गरुडा । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले गृह जिल्ला रौतहटमा चिसोबाट प्रभावित सयौं गरिब तथा अति विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरेका छन ।
चिसो बढेर जनजीवन कष्टकर बनेपछि चिसोबाट प्रभावित बनेका गरिव तथा विपन्न परिवारलाई जोगाउन राज्य मन्त्री यादवले शुक्रबार एक कार्यक्रमको आयोजना गरी न्यानो कम्बल वितरण गरेका हुन । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य, समाजवादी युवा संघका केन्द्रीय अध्यक्ष एवं प्रदेश सांसद समेत रहेका राज्य मन्त्री यादवले रौतहटको यमुनामाई गाउंपालिका–१ सुकदेव चोक र माधवनारायण नगरपालिका– ५ मिठुअवामा सयौं गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेका छन् । न्यानो कपडाको अभावमा चिसोले कठाङ्ग्रिएर बसिरहेका विपन्न, दलित, अशक्त, ज्येष्ठ नागरिकको घरमै पुगेर कृषि मन्त्री योगेन्द्र यादवले कम्बल वितरण गरेपछि उनीहरुमा खुशी छाएको छ । चिसोमा न्यानो कपडाको अभावमा सबभन्दा बढी रौतहटका दलित समुदायका परिवार बढी समस्यामा पर्ने गरेका छन् । त्यसैले खासगरी दलित समुदायका परिवारलाई नै खोजी खोजी न्यानो कपडा उपलब्ध गराउने अभियान शुक्रबारदेखि सञ्चालन गरेको जनाइएको छ । चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यका साथ विपन्न परिवारको तथ्याङ्क संकलन गरेर न्यानो कपडा वितरण कार्यलाई निरन्तरता दिइने समेत बताइएको छ ।



