अपडेट 
२०७८ माघ ६, बिहीबार ०७:५०

साधारणतया सन्तानको संख्या कम गर्ने सोच, रणनीति र क्रियाकलापलाई परिवार नियोजन भनिन्छ । तर परिवारलाई सुखी, समृद्ध र समुन्नत बनाउने रणनीतिलाई परिवार योजना भनिन्छ । तसर्थ परिवार नियोजनको वृहत क्षेत्रको रुपमा परिवार योजनालाई लिन सकिन्छ । परिवारलाई शैक्षिक, सामाजिक, आर्थिक, भौतिक, मनौवैज्ञानिक रुपमा सबल बनाउने योजनालाई परिवार योजना भन्न सकिन्छ । अर्को शब्दमा उज्जवल भविष्य निर्माणका लागि अपनाइने तौरतरीकालाई नै परिवार योजना भनिन्छ । बीस वर्ष पछि विहे गर्नु, कम्तिमा दुई वर्षको गर्भान्तर र तीन वर्षको जन्मान्तर हुनु पर्ने परिवार योजनाका आधारभूत तत्वहरु हुन् ।

यसले महिलाहरुको गुणस्तरीय जीवनयापनमा मद्दत गर्दछ भन्ने तथ्य प्रमाणित भैसकेको छ । यसले मातृ तथा बाल मृत्युदर, अनिच्छित गर्भ धारण, गर्भावस्थाले हुने रुग्नता, यौन रोग, तल्लो पेटको संक्रमण, डिम्बासयको क्यान्सर कम गर्न सहयोग पुर्याउँदछ । यसले आमा, बच्चा र नवशिशुको स्वास्थ्यमा सुधार गर्नमा उल्लेखनीय भूमिका खेल्दछ । यसले लैङ्गिक समानता, महिलाको शिक्षा र वृत्ति विकास गर्नका लागि सहयोग पुर्याउने भएको पुष्टि भैसकेको छ । यो लागतको अनुपातमा कैयौं गुणा बढी फाइदा पुर्याउने अनुसन्धानले साबित गरिसकेको छ । तर परिवार नियोजनका साधनहरुको प्रयोगले सम्पन्न परिवारको निर्माण गर्ने भए तापनि नेपालको आधा जनसंख्याले अहिले पनि यो साधन उपयोग गरिरहेका छैनन् । मधेश प्रदेशमा परिवार योजना तथा गर्भ निरोधका साधन र सेवाहरुको प्रयोग दर ज्यादै कम छ । यो प्रदेशको बहुआयामिक गरिबी बढी हुनु पछाडिको यो पनि एउटा कारण हो ।प्रत्येक सरकारी स्वास्थ्य संस्थाबाट यो साधन निःशुल्क रुपमा उपलब्ध गरिनुपर्ने प्रावधान रहे पनि यो साधनहरु उपयोग गर्न इच्छुक रहेका एक चौथाइले यो साधनहरु प्राप्त गर्न सकिरहेका छैनन् । यसका लागि विभिन्न सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाहरु अझ वढी तदारुकताका साथ लाग्नु पर्ने देखिन्छ । स्वास्थ्य संस्था एवम् गैरसरकारी संघसंस्थाले गर्भ निरोधका बारेमा उल्लेख्य रुपमा सुचना, परामर्श र सेवा दिनु पर्ने हुन्छ ।महिला सशक्तिकरणलाई वृहत, गहन, दिगो र प्रभावकारी बनाउनुपर्दछ । छोरा–छोरीको बीचमा कुनै किसिमको विभेद हुनु हुँदैन । यसबाट छोराको चाहनामा परिवार योजनाको सेवा नअपनाउने महिलाहरुको संख्यामा कमि ल्याउन सकिन्छ ।

निजी स्वास्थ्य संस्था, नर्सिङ्ग होम र अस्पतालहरुमा परिवार योजनाका सेवा पर्याप्त मात्रामा उपलब्ध हुनुपर्दछ । शहर र ग्रामीण भेगका पसलहरुमा समेत गर्भनिरोधका साधनहरुको उपलब्धतामा वृद्धि गर्नु पर्दछ । निरक्षर, गरिबीका रेखामुनि रहेका, किशोरी– किशोर र युवा एवम् ग्रामीण क्षेत्रमा बसोबास गर्नेहरुमा परिवार योजना सेवाको पहुँच बढाउन विशेष पहल गर्नुपर्ने देखिन्छ ।विद्यालय स्वास्थ्य कार्यक्रम, वृहत यौनिकता शिक्षा, सानो परिवार सुखी परिवार; अर्को बच्चा कहिले पहिलो स्कुल जान्छ जहिले; हम दो हमारे दो लगायतका कार्यक्रम, अभियान र नारालाई गहन्ताका साथ जिम्मेवारी पुर्वक कार्यान्वयन गर्नु पर्ने हुन्छ । विद्यालयमा प्रजनन शिक्षालाई प्रभावकारी बनाउनु पर्दछ । परिवार योजनाका विशेषज्ञ र विज्ञबाट कक्षा सञ्चालन गरिनु पर्दछ । कक्षालाई उपलब्धिमूलक बनाउनका लागि किशोर–किशोरीहरुको कक्षाकोठामा उपास्थित पहिलो शर्त हो यसबाट परिवार योजनाका साधन सबभन्दा कम प्रयोग गर्ने चौदह देखि उन्नाइस वर्ष उमेर समूहका किशोर–किशोरीहरु सबैभन्दा वढि लाभान्वित हुन्छन् । परिवार नियोजनका सेवा र साधनहरुको उपलब्धता, वितरण एवम् सहि परामर्श सेवाका लागि प्रसुती गृह, वर्थिङ्ग सेन्टर, गर्भपतन सेन्टरहरु महत्वपुर्ण केन्द्रहरु हुन् । परिवार योजनाका प्राकृतिक र कृत्रिम साधनहरुको प्रकार, प्रभावकारीता, फाइदा, सेवाग्राहीको उमेर, इच्छा र आवश्यकतानुसार प्रयोग गर्न सकिने साधनहरुको वारेमा सेवाग्राहीसंग परामर्श र चर्चा परिचर्चा गर्न सकिन्छ । स्वास्थ्य सेवाको होलिस्टिक एप्रोचको एउटा प्रमुख अङ्गको रुपमा परिवार योजनालाई लिन सकिन्छ । प्रसुती गृह, वर्थिङ्ग सेन्टरमा सुत्केरी भए पश्चात शारीरिक अवस्था सामान्य र वातावरण सहज भई सकेपछि अर्थात सुत्केरी मैत्री वातावरणमा सुत्केरीको मौलिक अधिकारको सम्मान गर्दै सुत्केरीको पारिवारीक सदस्यको अनुमतिमा सुत्केरीसंग परिवार योजनाको साधनको प्रकार र उपयोगितावारे परामर्श विमर्श गर्दा सहि अवसरको सहि सदुपयोग हुन्छ । यसरी नै गर्भपतन सेन्टरमा गर्भपतन पश्चात महिलाको अवस्था सामान्य भईसकेपछि यस्तो विमर्शले सुनमा सुगन्धको काम गर्दछ ।

यो समयमा सुत्केरी÷महिलाहरु÷किशोर–किशोरीलाई कन्भिन्स गरेर उनीहरुको स्वीकारोक्तिमा परिवार योजनाको सेवा उनीहरुलाई उपलब्ध गराइयो भने अनिच्छुक गर्भ रहनबाट बच्न सकिनुका साथै गर्भपतन गराउने अवस्थाको श्रृजना हुदैन । किनभने दश प्रतिशतभन्दा बढी मातृ मृत्युको कारण गर्भपतन हो । महिलाहरुले गर्भावस्थाको जाँच गराउन, सुत्केरीको समयमा आमाहरु आफ्नो र बच्चाको नियमित जाँच गर्न (दुई वर्षमा चौबीस पटक) र बच्चालाई पटक पटक खोप लगाउन स्वास्थ्य संस्थामा आउँछन् वा घर– घर÷ टोल–टोलमा स्वास्थ्यकर्मीहरु खोप लगाउन जाने गर्दछन् ।यस समयमा महिला तथा दम्पतीहरुलाई परिवार योजनाका साधनहरुको वितरण, परिवार योजनाका प्रभावकारी सूचना तथा गुणस्तरीय परामर्श र सेवा प्रदान गर्न सकेमा परिवार योजनाको उपयोगितामा वृद्धि गर्न सकिन्छ । यसले अपरीपुर्त मागमा कमी ल्याउन समेत मद्दत गर्दछ । सुत्केरी र गर्भपतनको अवस्थामा परिवार योजना सेवाको सुढृढिकरण गर्दा स्वास्थ्यकर्मीलाई तालिम, अनुगमन र भौतिक व्यवस्थाको थप आवश्यकता न्यून हुनुको साथै सेवाग्राहि तथा सेवा प्रदायकको समयको बचत हुन जान्छ । यस्तो लागत अनुसार वढी फलदायी हुने परिवार योजनाको सेवाले गर्भनिरोधका साधनको कमीले हुने अनिच्छित गर्भलाई रोक्न सकिन्छ । परिवार योजनाको सेवालाई प्रचारप्रसारका साथै थप प्रभावकारी बनाउन महिला स्वयंसेविका र आमा समूहलाई सक्रियताका साथ परिचालन गर्नु पर्ने देखिन्छ । किशोरी अवस्थामा गर्भवती हुनु भनेको उसको स्वास्थ्यमा खतरा तथा भविष्यको उन्नतिमा बाधा पुर्याउनु हो । परिवार योजनाले महिला÷किशोरी–किशोरहरुलाई शिक्षा, आय आर्जन, सामाजिक तथा अन्य कार्यमा समय दिन सघाउ पुर्याउनुका साथै निर्णय गर्ने क्षमतामा वृद्धि गराउँछ । यदि दम्पतिले आफ्नो इच्छा अनुसारको संख्यामा र ठीक समयको गर्भान्तरमा बच्चा पाएमा बच्चाहरु स्वस्थ्य हुनुको साथै राम्रो स्याहार र शिक्षा प्राप्त गर्न सकेर परिवारको आर्थिक सुधार गर्न मद्दत पुर्याउदछ ।

परिवार योजनाको प्राकृतिक उपायहरुमा बच्चालाई सकभर बढी अवधिसम्म स्तनपान गराउने,सुत्केरी पश्चात महिनावारी नफर्किएसम्मको समय, वीर्यको बाहिर स्खलन, मासिक श्रावको आधारमा पात्रो प्रयोग गरेर लोग्ने स्वास्नीबीच यौन सम्पर्क आदि पर्दछन् भने कृत्रिम उपायहरुमा कण्डम, पुरुषको लागि भ्यासेक्टोमी र महिलाको लागि ल्यापरोस्कोपी वन्ध्याकरण, महिलाको लागि गर्भ निरोधक खाने चक्की, डिपोप्रोभरा, आइ.यू.सी.डी., इमप्लान्ट आदिको प्रयोग पर्दछन् ।परिवार योजनाको महत्वपुर्ण प्राकृतिक साधन भनेको किशोर–किशोरी र महिला एवम् पुरुषहरुलाई कुनै न कुनै काममा व्यस्त राख्नु हो । यसका लागि उमेर र आवश्यकता अनुसार उनीहरुका लागि शिक्षण सिकाइ क्रियाकलाप, घरायसी कामकाज र रोजगारीको व्यवस्था गर्नु पर्ने हुन्छ ।कतिपय महिलाले छोराको चाहनामा परिवार योजनाको सेवा र साधन उपयोग नगरेको पाइएको छ । यसलाई निरुत्साहित गर्नका लागि पौराणिक पुरुष प्रधान सोचमा परिवर्तन गर्दै छोरा–छोरी बीच समताको वातावरण र परिवेशलाई अझ सशक्त बनाउनु पर्ने देखिन्छ ।

Comment


Related News

Latest News

Trending News