष्य अनुसारको धान मात्रै खरिद गर्ने गरेको छ ।

Comment


Related News

Latest News

Trending News