राजविराज । भारतबाट तस्करी गरी ल्याउँदै गरेको लाखौं मूल्यको पान मसाला लगायतको सामानहरु सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा टेम्पो चालक सप्तरीको राजगढ गाउंपालिका–५ का २० वर्षीय चन्दनकुमार मण्डल र सोही गाउंपालिका– ३का ४६ वर्षीय हरिनारायण साह रहेका छन् । सीमावर्ती भारतीय बजारबाट भन्सार छली गरी प्रदेश–१– ०२–००२ ख. २७०४ नम्बरको टेम्पोमा ठूलो परिमाणमा पान मसाला ल्याउँदै गरेको सूचनाको आधारमा डिएसपी माधवप्रसाद काफ्लेको नेतृत्वमा खटेको टोलीले सामानहरु नियन्त्रणमा लिएको जनाइएको छ । हुलाकी मार्ग हुँदै राजविराज प्रवेश गरेको उक्त टेम्पोलाई वडा नं. ७ स्थित खर्साल टोलबाट नियन्त्रणमा लिइएको डिएसपी काफ्लेले जानकारी दिए । उक्त टेम्पोबाट अवैध रुपमा ल्याइएको ३ सय ३० प्याकेट रजनीगन्धा र १ सय ३६ प्याकेट तुलसी (सूर्ती) बरामद गरिएको छ । त्यस्तै तस्करीमा प्रयोग गरिएको टेम्पोसहित बरामद सामानको ७ लाख १९ हजार ७ सय २० रुपैयाँ मुल्याङ्कन गरिएको छ । बिहीबार साँझ पक्राउ परेका उनीहरुलाई बरामद सामान सहित आवश्यक कारवाहीका लागि तिलाठीमा रहेको राजविराज भन्सार कार्यालय पठाइएको छ जिप्रका सप्तरीले जनाएको छ ।
https://www.youtube.com/watch?v=O9G8Yeo_V04

