कलैया । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा सबै दललाई पछि पार्दै मधेशी जनताले एमालेलाई बहुमत प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
एमाले बाराको दशौं जिल्ला अघिवेशनको बुधबार उद्घाटन गर्दै पोखरेलले जनताले सबैभन्दा बढी एमालेलाई रुचाएकै कारण अहिले एमाले विरुद्ध गठबन्धन भएको दाबी समेत गरे । महासचिव पोखरेलले विगतका सरकारले मधेसको लाइफलाइनको रूपमा रहेको हुलाकी सडकलाई ठेक्का लगाएर काम गर्न नसकेपछि एमालेको सरकारले पूरा गरेको बताउंदै विभिन्न अवसरवादीका कारण नेकपा एकता टुटेको उल्लेख गरे । निर्वाचनमा नेकपा एमाले नै देशको पहिलो शक्तिको रूपमा स्थापित हुने उनले दाबी गरे । नेकपा एमालेका बारा जिल्ला अध्यक्ष देवनारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं पोलिटब्युरो सदस्य पुर्षोत्तम पौडेल, अच्युत मैनाली, प्रभु साह, ज्वाला साह लगायतले आ–आफ् नो धारणा राखेका थिए ।


