२०७८ माघ २, आईतवार ०६:०९

उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कमला नदीको पवित्र त्रिवेणी धाममा शनिवार बिहान माघे सङ् क्रान्तिको अवसरमा पाँच हजारभन्दा बढी भक्तजनले मकर नुहाएर पूजा–आराधना गरे ।

कोभिड पुनः तीव्ररूपमा फैलन थालेको भन्दै कटारी नगरपालिका र स्थानीय प्रशासनले त्रिवेणी मेला आयोजनामा रोक लगाए पनि मकर नुहाउन तथा पूजा गर्नका लागि शनिवार बिहान ४ बजेदेखि नै छिमेकी जिल्ला सिरहा, धनुषा तथा सिन्धुली र उदयपुरका भक्तजन भेला भएका स्थानीय समाजसेवी केदार धमलालले बताउनुभयो । बिहानदेखि १० बजेसम्ममा पाँच हजारभन्दा बढी भक्तजन त्रिवेणीमा नुहाएर पूजाशनिवारा गरेको उहाँको भनाइ थियो । सबैभन्दा धेरै भक्तजन सिरहा र सिन्धुलीबाट आएको कटारी अर्का स्थानीयवासी विष्णुप्रसाद दाहालको भनाइ थियो । दिउसो पनि त्रिवेणी नदी किनारमा ठूलो सङ्ख्यामा भक्तजन आउनेक्रम जारी रहेको छ । देशभर कोरोना तीव्ररूपमा फैलिन थालेपछि त्रिवेणीमा प्रत्येक वर्ष लाग्दै आएको १५ दिने मेला यसपटक सञ्चालन नगरिएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार त्रिवेणीमा दर्शन गर्न र मकर नुहाउन भक्तजन आउने गरेका कारण सामाजिक दूरी कायम गर्दै पूजा आराधना गर्न सुझाव दिइएको थियो । प्रदेश नं १ कै महत्वपूर्ण धामका रूपमा यस धामलाई लिइन्छ ।

विगतका प्रत्येक वर्ष माघे सङ्क्रान्तिका समयमा यो धाममा छिमेकी जिल्ला सिरहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट, पर्सा र बारासहित सिन्धुली, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गासहित सुनसरी, मोरङ र झापाबाट समेत ठूलो सङ्ख्यामा भक्तजन मकर नुहाउन आउने गरेको स्थानीय बृद्ध पुण्यप्रसाद ढुङ्गानाले बताउनुभयो । यसैगरी छिमेकी देश भारतको विहार, जयनगर दरभङ्गा र पश्चिम बङ्गालको दार्जिलिङ, कालिम्पोङ, खरसानसहित स्थानबाट पनि थुप्रै भक्तजन त्रिवेणीमा आउने गरेका थिए । माघे सङ्क्रान्तिमा मात्र नभई माघ महिनाभर नै देशरभरिका भक्तजन त्रिवेणी आउने गरेको नगर उपप्रमुख भीमकुमारी राउतले जानकारी दिनुभयो । कमला नदी र तावा खोलाको सङ्गमस्थलका रूपमा रहेको त्रिवेणी धामको पानीले नुहाउँदा शरीरमा रहेको विभिन्न चर्मरोग निको हुने र पूजा तथा आरधना गर्दा चिताएको पुग्नेसमेत जनविश्वास रहिआएको कटारी बजारका अर्का बृद्ध दुर्गाबहादुर श्रेष्ठले उल्लेख गर्नुभयो। त्रिवेणीधाममा कमलेश्वर महादेव, शिद्धिगणेश र महालक्ष्मीलगायत अन्य देवी–देवताका मन्दिर छ । बाजेबाबुका पालादेखि त्रिवेणी धाममा मकर नुहाएर पूजापाठ गर्ने परम्परागत प्रचलनका कारण प्रत्येक वर्ष माघे सङ्क्रान्तिमा यस क्षेत्रका बासिन्दाले मेला भर्ने गरेको रिस्कुकाका दानबहादुर दनुवारको भनाइ थियो । यसपटक त्रिवेणी मेला आयोजना नभए पनि माघे सङ् क्रान्तिको बिहानैदेखि मकर नुहाउनेको घुइँचो थियो ।

सुनसान बन्यो देवघाट

चितवन । विगतका वर्षहरूमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो । स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको छ । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष स्थानीय शिव पौडेलले देवघाट क्षेत्र सुनसान रहेको बताउनुभयो । कल्पवासी र स्थानीयबाहेक अन्य नदीमा स्नान गर्न गएका छैनन् । पौडेलले अहिलेसम्मकै सबैभन्दा सुनसान भएको बताउनुभयो । गत वर्ष कोभिड भए पनि केहीले स्नान गर्न पाएको भन्दै उहाँले यस वर्ष प्रशासनले देवघाट क्षेत्र शिल गरेकोमा आपत्ति व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सामाजिक दूरी कायम गरेर स्नान गर्न दिनुपथ्र्यो ।” बाहिरी जिल्लाबाट आएका भक्तजन रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले केही भक्तजन रोकिनुपरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले कोभिडका कारणले देवघाट मेला रोक्न बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “रोग फैलिन नदिन देवघाट छिर्नमा रोक लगाइएको हो ।” स्थानीय प्रशासनले विहानबाट हिड्न दिएपछि भने केही भक्तजन सो क्षेत्रमा पुगेका छन् । यद्यपि विगत वर्षको तुलनामा भने यहाँ भक्तजन निकै न्यून देखिएका छन् । देवघाट मेला भर्न झण्डै पाँचलाख भक्तजन आउने अपेक्षा गरिएको थियो । मेलाको औपचारिकरुपमा शुक्रबार बिहान बेनीमा लिङ् गो गाढेर शुभारम्भ गरिएको थियो । गएका वर्षहरूमा भक्तजनको ठूलो सङ्ख्या हुँदा व्यवस्थापनमा निकै कठिन हुने गरेको थियो । सङ्क्रान्तिको अघिल्लो रात शुक्रबार धाममा भक्तजन दीपप्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने भएको भए पनि कोरोनाका कारण यस वर्ष ती सबै कार्यक्रम स्थगन भएको छ । शास्त्रानुसार सौरमासको हिसाबले माघेसङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो ।रासस

Comment


Related News