काठमाण्डु । राष्ट्रिय एकता अभियानले चिनियाँ हस्तक्षेप विरूद्ध काठमाण्डुमा प्रदर्शन गरेको छ ।
माइतीघरमा भएको प्रदर्शनको क्रममा नेपालका लागि चिनियाँ राजदूत विरूद्ध चर्को नाराबाजी गरिएको छ । अभियानका अभियन्ताहरुले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सूचारु गर लागयतका नारा लगाएका थिए । सोही क्रममा उनीहरूले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको पुतला दहन समेत गरेका थिए । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अभियन्ताहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शन पनि गरेका हुन् । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा प्रदर्शन सहित राजदूत यान्छीको पुतला दहन गरिएको हो । पछिल्लो समयमा नेपालमा चिनियाँ हस्तक्षेप बढेको महशुस हुन थालेको छ । चिनियाँ राजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेँटघाटले चिनियाँ प्रभाव परेको सजिलै बुझ्न सकिने परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुको भनाइ छ ।

