२०७८ माघ ६, बिहीबार ०७:२२

मधेशको विभिन्न जिल्लामा बलिदानी दिवस श्रद्धापूर्वक विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

सो क्रममा मधेश आन्दोलनका क्रममा सहादत दिएकाहरुको सम्मानमा बुधबार आन्तरिक मामिला तथा संचार मन्त्रालय र मधेशी सहिद प्रतिष्ठानद्वारा संयुक्त रुपमा सप्तरी जिल्ला समन्वय समितिको प्राङ्गणमा आयोजित चौंथो बलिदानी दिवस मनाइएको छ । आयोजित कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले २ नं. प्रदेशबाट “मधेश प्रदेश” नामकरणले मधेशी शहिदको सपना साकार भएको बताए । मधेश प्रदेशको स्थापना सहिदहरुको सपना नै थियो, राउतले भने “त्यसको स्थापनाले उनीहरुको सपना साकार भएको छ ।” उनले मधेश आन्दोलनका क्रममा मधेशका जिल्लाहरुमा रहेका सरकारी कार्यालयमा मधेशवादी आन्दोलनकारीले मधेश लेख्ने गरेकोमा आज लेखाइ सार्थक भएको उल्लेख गरे । केन्द्र सरकार अहिले पनि प्रदेश सरकारलाई स्वायत्तता र अधिकार दिन नचाहेको आरोप लगाउंदै उनले मधेश प्रदेशको प्रहरी ऐन तयार रहेपनि प्रहरी समायोजन हुन नसकेको जिकिर गरे । यसैगरी निजामती ऐन समेत आफूहरुले तयार गरेर राखेको भए पनि केन्द्र सरकारले कर्मचारी समायोजन गर्न आलटाल गर्दै आएको उनले आरोप लगाए । उनले यो विषयलाई लिएर आफूहरु अदालतमा पुगेको र छिट्टै न्याय पाउने विश्वास समेत व्यक्त गरे । “हामीहरुले प्रदेशका प्रहरी र कर्मचारी भर्ना गर्दा जनसंख्याको अनुपातमा भर्ना गर्ने व्यवस्था मिलाएका छौं, मुख्यमन्त्री राउतले भने, तर केन्द्र सरकार यसमा बाधक बनेको छ ।” मधेश आन्दोलन तथा अन्य आन्दोलनमा प्राणको आहुति दिने शहीदहरुको सम्मान र सम्मझनामा मधेश प्रदेशको पाँच जिल्लामा शहीद पार्क तथा शहीदहरुको प्रतिमा स्थापना गर्ने र यसका लागि आन्तरिक मामिला तथा संचार मन्त्रालयले मधेशी शहीद प्रतिष्ठान मार्फत आवश्यक काम अघि बढाएको उनले जनाए ।

२०६३ माघ ५ गतेका दिन सिरहाको लहानमा पहिलो मधेश आन्दोलनका क्रममा रमेश महतोले शहादत प्राप्त गरेपछि माघ ५ गतेलाई विभिन्न चरणका मधेश आन्दोलनमा शहादत प्राप्त गर्नेहरु समेतको स्मरणमा प्रत्येक वर्ष बलिदानी दिवस मनाउने गरिएको छ । यस दिन प्रदेश सरकारले सार्वजनिक विदा समेत दिने गरेको छ । आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहको अध्यक्षतामा आयोजित समारोहमा संघीय सांसद चन्द्रकान्त चौधरी, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबु यादव, मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेशसभा सदस्य मनिषकुमार सुमन, गीता यादव, विक्की यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादव, जसपाका जिल्ला अध्यक्ष केदार यादव, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष उमेश कुमार यादव, लोसपाका जिल्ला अध्यक्ष सुनिलकुमार झा, नेकपा एकिकृत समाजवादीका प्रताप नारायण चौधरी, मधेशी सहिद प्रतिष्ठानका सदस्य रामनरेश राय, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव लगायतले शहीदहरुको सम्मानमा श्रद्धाञ्जली दिँदै आ आप्mनो धारणा व्यक्त गरेका थिए । जनकपुरधाम । मधेश बलिदानी दिवसको अवसरमा जनकपुरधाममा दीप प्रज्जवन कार्यक्रमको आयोजना गरिएको छ । नेपाल जनता पार्टी जिल्ला समन्वय समिति धनुषाको आयोजनामा स्थानीय जनक चोकमा दीपप्रज्जवलन तथा शहीदहरुको तस्वीरमा माल्यापर्ण गरी बलिदानी दिवस मनाइएको हो । धनुषा जिल्ला अध्यक्ष जानकी देवी सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र झा ,मधेश प्रदेश अध्यक्ष दिपक झा ,सर्लाही जिल्ला अध्यक्ष राम उज्जैन राय सहितकाले शहिदहरुलाई श्रद्धाञ्जली दिँदै आ आफ्नो धारणा व्यक्त गरेका थिए ।

सोही कार्यक्रम बीच मधेश आन्दोलनको क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका ईन्द्र कुमार मधेशानन्द,भरत राय,राजेन्द्र मण्डल,मन्दाकिनी झा तथा अरुण झालाई माला र अबीर लगाइ सम्मान गरिएको जानकारी प्रदेश अध्यक्ष झाले दिएका छन् । वीरगञ्ज । जनता समाजवादी पार्टीले पर्सा जिल्लाको पोखरिया नगरपालिका र पकाहामैनपुर गाउंपालिकामा बलिदानी दिवस मनाएको छ । मधेश आन्दोलनका शहीदहरुको तस्वीरमा माल्यार्पण गरेर पकाहामैनपुर गाउंपालिकामा मदन साह कानुको अध्यक्षतामा र पोखरिया नगरपालिकामा गोवद्र्धन यादवको अध्यक्षतामा बलिदानी दिवस मनाईएको जसपा पर्साका सचिव तवरेज अहमदले जानकारी दिए । पोखरियामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य फिरोज मन्सुर, विशेष अतिथि मधेस प्रदेश समिति सदस्य वृजमोहन तिवारी, गौरीशंकर साह, जिल्ला अध्यक्ष रामनरेश यादव, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, पकाहमैनपुर गाउंपालिका अध्यक्ष विजय कुमार चौरसिया लगायतको सहभागिता रहेको थियो । त्यस्तै जसपाको क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष कामेश्वर पंडित, समाजवादी युवा संघ प्रदेश २ का सदस्य शिव कुमार साह, समाजवादी मुस्लिम संघका केन्द्रीय सचिवालय सदस्य रउफ अन्सारी, जिल्ला सदस्य मुम्ताज देवान, पोखरिया नगरपालिकाका सचिव शिवनाथ साह, केशव गिरी र मुन्ना साह, महम्मद सहितकाले बलिदानी दिवसको अवसरमा आ–आप्mनो धारणा राखेका थिए ।

Comment


Related News