२०७८ माघ १, शनिबार ०६:१४

जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधाम सहित प्रदेश २ का आठ वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ । किसानहरुको लागि समयमै बीउ विजन उपलब्ध गराउनु पर्ने,मलखाद सहज रुपमा उपलब्ध गराउनु पर्ने,सिंचाइको व्यवस्थापन गर्नु पर्ने सहितका विभिन्न माग अघि सारेर जनमतले जुलुश प्रदर्शन गरेको हो । हातमा उखुँ,हलो तथा झाडु लगायतको सामाग्री बोकेर गाउँ–गाउँबाट ट्रयाक्टरमा चढेर जनकपुरधाम आएका जनमतका कार्यकर्ताहरुको जुलुश प्रदर्शन गर्दै राज्य विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । प्रदर्शनकै कारण शुक्रबार दिउंसो ३ बजेदेखि ५ बजे सम्म जनकपुरधामको भानु चोक जनक चोक सडक खण्ड अवरुद्ध बनेको थियो । नगरको विभिन्न भागको परिक्रमा गर्दै जुलुश जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभामा बोल्दै नेताहरुले वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेकोले किसानको समस्या समाधानको लागि सडक आन्दोलन मात्रै एक अन्तिम विकल्प रहेको बताए ।

रौतहट

जनमत पार्टीको आयोजनामा रौतहट जिल्लामा किसानहरुले वृहत जुलुश प्रदर्शन गरेको छ । विभिन्न ११ सुत्रीय माग राख्दै जनमत पार्टीले किसानको हकहितको लागि १ महिना देखि गर्दै आएको सरकार विरुद्धको आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार जिल्लाको सदरमुकाम गौरमा जुलुश प्रदर्शन गरेको हो । मलखादको तथा बीउ विजनको अभावमा पिल्सिदै आएका किसानहरुले संघीय सरकार र प्रदेश सरकारको विरुद्ध शक्ति प्रदर्शन गरेको जनमतका कार्यकर्ताहरुले बताएका छन् । गाउं गाउंबाट हलो , कोदालो , टायरगाडा सहित सडकमा उत्रेका सयौंको संख्यामा रहेका किसानहरु कृषि मन्त्रीको राजीनामा माग गर्दै किसानको माग छिटै सम्वोधन नभए आन्दोलनलाई अझै चर्काउंदै लग्ने चेतावनी समेत दिइएको छ । शुक्रबार जिल्ला सदरमुकाम गौरको विभिन्न भागको परिक्रमा गर्दै सो विरोध जुलुश मधेश क्रान्ति चोकमा कोणसभामा परिणत भएको थियो । सभामा जनमतका केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित कुमार मल्लिक शानु ले किसानको समस्या सम्वोधन नगरे सम्म संघीय सरकारका कुनै पनि मन्त्रीको कार्यक्रम मधेशमा हुन् नदिने चेतावनी दिए । बेमौसमी वर्षा तथा वर्षेनी रुपमा आउने बाढीको कारण किसानहरुको बालि नाली क्षति हुने गरेकोले त्यसको बीमा तथा छिट्टै क्षतिपूर्ति दिन सरकार संग माग गरे । उनले भने,‘ किसानको मिहनेतबाट उब्जिएका धानबालीको चामल खाने मन्त्रीहरु महिना दिन देखि सडकमा संघर्ष गर्दै आएका किसानहरुलाई वेवास्ता गरेको छ,कृषि प्रधान देश भनिएको नेपालको लागि यो लाजमर्दो कुरो हो । ’

सप्तरी

किसानको समस्या समाधानको माग गर्दे महिनादिन यतादेखि आन्दोलित बनेको सीके राउत नेतृत्वको जनमतले शुक्रबार राजविराजमा विरोध ¥यालीको आयोजना गरेको छ । गाउं–गाउंबाट हलो, कोदालो, मलको खाली बोरा, कृषि सम्बन्धी घरेलु सामग्रीसहित सयौंको संख्यामा आएका पार्टीका कार्यकर्ता तथा किसानहरुको सहभागितामा ¥यालीको आयोजना गरिएको थियो । राजविराजमा रहेको राजरंगशालामा जम्मा भएका ¥यालीका सहभागीहरुले विभिन्न नारा लगाउँदै नगर परिक्रमा गरेका थिए । नगरको विभिन्न भागको परिक्रमा पछि गजेन्द्र चोकमा पुगेर ¥याली कोणसभामा परिणत भएको थियो ।सभालाई जनमत पार्टीका केन्द्रीय उप–महासचिव इन्द्रजीत यादव, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव, केन्द्रीय सदस्य सुरेन्द्र मधेशी, जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर साह लगायतले किसानहरुको माग पुरा नगरिए आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिए । उनीहरुले जनमतका कार्यकर्तालाई झुठा मुद्दा लगाएर कारवाही चलाएको भन्दै त्यस्तो मुद्दा अविलम्ब फिर्ता लिन माग अघि सारेका छन् । किसानलाई परिचयपत्र बनाई पेन्सनको व्यवस्था, बालिनाली बीमाको सुनिश्चितता, समयमै मलखाद, बीउ विजनको व्यवस्था सहितको समस्याको समाधान गर्न उच्चस्तरिय समितिको गठन, प्रहरीले पक्राउ गरेका आन्दोलनकारीहरुको रिहाई लगायतका माग समेत ¥यालीमा सहभागीहरुले गरेका थिए । यस अघि पार्टीका नेताहरुले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई किसानहरुसँग सम्बन्धित माग पूरा गराउन ज्ञापनपत्र समेत बुझाएका छन् । किसानहरुको मागको सम्बोधनमा राज्यले आलटाल गरे आन्दोलनको आँधी बहेरी ल्याउने चेतावनी समेत ज्ञापनपत्र मार्फत दिइएको छ ।

सर्लाही

सिके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीले किसानका ११ बुँदे माग सहित सर्लाहीको सदरमुकाम मलंगवामा विशाल जनसभा तथा जुलुस प्रदर्शन गरेको छ । जिल्लाका २० वटा गाउंपालिकाबाट हजारौंको संख्यामा आएका किसानहरुले मलंगवा बजारमा बाजागाजा र झाँकी सहित जुलुस प्रदर्शन गरेका हुन् । जनमत पार्टी सर्लाहीका जिल्ला अध्यक्ष जवाहर यादवले नेतृत्व गरेको जनसभा मार्फत किसानहरुको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन, समयमा मलखाद र बीउको व्यवस्था ,सिंचाइको व्यवस्था , नसके सिंचाइ बिजुली निःशुल्क ,हावाहुरी र वर्षाले क्षति भएका बालीनालीको क्षतिपूर्ति ,बालीको उचित समर्थन मूल्य निर्धारण ,उखु किसानको भुक्तानी,किसान कार्डको व्यवस्था गरि किसान कार्ड देखाएर सीमानाका बजारबाट सामान ल्याउन पाउने व्यवस्था ,किसानलाई पनि पेन्सनको व्यवस्था ,बालीनालीको बीमा ,किसानमाथि हुने दमन बन्द गर्नु पर्ने,उनीहरू उपर लगाइएका झुठा मुद्दा खारेज गरी पक्राउ गरिएका आन्दोलनकारीलाई तत्काल रिहा गर्नु पर्ने लगायतका मागहरु अघि सारिएको छ । मागहरु पूरा गर्नु पर्ने माग गर्दै जुलुश अघि जिल्ला प्रशासन कार्यालय सर्लाहीको घेराउ गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र समेत जनमतका कार्यकर्ताहरुले बुझाएका छन् । केन्द्रको निर्देशन अनुसार यसपछिको कार्यक्रम तथा आन्दोलन स्वरूप परिवर्तन गरी थप कार्यक्रमहरु घोषणा गरिने पार्टीका सर्लाही जिल्ला अध्यक्ष यादवले जानकारी दिए । किसान आम्दोलन अहिले २२ वटा जिल्लाहरुमा निरन्तर जारी रहेको जनाइएको छ ।

https://www.youtube.com/watch?v=m–DsUZgLFg

Comment


Related News