गौर । रौतहट प्रहरीले स्रोत नखुलेको रकम सहित एक जना भारतीय युवकलाइ पक्राउ गरेको छ ।
स्थानीय बौधीमाइ नगरपालिका–७ बंकुलबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउंदै गरेको अवस्थामा ३ लाख ६८ हजार ६ सय रुपैयाँ नेपाली नोट सहित भारत बिहार राज्यको मोतिहारी थाना घोडासहन का चुन्नु प्रसाद जयसवालको १९ वर्षीय छोरा यसराज जयसवाललाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । भारतबाट आउदै गरेको बीआर–०५एएन–६०८२ नं.को मोटर साइकललाई रोकी चेकजाँच गर्दा उक्त रकम फेला परेको प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । प्रहरीले गएको पुस १ गते देखि माघ ३ गते सम्म २३ लाख ३८ हजार १ सय रुपैयाँ बरामद गर्नुको साथै चार जना भारतीय युवकलाइ पक्राउ गरेको बताइएको छ । सो मध्ये ६९ हजार ५ सय नक्कली नोट रहेको छ । पक्राउ पर्ने युवकहरु नेपाली सीमासंग जोडिएको भारतीय जिल्लाका नै रहेकोले देखिएको छ । मंगलवार पक्राउ परेका जयसवाललाइ आवश्यक कानूनी कारवाहीका लागि जिल्ला भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

