जनकपुरधाम । विगत दुइ दिन देखि मौसमा अचानक परिवर्तन हुँदा ह्वात्तै बढेको चिसोको कारण तराइ मधेशको जनजीवन प्रभावित बनेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले मौसममा अचानक परिवर्तन आएको छ । मौसममा परिवर्तन भएसंगै दुइ सोमबारदेखि तराई मधेशको विभिन्न जिल्लामा बाक्लो हुस्सु लागेको छ भने बिहान बेलुकी शीतलहर चल्ने गरेको छ जसको कारण जनजीवन प्रभावित भएको हो । ह्वात्तै बढेको चिसोको कारण मधेश प्रदेशको राजधानी जनकपुरधाम उप– महानगरपालिका सहित प्रदेशका विभिन्न जिल्लाको बजारहरु सुनसान बनेको छ । महाशाखाले देशभरि चिसो अझै पनि बढ्न सक्ने जनाउंदै विशेष सर्तकता अपनाउन आग्रह समेत गरेको छ । चिसोले गर्दा खास गरी गरिब तथा विपन्न वर्गका समुदायहरुलाई अत्यन्त समस्या हुने गरेको देखिएको छ । चिसो छल्न विभिन्न पालिकाहरुले थालेको कम्बल वितरण अभियान पनि सातादिन अघि सम्म चल्दै आएको थियो भने एक दुइ दिन घाम लाग्न थालेपछि सो अभियान पनि चिसिएको छ । सरोकारवाला निकायहरुले चिसोबाट प्रभावितको लागि सहयोगको लागि अगाडि बढ्नु पर्ने आवश्यकता देखिएको छ ।
यसैबीच सर्लाहीका पत्रकार बख्तियार अलीले चिसोको मारमा परेका मलंगवा नगरपालिका क्षेत्रमा वसोवास गर्ने विपन्न तथा गरिब समुदायका ३० जना एकल(विधवा) महिलाहरुलाई न्यानो कम्बल र चवन्नप्राश वितरण गरेका छन् । जाडोमा केही हदसम्म भएपनि राहत महशुस गराउन उद्देश्यले एकल महिलाहरुलाई न्यानो कम्बलको साथमा चवन्नप्राश र माक्स वितरण गरेको पत्रकार अलीले जानकारी दिए ।

