गौर । गौर नगरपनलिकाको नवौं नगर अधिवेशन सम्पन्न भएको छ ।
शिक्षा , स्वास्थ्य , पर्यटन पूर्वाधार र व्यापार , सुन्दर समृद्ध तथा समुन्नत गौर मूल अवधारणाका साथ विहीबार अधिवेशन सम्पन्न भएको हो । पुस मसान्त सम्ममा हिउँदे अधिबेशन गर्नु पर्ने रहेको कानूनी प्रावधान अनुसार नगरपालिकाले समयमै अधिवेशन सम्पन्न गरेको हो । नगर सभामा सहभागी नगर सभासदहरुले निर्वाचित भएको साढे ४ वर्षमा गौर राइस मिलको जग्गा सार्वजनिक गराउने भनी गरिएको प्रतिवद्धता अझै पूरा हुन नसकेको जिकिर गरे । निर्वाचनको बेला गरेको प्रतिवद्धता मध्ये अधिकांश पूरा भए पनि राइस मिलको जग्गा अधिग्रहण गर्न कानूनी जटिलता र भू–माफियाको चलखेलले गर्दा काम अलपत्र परेको प्रति आक्रोश समेत व्यक्त गरिएको छ । उनीहरुले शिक्षा , स्वास्थ्य , पूर्वाधारको विकासमा नगरपालिका अगाडि रहेको उल्लेख गर्दै कोभिड १९ को विरुद्ध को खोप संचालनमा ७३ प्रतिशतले प्रदेश कै पहिलो नगरपालिका भएकोले गौरवको विषय भएको बताए । विद्युतीय माध्यमबाट जुन सुकै ठाउँबाट कर तिर्न सकिने प्रविधि ल्याएको नगरपालिकाले सामाजिक विकासको क्षेत्रमा पनि उल्लेखनीय कार्य गरेको दाबी गरे । संघीय सरकार र प्रदेश सरकार तथा स्थानीय सरकारले गौर राइस मिलको जग्गा अधिग्रहण गर्न बजेट विनियोजन गरे पनि कानूनी अवरोधले हुन् नसके पनि जग्गा बिक्री गर्ने साँेचमा रहेका भू–माफियाको सपना पूरा हुन नदिएको बताए ।
नगरपालिकाका मेयर अजय गुप्ताद्वारा न्युक्ति गरिएका नगर प्रहरी , दमकल प्रहरी लगायतका कर्मचारीलाइ स्थायी गर्न नसकेकोमा दुःख व्यक्त गर्दै बाँकी रहेका कामहरु छिट्टै गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । नगर अधिबेशनमा नगर उप–प्रमुख किरण कुमारी ठाकुर , निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर लगायत निर्वाचित नगर सभा सदस्यहरुको सहभागिता रहेको थियो ।

