प्रदेश २ को नाम र राजधानीका लागि प्रदेश सभामा फेरि मतदान हुने भएकोछ । प्रदेश सभाको विशेष समितिले तयार पारेको प्रतिवेदन आइतवार प्रदेश सभामा पेश भएपछि नाम र राजधानी दुवैको निर्णय मतदानबाट नै हुने देखिएको छ ।
सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले १५ दिन सम्म गरेको प्रयास सफल नभएपछि दलहरुको अडान सहितको प्रतिवेदन सभामा पेश भएको छ । प्रदेश सभामा पेश भएका प्रस्तावहरु उपर छलफल सुरु भएको छ । प्रदेश सभाको सोमवार बस्ने बैठकका लागि छलफललाई निरन्तरता र त्यसपछि मतदान हुने कार्यसूची बनाइएको छ । सभासदहरु आ–आफ्नो प्रस्तावको पक्षमा दृढता व्यक्त गरे पनि अन्तिममा राजधानी र नामकरणका प्रस्ताव पारित गर्ने संकेत गरेका छन् । विशेष समितिले तयार पारेको ६ बुदँे प्रतिवेदनमा गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, स्रोत साधन, मतदान सामग्री र सुरक्षाको प्रबन्ध लगायत व्यवस्थापन मिलाउनुका साथै मतदान प्रक्रिया प्रदेशसभाको सभाकक्ष सित जोडिएको कक्षमा गर्न उल्लेख छ ।
समितिले राजधानीका लागि ३ र नामकरणका लागि ४ वटा प्रस्ताव राखेर बाँकी प्रस्ताव खारेज गरेको छ । प्रदेश सभामा मतदानका लागि पहिले राजधानी सम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ ।पहिलमतदान हुने प्रस्ताव दुई तिहाई बहुमतले पारित भए अर्को प्रस्ताव मतदानका लागि प्रस्तुत नगर्ने विशेष समितिमा सहमति भइसकेको छ । जनकपुरधाम सहित धनुषा र महोत्तरीको भूभागलाई समेटिएको प्रस्ताव माथि पहिले मतदान हुने प्रदेश सभाका सचिव रञ्जितकुमार यादवले जनाए । राजधानीका लागि जनकपुरधाम (उत्तरमा पूर्वपश्चिम राजमार्गको ढल्केवर, पूर्वमा कमला नदी, पश्चिममामिथिला बृहत परिक्रमा सडक भित्रको महोत्तरी जिल्लाको क्षेत्र र दक्षिणमा नेपालको सीमा)लाई पहिलो प्रस्ताव राखिएको छ । त्यसैगरी वीरगन्ज (पोखरिया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्म) को क्षेत्रलाई राजधानी राख्ने प्रस्ताव र वीरगन्ज महानगरपालिकालाई मात्र राजधानीको रुपमा दर्ता गरिएको प्रस्ताव रहेको छ ।
राजधानी सम्बन्धी प्रस्तावमाथिको छलफलमा सहभागी सभासदहरुले दलगत रुपमा गरिएको प्रस्तावको पक्षमाआ–आफ्नो धारणा राखेका थिए । जनकपुरधामलाई राजधानी बनाउन अधिकांश सभासदहरुले सहमति जनाए ।विशेष समितिमा पनि प्रदेश सभामा रहेका ५ दलले राजधानीका लागि जनकपुरधामको प्रस्तावलाई समर्थन गरेका छन् । प्रदेश २ को नामकरणमा सभासदहरु उदार देखिएन् ।छलफलमा भाग लिएका सभासदहरुले दलगत रुपमा दर्ता गरिएका नामहरुलाई समर्थन गरे । उनीहरु बीच नाममा सहमतिजुट्ने संकेत देखिएन् ।तर नाम र राजधानी तोक्न नसके अक्षमका पगरी भिड्न सभासदहरु तयार पनि देखिएका छैनन् । जनता समाजवादी पार्टी( जसपा)ले मधेश प्रदेश र जनकपुरधाम राजधानीका लागि गरेको प्रस्तावमा प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा) र सरकारमा रहेका माओवादी केन्द्रका सभासदहरुले समर्थन जनाएका छन् । नेपाली कांग्रेसले मिथिला– भोजपुरा प्रदेश र जनकपुरधाम मात्र राजधानीका लागि गरेको प्रस्तावमा अन्य कुनै दलले समर्थन जनाएका छैनन् ।
कांग्रेसकै पर्सा जिल्लाका सभासद राजेश्वर साह लगायत विरोधमा छन् । नेकपा एकीकृत समाजवादी (एस)ले गरेको जानकी प्रदेश र जनकपुरधाम राजधानीलाई नेकपा एमालेले समर्थन जनाएको छ । प्रदेश सभामा हाल १ सय ४ जना सभासद छन् ।त्यस मध्ये जसपाका ३९ जना, लोसपाका १६ जना र माओवादी केन्द्रका ८ जना गरी ६३ को समर्थन मधेश प्रदेश र जनकपुरधाम राजधानीमा छ ।१ जना सभामुख छन् । नेपाली कांग्रेसको १९ जना मिथिला– भोजपुरा र जनकपुरधामको पक्षमा रहेका छन् ।नेकपा एसका १३ र एमालेका ८ जना जानकी प्रदेश र जनकपुरधाम राजधानीको पक्षमा रहेका छन् ।प्रदेश सभामा रहेका १ जना स्वतन्त्र सभासद भने मधेश प्रदेश र जनकपुरधाम राजधानीको समर्थनमा छन् । नाम र राजधानीका लागि हुने मतदानको सम्पूर्ण तयारी पूरा भइसकेको सचिव यादवले बताए ।‘गोप्य मतदानका लागि आवश्यक तयारी भइसकेको छ ’ उनले भने, विगतमा भए जस्तो यस पटक समय पनि लाग्ने छैन् ।
https://www.youtube.com/watch?v=OlGYOveCUWk



